बाइकले २० किमिभन्दा बढी यात्रु बोक्न नपाउने
१८ माघ, काठमाडौं ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवालाई व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। अब राइड सेयरिङ सञ्चालन गर्न सवारीसाधनले अनिवार्य रूपमा रुट परमिट लिनुपर्ने भएको छ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रदेशस्तरीय राइड सेयरिङ नियमावली, २०८२ जारी गर्दै यातायात कार्यालयबाट अनुमति प्राप्त निजी दुई पाङ्ग्रे तथा पाँच सिट क्षमतासम्मका चार पाङ्ग्रे सवारीसाधनलाई मात्र अनलाइन प्रणालीमार्फत राइड सेयरिङ सेवा दिन पाउने व्यवस्था गरेको हो।
नियमावली अनुसार सेवाको दूरीसमेत तोकिएको छ। दुई पाङ्ग्रे सवारीले एक पटकमा बढीमा २० किलोमिटरसम्म मात्र यात्रु बोक्न पाउनेछन् भने चार पाङ्ग्रे सवारीका लागि यो दूरी ५० किलोमिटरसम्म सीमित गरिएको छ।
राइड सेयरिङमा प्रयोग हुने सवारीसाधनको स्पष्ट पहिचानका लागि विशेष लोगो अनिवार्य गरिएको छ। सेल्फ ड्राइभ सेवा जनाउने रातो रङको अंग्रेजी अक्षर ‘SD’ लेखिएको वृत्ताकार चिन्ह सवारीसाधनमा टाँस्नुपर्ने व्यवस्था नियमावलीमा उल्लेख छ।
प्रदेश सरकारले नयाँ व्यवस्थाले राइड सेयरिङ सेवालाई सुरक्षित, पारदर्शी र नियमनित बनाउने विश्वास लिएको छ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस