नेपाल मेडिकल कलेज जोरपाटीको एकेडेमिक डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त

नयाँ पोस्ट
६ भदौ २०८२, शुक्रवार

काठमाडौं – गोकार्णेश्वर नगरपालिका–८, जोरपाटीस्थित अत्तरखेलमा रहेर उच्चस्तरीय स्वास्थ्य शिक्षा र चिकित्सा सेवा प्रदान गर्दै आएको नेपाल मेडिकल कलेजले नयाँ एकेडेमिक डाइरेक्टर नियुक्त गरेको छ।

कलेजको सञ्चालक समितिको निर्णयअनुसार अनुभवी चिकित्सक तथा शिक्षाविद् **डा. नुसरत जहाँ अन्सारी (एमबीबीएस)**लाई सो पदमा नियुक्त गरिएको हो। बुधबार आयोजित विशेष कार्यक्रममा कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा. सबिहा यासमिन र प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले उनलाई पदभार ग्रहण गराएका छन्।

कार्यक्रममा कलेज प्रशासन, संकाय सदस्य, चिकित्सक तथा विद्यार्थीहरूले नव–नियुक्त डाइरेक्टरलाई बधाई तथा शुभकामना दिएका थिए।

कलेज अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले डा. नुसरतको नियुक्ति कलेजको शैक्षिक र व्यवस्थापकीय क्षेत्रमा महत्वपूर्ण मोड सावित हुने विश्वास व्यक्त गर्दै भने,

“डा. नुसरतले आफ्नो अनुभव, दृष्टिकोण र नेतृत्व क्षमताबाट कलेजको शैक्षिक स्तरलाई नयाँ उचाइमा पुर्‍याउनेछन्।”

पदभार ग्रहणपछि डा. अन्सारीले कलेजको शैक्षिक गुणस्तर, अनुसन्धान क्षमता र विद्यार्थीमैत्री वातावरणलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाइन्। उनले भनिन्,

“मेडिकल शिक्षा केवल पाठ्यक्रममा सीमित नभई व्यवहारिक दक्षता, अनुसन्धान र मानवता–केन्द्रित सेवामा केन्द्रित गरेर अघि बढ्नुपर्छ।”

हालका वर्षहरूमा नेपाल मेडिकल कलेजले शैक्षिक र पूर्वाधार विस्तारमा उल्लेखनीय प्रगति गरेको छ। नयाँ नेतृत्वसँगै कलेजले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो शैक्षिक प्रतिष्ठा अझ मजबुत पार्ने अपेक्षा गरिएको छ।


धेरै पढिएको