भञ्ज्याङ् मार्गको इतिहास: चौकी भञ्ज्याङ्देखि नाल्दुमसम्म
मानव जाति स्थायी बसोबासको क्रममा आएपछि आफ्नो अस्तित्वको रक्षाका लागि अनेकौं उपायहरू सोच्न थालेको पाइन्छ । आफू र आफ्नो समूहको रक्षाका लागि लड्ने भिड्ने र त्यसका कायदाहरू सिक्ने सिकाउने गरेको मानवशास्त्रको अध्ययनले देखाउँछ । आफ्नो अस्तित्व र आवास क्षेत्र सुरक्षित भएपछि अन्य पेशा,उद्योग र व्यापारतर्फ लागेको ऐतिहासिक अध्ययनले देखाएको छ ।
काठमाडौं उपत्यका प्राचीनकालमा भौगोलिक दृष्टिले एउटा विशाल तलाउ रहेको कुरा आध्यात्मिक र ऐतिहासिक साक्ष्यले प्रमाणित गरिसकेको छ । मञ्जुश्रीले काठमाडौं उपत्यकाको पानी चोभारबाट कटाएपछि यहाँ बिस्तारै मानव बस्ती बस्न थालेको भन्ने पनि पाइन्छ। ऐतिहासिक अध्ययनको क्रममा गोपालहरू काठमाडौं उपत्यकामा प्रवेश गर्नुपूर्व यहाँ नागजातिको बसोबास भएको कुरा अभिलेखिकरण नभए तापनि भनिदै आएको छ । उपत्यका जलमग्न हुँदा पनि अग्ला डाँडाहरूमा नागजातिहरू बस्दथे भन्ने भनाइ छ तर लिखित आधार भने प्राप्त गर्न सकिएको छैन । यी नागजातिहरूलाई गोपालहरूले युद्ध गरी हटाएपछि गोपाल वंशको शासन स्थापना भएको थियो । गोपालहरूपछि उपत्यकामा किराँतहरूले शासन गरेको इतिहास पाइन्छ । किराँतकालमा नेपालमा केही ऐतिहासिक घटनाहरू घटेको कुरा पाइन्छ । छैठौं किराँती राजा हुमतीको पालामा महाभारतको युद्ध भएको र उनले पाण्डवहरूको पक्षबाट युद्ध लडेका थिए भन्ने कुरा पाइन्छ । किराँतरूपी भगवान शिव र अर्जुनका बिचमा युद्ध भएको चर्चा महाभारतमा पाइन्छ । यसैगरी चौधौं किराँती राजा स्थुंकको पालामा मौर्य सम्राट अशोक पाटलीपुत्रबाट नेपाल आएका थिए । त्यस समयमा किराँतहरूको राजधानी मातातीर्थमा रहेको थियो ।
यसैगरी पन्ध्रौं किराँती राजा जिघ्रोको पालामा किराँतहरूले आफ्नो राजधानी गोकर्णमा सारेका थिए । यसको पछाडि गम्भीर रहस्य लुकेको थियो । सम्राट अशोक काठमाडौं आएको र आफ्नी छोरी चारुमतीको विवाह समेत यहीँको कुनै देवपाल भन्ने व्यक्तिसँग गराई देउपाटनमा राज्य निर्माण गराई राजा बनाएकोले पछि अशोकले आक्रमण गर्लान् भन्ने भयले गोकर्ण सारिएको थियो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । अठाइसौं किराँती राजा पटुक( थिमुक) को शासनकालमा साेमवंशीहरूले बारम्बार आक्रमण गरेपछि राजधानी शंखमूल सारिएको थियो । यसको अर्थ किराँतहरू त्यहाँ टिक्न नसक्ने भएपछि शंखमूल सरेको बुझिन्छ। यसपछि सोमवंशीहरूले गोकर्ण क्षेत्र कब्जामा लिइ त्यहाँ दरबार बनाएका थिए। दरबार जगडोलमा बनेको थियो भन्नेछ,भौगोलिक दृष्टिले यो अग्लो स्थानमा पनि छ । साेमवंशीहरूले किराँतहरूलाई परास्त गर्न नसकेपछि गोदावरीबाट समानान्तर शासन चलाएका थिए । निमिष गोदावरीबाट समानान्तर शासन चलाउने पहिलो साेवंशी राजा थिए । उनैले गोदावरीमा बाह्रवर्षे मेलाको सुरुवात गराएका थिए भन्ने भनाइ छ ।
किराँतहरूले पनि राज्यको सुरक्षाको लागि किल्लाहरू निर्माण गरि बसेका थिए तर त्यस्ता किल्लाहरूको भग्नावशेष अभिलेखहरू नपाइए तापनि उनीहरूले मातातीर्थलाई राजधानी बनाएकोले चन्द्रागिरी,नागढुङ्गा र शिवपुरी क्षेत्रमा किल्ला बनाएका थिए भनिन्छ । सामरिक दृष्टिले ती किल्लाहरू त्यस समयमस सही थिए कि भन्ने आभाष हुन्छ । त्यस समयमा राजाको सुरक्षाको लागि शाही सुरक्षा दल हुन्थ्यो । विशेष गरि त्यस समयमा पहाडी बाटो नियन्त्रण,अग्ला डाँडा र थुमहरूमा चौकीहरू हुन्थे । सैनिक व्यवस्था स्थायी थिएन र आवश्यक पर्दा सर्वसाधारणबाट जुटाउने गरिन्थ्यो । यहाँ किराँतकालको बारेमा केही चर्चा गरियो । किराँतकालमा पनि काठमाडौं उपत्यकामा केही मूल्य मान्यताको विकास भएको थियो । सोमवंशीहरूले गोदावरीबाट समानान्तर शासन चलाए पनि किराँतहरूलाई युद्धमा हराई लिच्छविहरूले शासन प्रारम्भ गरेका थिए । कालक्रमिकरुपमा पछि सोमवंशीहरू गोदावरीबाट पलायन भएपछि सम्पूर्ण शासन लिच्छविहरूले गरेको पाइन्छ । लिच्छविहरू किराँतभन्दा धेरै कुरामा जानकार थिए । उनीहरूले देशमा धेरै कुराको आयाम थपेका थिए ।
देशमा आर्थिक,सामाजिक,धार्मिक सांस्कृतिक, प्रशासनिक,सुरक्षाका लागि सैनिक किल्ला,दुर्गहरू निर्माण गर्नुका साथै गुठी व्यवस्था समेत लागु गरेर समृद्ध बनाएका थिए । विशेष गरि उनीहरूले तिब्बतसँगको व्यापारमा जोड दिएका थिए । यसका लागि उपत्यकाको पश्चिमतर्फबाट केरुङ्ग र उत्तर-पूर्व भागबाट कुती जाने मार्गहरू खुलेका थिए । काठमाडौं उपत्यकाबाट नजिक रहेका दुई स्थान मध्ये उत्तर पूर्वमा रहेको चौकी भञ्ज्याङ् र पूर्वमा रहेको नाल्दुम महादेव पोखरी व्यापारिक मार्ग हुनुका साथै रणनीतिक दृष्टिले सामरिक महत्वका स्थान थिए ।
यहाँ चर्चा गर्न खोजिएको विषय भञ्ज्याङ् हो । भञ्ज्याङ् भन्नाले पहाडको दुईचुलीका बिचबाट होचो हुँदै डाँडो पार गर्ने स्थान भन्ने बुझिन्छ। नेपालको इतिहासमा यस्ता भञ्ज्याङ् बारे चर्चा गरेको पाइन्छ । यहाँ काठमाडौंबाट उत्तर-पूर्वमा रहेको चौकी भञ्ज्याङ् बारे चर्चा गर्न खोजिएको छ । यसको नामाकरण कसरी भयो भन्ने सवालहरू उठेको पाइन्छ । हाल शंखरापुर नगरपालिका वडा नम्बर १ र २मा पर्ने चौकी भञ्ज्याङ् समुद्र सतहबाट लगभग १७६० मी. को उचाईमा रहेको छ भने राजधानीबाट लगभग २८ कि. मी को दूरीमा रहेको छ ।भञ्ज्याङ्हरूले तत्कालीन समयमा ठुलो महत्व राख्दथे । यहाँबाट व्यापारीहरू ओहर दोहर गर्दथे भने सुरक्षाका लागि र कर संकलनका लागि चौकीहरू राखिन्थे भने स्थानीय प्रशासनको काम समेत यहीँबाट हुन्थ्यो । सामरिक महत्व भएका भञ्ज्याङ्हरूमा सैनिक चौकीहरू समेत रहन्थे । चौकी भञ्ज्याङ्ममा सरकारी उपस्थिति कहिले रह्यो भन्ने सम्बन्धमा आधिकारिक दस्तावेज पाइँदैन । लिच्छविकालमा यस स्थानमा चौकी रहे नरहेको कुनै प्रमाण पाउन सकिएको छैन । मल्लकालमा भने यस स्थानमा चौकी रहेको तथ्य पाउन सकिन्छ । कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लको पालामा काजी भीम मल्ल्ले तिब्बतसँग युद्ध गरी विजयी भएर (तत्कालीन समयमा काजीहरू नै सेनापती हुने र युद्धको नेतृत्व गर्दथे) व्यापारिक सन्धि गरेर आएपछि व्यापार सहज भएकोले स्थान हेरी यो स्थानमा चौकी राखिएको भन्ने अनुमान गर्न सकिन्छ । राष्ट्रिय अभिलेखालयमा रहेको मल्लकालीन दस्तावेज संग्रह भाग २ मा उल्लेख भए अनुसार चौकी भञ्ज्याङमा राजकीय भन्सार बसालिएको थियो भन्ने छ । यहाँबाट के स्पष्ट हुन्छ भने त्यहाँ भन्सार चौकीसँगै प्रशासन र सुरक्षाका लागि सैनिकहरू रहने व्यवस्था हुन्थ्यो ।
चौकी भञ्ज्याङ्का सन्दर्भमा अन्य दस्तावेज पनि पाइन्छ । नेपाल-तिब्बत बिचमा सन् १७९२मा युद्ध हुँदा त्यस युद्धको मध्यस्थता गर्न भारतबाट बृटिशले पठाएका कर्णेल विलियम जे. कर्कपेट्रिक नेपालको छोटो बसाईमा केही अध्ययन गरी लेखेको पुस्तक An Account of the Kingdom of nepaul,1811 मा To the North east of the valley there is a pass called chaukee bhanjyang,throgh which the traders from Kathmandu procceed towards Kuti and Khasa on the way to Tibet.
बि.सं. २०६२ सालमा साँखुबाट प्रकाशन भएको “नमस्ते शंखरापुर” भन्ने पुस्तकमा भृकुटी र तिब्बतका राजा स्रोङ्चङ गम्पोको विवाह बज्रयोगिनी मन्दिरमा भएको भन्ने उल्लेख छ । उक्त पुस्तकमा बज्रयोगिनीमा राजकीय स्वयम्भर स्थल निर्माण गरिएको र सो स्थल हालसम्म देख्न पाइन्छ भन्ने उल्लेख छ । भृकुटी विवाह पश्चात उनी साँखु नाल्दुम हुँदै बाह्रबिसेबाट कुती भएर गइन भन्ने छ भने केही इतिहासकारले भक्तपुर साँगा बनेपा भएर गइन भन्नेछ । जे होस उनी भञ्ज्याङ् काटेर नै तिब्बत गइन्। तिब्बतबाट नेपाल सरकारलाई प्राप्त हुने सामग्री कुती हुँदै काठमाडौंको साँगाचोक( जहरसिंह पौवा) हुँदै साँखु भएर आउँथ्यो । त्यसै गरी भारतबाट तिब्बत -चीन जानको लागी साँखुबाट साँगाचोक नाङ्लेभारे,नवलपुर,चौतारा बाह्रबिसेबाट कुती हुँदै