पृथ्वीनारायण शाह: उपनिवेशको आँधी अगाडि उभिएको पहाड

नयाँ पोस्ट
२७ पुष २०८२, आइतबार

 

इतिहास कुनै व्यक्तिको पूजा होइन,न त क्षणिक असन्तोषको निशाना बनाइने वस्तु नै हो। इतिहास अविरल वहने नदी हो जसमा कालपुरुषहरु पत्थर झैँ पानीको झड्का खाने लाचार होइनन् । पृथ्वी नारायण शाह यस्ता बाँध हुन् जसले दक्षिण एशियाको उपनिवेशी बाढीलाई हिमाली काखमा रोकेका थिए। कुनै काल,परिवेशको आवश्यकता र माटोले मागेको युगलाई बाँध फुटेको बाढीको संज्ञा दिएर गरिने नकारात्मक टिप्पणी केवल व्यक्तिमाथि नभएर नेपाल राज्यको ऐतिहासिक चेतनामाथिको तीब्र प्रहार हो। पृथ्वीनारायण शाहलाई १८औं शताब्दीको परिवेशबाट निकालेर एक्काइसौँ शताब्दीको राजनीतिक भाष्यले मापन गर्न खोज्नु बौद्धिक असावधानी हो।

काल, परिवेश र विश्व राजनीतिक सन्दर्भलाई विचार नगरी गरिने आलोचना इतिहासमाथिको अन्याय मात्र होइन वर्तमान घडीको दिशाहिनताको संकेत पनि हो । पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई कतिपयले विस्तारवादी वा आक्रमक भन्दछन् तर प्रश्न खडा हुन्छ,तत्कालीन समयमा नेपाल कस्तो थियो होला ? बाइसे-चौबीसे राज्यहरू आपसी द्वन्द्वमा थिए । काठमाडौँ उपत्यकाका मल्ल राज्यहरू आपसमा वैमनस्यताको बाढीमा रुमलिएका थिए। दक्षिणबाट इष्ट इन्डिया कम्पनी व्यापारको नाउँमा राज्यहरू हडप्दै अघि बढिरहेको थियो यस्तो अवस्थामा पृथ्वीनारायण शाहको एकीकरण अभियान व्यक्तिगत महत्वकांक्षा थियो भन्नु ऐतिहासिक अन्धोपनको उपज हो। इतिहासकार लुड्विग स्टिलरले पृथ्वीनारायण शाहलाई- realist statesman with a clear perception on the British threat भनेका छन् । यो टिप्पणीले उनी केवल युद्धानुरागी राजा होइनन्, समय र परिस्थितिलाई सहजै पर्गेल्न सक्षम रणनीतिकार थिए भन्ने स्पष्ट पार्छ। एकीकरण कुनै रहर र बडप्पन थिएन। त्यो तत्कालमा देखिएको अस्तित्वको सवाल थियो। सानासाना राज्यमा विभाजित नेपाल अंग्रेजहरूको लागि सहज शिकार हो भन्ने कुरालाई पृथ्वीनारायण शाहले बुझिसकेका थिए। त्यस कारणले एकीकरण उनको इच्छा होइन,समयको माग थियो ।उनी त्यस मागलाई पूरा गर्ने एक कुशल वाहक थिए।

१८औँ शताब्दीको भारत व्यापारको सिलसिलामा उपनिवेशको जालोभित्र जेलिँदै थियो। बङ्गाल,अवध,मैसुर जस्ता स्थानमा इस्ट इन्डिया कम्पनीले पहिले मित्रता र पछि हस्तक्षेपको नीति लिएर आफ्नो झण्डा गाडिसकेको थियो। पृथ्वीनारायण शाहले यही नीति नेपालमा लागु हुन नदिन दह्रो कदम उठाएका थिए। पृथ्वीनारायण शाहको दिव्य उपदेशमा नेपाल दुईढुंगा बीचको तरुल हो भन्ने उक्ति पाइन्छ। यो साहित्यिक मिठास होइन भूराजनीतिको गहिरो विश्लेषण हो। इतिहासकार फ्रान्सिस ह्यामिल्टनले पनि पृथ्वीनारायण शाहको अङ्ग्रेजप्रतिको आशङ्का र चाललाई सावधानीपूर्वकको दूरदर्शिता हो भन्ने निचोड दिएका छन्। हेमिलटनले भनेका छन्- Shah possessed an uncommon foresight for a hill ruler. त्यो सत्यताको नजिक थियो। जसले नेपाललाई उपनिवेश हुनबाट बचायो। भारत पूर्णरूपमा अंग्रेजको जन्जिरमा जेलिएर अशक्त अवस्थामा पुग्दा नेपाल स्वतन्त्र रहनु कुनै संयोग थिएन त्यो पृथ्वी नारायण शाहले रोपेको राजनीतिक चेतनाको फल थियो।

पृथ्वीनारायण शाहलाई तरवार प्रिय राजाको रूपमा लिनु उनको अपमान हो। उनी राज्यदर्शनले अनुप्राणित नेतृत्व थिए। उनले सामाजिक संरचना, सांस्कृतिक एकता, कुटनीति र अर्थतन्त्रलाई राज्यको मेरुदण्ड मानेका थिए। यो अवधारणाले अझै पनि नेपाल एकताबद्ध र सबल छैन? यो सवालको उत्तर शायदै पाइएला। उनले विदेशी व्यापारीहरूलाई प्रवेश नदिनु, स्वदेशी उत्पादनमा जोड दिनु, दरबारलाई विलासिताबाट टाढा राख्नु यी सबै आधुनिक आर्थिक राष्ट्रवादका आधारशिला हुन्। इतिहासकार बाबुराम आचार्यले पृथ्वीनारायण शाहको नीति आत्मनिर्भर बनाउने मौलिक सोचमा केन्द्रित थियो भनेका छन्।

उनको शासन शैली आजको लोकतान्त्रिक मूल्यसँग नजोडिएला तर तत्कालीन परिवेशलाई दृष्टि दिँदा उनी निरंकुश भन्दा बढी संरक्षक थिए राज्य जोगाउनु नै सबैभन्दा ठूलो सूत्र थियो राज्य नै रहेन भने अधिकारको कुरा अर्थहीन हुने कुरा उनले प्रष्ट बुझेका थिए। नेपालको आधुनिक इतिहासमा सबैभन्दा मननीय कुरा के छ भने पृथ्वीनारायण शाहलाई नजिकबाट नियाल्न नसकेका विदेशी इतिहासकारहरूले उनको मूल्याङ्कन सकारात्मक रूपले गर्नु भनेको तत्कालिन समयमा अङ्ग्रेजको चाललाई पृथ्वीनारायण शाहले सहजै बुझेका थिए भन्नु हो।

कर्नेल कर्क प्याट्रिक, डेनियल राइट, लुड्विग स्टिलर जस्ता इतिहासकारहरूले उनलाई Founder of modern Nepal भनी स्वीकार गरेका छन्। कर्नेल कर्क प्याट्रिकले उनलाई a rurer of rare prudence and courage भन्नुले यो कुनै प्रशंसायुक्त भावनात्मक राष्ट्रवाद होइन, वस्तुगत रुपमा गरिएको ऐतिहासिक अध्ययनको सार हो। यदि पृथ्वीनारायण शाह वास्तवमै निर्दयी कठोर र अव्यवहारिक राजा थिए भने विदेशी विशेष गरी औपनिवेशिक पृष्ठभूमिका लेखक इतिहासकारहरूले खुलेर यो प्रशंसा गर्ने थिएनन् होला वास्तवमा राज्य एकीकरणका घटनाहरु नेपालमा मात्र होइन इटाली र जर्मन एकीकरणका घटनाहरु हुँदा त्यहाँ के एक थोपा पनि रगत बगेन होला त ?

एकीकरणकै सन्दर्भमा जर्मन चान्सलर अटोभान विस्मार्कले सन् १८६२ मा प्रुसियन संसद landtag मा यस्तो भाषण दिएका थिए- The great questions of the day will not decided by speeches and resolutions of majorities but by iron and blood. इटाली एकीकरणको सन्दर्भमा Giuseppe Garibaldi भनेका थिए- I offer neighter pay,nor quarters,nor provisions;I offer hunger,thirst,forced,marches,battled and death. यी भनाइ र गराइहरू पृथ्वीनारायण शाहभन्दा केही दशक पछाडिका हुन्। आज यी व्यक्तिहरूलाई आआफ्ना देशमा श्रद्धाका फूल चढाइन्छ तर नेपालमा पृथ्वीनारायण शाहलाई दुत्कारिनुलाई आलोचकहरुले पुन: आफैंलाई एकपटक प्रश्न गर्नुपर्ने देखिन्छ ।

इतिहासको भक्तिगान गाउनुपर्छ भन्ने होइन यसको तुलनात्मक रूपले आलोचनात्मक समीक्षा पनि गर्नुपर्छ। तर आवेग र कुण्ठा बोकेर होइन । पृथ्वीनारायण शाहलाई सबै समस्याको जड मान्नु भनेको राष्ट्रिय स्वाभिमानको जग भत्काउनु हो । आजको राज्य व्यवस्था, भ्रष्टाचार, सामाजिक विभाजनको दोष १८औ शताब्दीको राजामाथि थोपरेर आफू पानीमाथिको ओभानो बन्ने प्रयत्नले बौद्धिक पलायनताको संकेत गर्दछ पृथ्वीनारायण शाहमा त्रुटी थिएन भन्नु पनि छैन यसका बाबजुद उनले जुन कार्य गरे त्यसले नेपाल, नेपाली र समग्र पक्षको पहिचान गरायो। इतिहाससँग रिसाएर भविष्य बनाउन सकिँदैन। पृथ्वीनारायण शाह कुनै देवता होइनन् र सामान्य राजा पनि होइनन्। उनी युगले खोजेको उत्तर थिए। उनले युगको प्रश्न बुझेर त्यसको उत्तर दिएका थिए आज हामी त्यही उत्तरको फल खाइरहेका छौं यो विडम्बना हो कि राजनीतिक बाध्यता !

 


धेरै पढिएको