ल्हासा पुग्ने गर्दथे । उपत्यकाबाट केरुङ जानेहरू साँखु, साँगाचोक( जहरसिंह पौवा) भएर चौकी भञ्ज्याङ् काटेर पाटी भञ्ज्याङ् हुँदै गोल्फु भञ्ज्याङ्बाट रसुवा भएर जान्थे र त्यताबाट कुती जानेहरू पनि चौकी भञ्ज्याङ् भएर नै पूर्वतर्फको बाटो पहिलाउँथे । त्यस समयमा राजनीतिक र धार्मिक भ्रमण कम हुन्थ्यो । व्यापारको लागि प्रयोग हुन्थ्यो र भन्सारका लागी चौकी रहनु स्वभाविक देखिन्छ ।
यहाँ अर्को एउटा भञ्ज्याङ् पनि रहेको छ जसलाई कात्तिके भञ्ज्याङ् भनिन्छ । यो शंखरापुर नगरपालिका वडा नम्बर ३ मा पर्दछ । कात्तिके भञ्ज्याङ् किन भनियो भन्ने सवाल उठ्नु स्वभाविक पनि हो । तत्कालीन समयमा धेरै जसो व्यापारीहरू दशै तिहारको समयमा घर आउने हुनाले त्यो समय कार्तिकमा पर्ने हुनाले यो बाटो भएर पनि मानिसहरू ओहर दोहर गर्थे र यस भञ्ज्याङमा आइ विश्राम गर्दथे । तिब्बत जानेहरू प्राय: कार्तिकमै जाने भएकोले ठूलो चहल पहल हुन्थ्यो । कार्तिकमा चहल पहल हुने भञ्ज्याङ् भएकोले कात्तिके भञ्ज्याङ् भनिएको हो भन्ने धारणा पाइन्छ । विशेष गरी पाटन र भक्तपुरका व्यापारीहरू साँखु कात्तिके भञ्ज्याङ् पुगेर सिन्धुपाल्चोकको नवलपुर चौतारा बाह्रबिसे हुँदै कुती जाने गरेको भन्ने भनाइ छ । सन् १८४६ तिरको नुवाकोट -काठमाडौं बाटो अभिलेखमा karttike Bhanjyang pass भन्ने उल्लेख छ । तत्कालीन समयको राजस्व संकलन नक्सा र सैनिक नक्सामा साँखु, पालुवारी हुँदै कात्तिके भन्ने उल्लेख थिए भन्ने छ तर हाल प्राप्त गर्न सकिने अवस्थ दुर्लभ भएको छ ।

भञ्ज्याङ् कै चर्चा गर्दा नाल्दुम पनि एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ । प्राचीन मिथकीय भनाइमा यसलाई महामण्डप गिरि भनिएको छ । यो स्थान हालको नगरकोट देखि भक्तपुरको थाकल(सरस्वती स्थान)सम्म फैलिएको छ । यस महामण्डप गिरि भक्तपुर सहरबाट पूर्व उत्तर सुडालभन्दा माथिको डाँडासम्म फैलिएको छ । यो स्थान चागुनारायण नगरपालिकाको थाकलमा पर्दछ । यस स्थानलाई नेपाल भाषामा ल्हासापाकु भनिन्छ। ल्हासा भन्नाले तत्कालीन तिब्बतको राजधानी र पाक/ पाक्व भन्नाले गुफा भन्ने बुझिन्छ । शाब्दिक अर्थ ल्हासा जाने ओढार भन्ने हुन्छ ।प्रारम्भमा ल्हासा जाने व्यापारी यहाँ पुगेर जान्थे भनाइ पनि पाइयो । नेपालको इतिहास लेख्ने बृटिश इतिहासकार Daniel Wright ले “History of Nepal,(1877)मा लेखेका छन- Manjushree came from mahachin(China) and rested on Mahamandap,a hill east of Bhaktapur for three nights and saw the swayambhu lights… that place is famous as Lhasapako Manjushree.
यसै क्रममा यही महामण्डपगिरिलाई नाल्दुम भनिन थालियो । यसको चर्चा गरिएन भने नेपालको इतिहास अधुरो हुन्छ । नाल्दुम महादेव पोखरी काठमाडौं उपत्यकाको पूर्वतर्फ अग्लो स्थानमा रहेको छ । महादेव पोखरीको मिथक गोसाइँकुण्डसँग जोडिएको छ। (यी महादेवलाई रत्नचुडेश्वर महादेव भनिन्छ।) यो स्थानबाट सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जोडिने मार्गहरू रहेका छन् । यो स्थान व्यापारिक मार्गको रुपमा लिच्छविकाल देखि नै प्रचलित थियो । नाल्दुम महादेव पोखरी व्यापारिक मार्गको प्रमुख बिन्दुको रुपमा थियो । यहाँ भन्सार कर असुली गर्ने अड्डा रहेको पाइन्छ। लिच्छविकालदेखि नै यो स्थान व्यापारिक मार्गको रुपमा रहेको भन्ने पाइन्छ। मल्लकालमा काजी भीम मल्लले तिब्बतमा आक्रमण गरी विजय गरेर सन्धि गरेपछि यस्ता भन्सार चौकीहरूमा बढोत्तरी भएको पाइन्छ । मल्लकालीन दस्तावेज र नक्साहरूमा मल्लकालमा यो क्षेत्र व्यापारका लागि बहुप्रचलित थियो । सैनिक रणनीतिक महत्वका दृष्टिले यसलाई उच्च प्राथमिकतामा राखिएको थियो । इतिहास शिरोमणि बाबुराम आचार्यले नाल्दुमलाई मल्लकालमा उपत्यकाको पूर्वी सीमा नियन्त्रण बिन्दु मानेका छन् । उनले यसलाई काभ्रेपलान्चोक र दोलखातर्फका बाटा हेर्ने किल्लाका रुपमा स्थापित थिए भनेका छन् । मल्लकालमा यहाँ सैनिक सहित काजी बस्न्रे गरेका थिए ।
मल्लकालको उत्तरार्धतिर नाल्दुम महादेव पोखरी किल्लाको निकै चर्चा चलेको पाइन्छ । पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेपछि यस किल्लालाई नियन्त्रणमा लिन निकै ठुलो प्रयत्न गरेका थिए । यसैक्रममा नाल्दुम किल्लामा नियन्त्रणमा लिन साँगाचोकमा किल्ला जमाएर बसेका गोरखाका प्रधान सेनापती काजी शिवराम सिंह बस्न्यातले साँगाचोक युद्धमा वीरगति प्राप्त गरेपछि नाल्दुम किल्ला लिनको लागि गोरखालीहरूलाई बि.सं.१८११ सम्म कुर्नु पर्यो । नाल्दुम महादेव पोखरीको पृथ्वीनारायण शाहले छद्म रुपमा अध्ययन गरी यस क्षेत्रको भ्रमण गरेर नाल्दुमको हलेदे क्षेत्रका इच्छाराम पाध्य (बस्ताकोटी)को घरमा बास बसी यस क्षेत्रमा विजय गरेपछि बिर्ता दिने आस्वासन दिएका थिए भन्ने कुरा इच्छाराम पाध्य(बस्ताकोटी)का सन्ततीहरूले भन्दै आएक छन् । विजयपछी राजाले बिर्ता दिएका तर तोकिएको स्थान उपयुक्त नभएकोले उनीहरूले नलिएको कुरा बताउँछन्।
काठमाडौं उपत्यकाको उत्तर-पूर्वमा रहेको एउटा अग्लो स्थान छ जसलाई साँगाचोक भनिन्छ । यो शंखरापुर नगरपालिकाको तीन नम्बर वडामा पर्दछ। यो स्थान रणनीतिक महत्वको स्थल तथा उपत्यकाको पूर्वी व्यापारिक नाका भएकोले नेपाल एकीकरण शिलशिलामा काठमाडौं उपत्यकालाई घेरा हाल्ने क्रममा गोरखाका प्रधान सेनापती काजी शिवराम सिंह बस्न्यात शिवपुरी गढीमा मुकाम बनाई त्यहाँ किल्ला बाँधेर बसेका थिए। उनीहरू मौका हेरी नाल्दुम महादेव पोखरी आक्रमणको लागि तम्तयार थिए । यसै क्रमम कान्तिपुर राज्यको आन्तरिक कलहको कारणले काजी तौढिकले जयप्रकाश मल्ललाई गद्दीच्यूत गरी युवराज ज्योति प्रकाशलाई राजा बनाए । यसपछि काजी तौढिक र काशीराम थापाले नेतृत्व गरेको फौजले बि.सं.१८०३ फागुन ५ गते राति साँगाचोककोको गोर्खाली किल्लामा आक्रमण गर्यो। यस युद्धमा काजी शिवराम सिंह बस्न्यात लगायत धेरै फौजले वीरगति प्राप्त गरे ।
प्रधान सेनापती काजी शिवराम सिंह बस्न्यातले साँगाचोकको ‘द्वारेटोल’मा वीरगति प्राप्त गरेपछि उनका माहिला छोरा प्रधान सेनापती काजी केहरसिंह बस्न्यातका जेठा छोरा काजी जहरसिंह बस्न्यात( शिवराम सिंह बस्न्यातका नाति)की महतारी चित्रादेवी(मूलकाजी कालु पाँडेकी छोरी)ले राजा रणबहादुर शाहसँग प्रार्थना गरी सो स्थानमा एक पौवा बनाउने इच्छा जाहेर गरेकोले राजा रणबहादुरले बि.सं.१८५२ जेठ ११ गते एक लालमोहर पत्र गरी काजी जहरसिंह बस्न्यातलाई पठाएको देखिन्छ । यो पौवा बि.सं.१८५७ सम्ममा बनेर प्रयोगमा आएको पाइन्छ ।यो पौवा पूर्व-दक्षिण नालदुम जाने बाटो,पश्चिम साँखु,उत्तर चौकी भञ्ज्याङ् र उत्तर पूर्व बाघधारा हुँदै मेलम्ची जाने चौबाटोको भञ्ज्याङमा बनाइएको थियो। यस पौवा रहने स्थानमा बाँझो जग्गा र फटकशिला ढाटमा खेत मुरी १०० बक्स्यौ। आफ्नो खातिरजामसँग धर्म चलाउनु भन्ने व्यहोरा लालमोहरमा परेको छ। जहरसिंहले पौवा निर्माण गरेपछि यसको संचालनको लागि बोजिनी निवासी लक्ष्मीनारायण ओझालाई गुठी जग्गा राखिदिएका थिए।( लक्ष्मीनारायणका सन्ततिका अनुसार) पछिल्लो समयसम्म पनि यो पौवामा बटुवाहरूलाई पानी खुवाइएको थियो। पौवा बनेपछि बटुवाहरू बास बस्ने गर्दथे ।यस कार्यका लागि सोह्र रोपनी जग्गा गुठी राखिएको थियो । पछि आनन्द समशेर राणाले विर्ता पाएपछि विर्ता नामसारी गर्दा तीन आना जति जग्गा बाँकी राखेर सबै जग्गा विर्तामा परिणत भएको भन्ने पाइन्छ।
काजी जहरसिंह बस्न्यातले बनाएको पौवामा हरेक वर्ष नागपन्चमीको दिनमा बटुवा लगायत सयौँलाई भोज खुवाउन पन्चपालमा एकसय साठी रोपनी खेत गुठी राखिएको थियो । यसरी बटुवाहरूको लागि खानेपानीको पौवा निर्माण गरी पौवालीको ब्यवस्था गरेपछि पौवा रहेको स्थानबाट उत्तरपट्टी डाँडोमा बौद्ध धर्मावलम्बीहरूको लागि माने बनाई दिएका थिए,त्यसलाई काजी माने भनिन्थ्यो।त्यसै क्रममा बटुवा तथा ढाकर बोक्ने ढाक्रे र तोडा बोक्नेहरूको लागि साँखु जाने फेदीको वनमा व्यवस्थित बिसौना बनाई दिएका थिए जसलाई काजीको बिसौना भनिन्छ। यो बिसौनाका केही अवशेष अझै देख्न पाइन्छ । हाल जहरसिंह पौवाचोकबाट उत्तरतर्फ नाङ्गलेभारे हुँदै मेलम्ची जाने सडकको उत्तरतर्फ अग्लो स्थानमा सेनापती काजी शिवराम सिंह बस्न्यातको भव्य सालिक स्थापित गरिएको छ जसले वीरताको गाथा गाइरहेको छ ।
जहरसिंह पौवा रहेको स्थानबाट उत्तरतर्फ एउटा चैत्य रहेको छ जसलाई एकमाने चैत्य (हाल काजीको सालिकबाट अगाडि सडकको दायाँ छेउमा रहेको)भनिन्छ।पहिले यो चैत्य फराकिलो चौरमा थियो पछि पहिरोको चपेटामा परेपछि हाल काजीको सालिकबाट दक्षिणतर्फ सडकको छेउमा निर्माण गरिएको छ । यो चैत्य एक हजार वर्ष पहिले अतिशा दिपङ्कर भिक्षुले स्थापना गरेको भन्ने भनाइ ( नमस्ते शंखरापुर) छ। यस मानेलाई नेवारी भाषामा लिसोमता विहार भनिन्छ । तत्कालीन समयमा काठमाडौं उपत्यकाका नेवारहरू तिब्बतमा व्यापार गर्न जाने क्रममा यस विहारमा भेला हुन्थे र सङ्गै भोज खाएर छुट्टिने गर्दथे । छुट्टिने बेलामा वइहारबाट उल्टो बत्ती बाल्ने गरिन्थ्यो। यसपछि तिब्बत तर्फ अगाडि बढेकाले पछाडि फर्केर हेर्न नहुने र घरतर्फ लागेकाले आफन्तलाई फर्केर हेर्न नहुने भन्ने विश्वास थियो। यसको तात्पर्य परदेश लागेकाहरूलाई कुनै बाधा अड्चन नआवस भन्ने थियो भन्ने कुरा विभिन्न संवादबाट बुझिन्छ।
यस विहारको सम्बन्धमा अर्को एउटा धारणा पनि पाइन्छ ।यस विहारलाई तिब्बती भाषामा ‘लोक्सुमता’ भनिन्छ। यसको अर्थ पछाडि नफर्कनु वा फर्केर नहेर्नु ( Not back up) भन्ने हो । कुशल कर्म गर्नको लागि अगाडि बढ्नु भन्ने हो । यदि अकुशल कर्म भएको रहेछ त्यसलाई त्यागेर कुशल कर्मको लागि अगाडि बढ्नु हो । अकुशल कर्मलाई फर्केर नहेर्नु भन्ने अर्थ लाग्छ भन्ने कुरा बौद्ध शास्त्रका ज्ञाताहरूको भनाइ छ । यस विहार(चैत्य) ले नेवारी र तिब्बती जुन नाम धारण गरे पनि अर्थ एउटै दिएको छ ।
यसै सन्दर्भमा यहाँ एउटा सांस्कृतिक पक्ष पनि जोडिन आउँछ । तिब्बतमा व्यापार गरेर फर्केपछि व्यापारीहरूलाई म्लेछको देशबाट आएकोले आफ्नो जातिमा मिल्नको लागि धर्माधिकारी(पुरोहित) को निर्देशन अनुसार शुद्धाशुद्धि र प्रायश्चित गरी घर जान पाइन्थ्यो ।आफ्नो बाबु बाजेहरूले यसै गरेको कुरा आफैंले देखेको भनेर भाग्योदय क्याम्पस साँखुका क्याम्पस चिफ स्वर्गीय शम्भुदास श्रेष्ठसङ्गको संवादबाट बुझिन्छ । यस्तो क्रियाकलापलाई पतिया गर्ने भनिन्थ्यो। यो चलन तिब्बत जानेहरू सबैले गर्दथे ।
यस लेखमा उल्लेख भएका स्थानहरू तत्कालीन समयमा निकै चहल पहल भएको स्थान भएको कुरा इतिहासले सिद्ध गरे तापनि समयको धूलोले यी स्थानहरूलाई छोप्दै गैरहेको थियो । नाल्दुम महादेव पोखरी बाहेक कात्तिके,साँगाचोक र चौकी भञ्ज्याङमा सुरक्षा चौकीहरू रहेका छैनन् । नाल्दुम महादेव पोखरीमा अहिले पनि सामरिक महत्वका दृष्टिले सुरक्षा निकायको बलियो उपस्थिति रहेको छ। समयले काँचुली फेर्दै गएकोले चौकी भञ्ज्याङ्,जहरसिंह पौवा,कात्तिके भञ्ज्याङ् र नाल्दुम समेत पर्यटन क्षेत्रको केन्द्र(hub) भएको छ। यी स्थानहरूलाई अझै सामरिक महत्त्वको क्षेत्रको रुपमा ख्याल गर्दै पर्यटन केन्द्र कै रुपमा विकसित गर्दै लाने हो भने बत्तिमुनीको अँध्यारो भनिएझै यस क्षेत्रको महत्व अझ उज्यालिने प्रसस्त संभावना देखिएको छ ।





प्रतिक्रिया दिनुहोस