भाजपा कार्यालयमा रवि लामिछानेको भव्य स्वागत, दिल्लीबाट राजनीतिक संवादको शुरुआत
नयाँ पोस्ट
काठमाडौं, १९ जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले नयाँ दिल्लीबाट आफ्नो राजनीतिक भेटघाटको औपचारिक शुरुआत गरेका छन्।
पाँचदिने भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेलाई भाजपा मुख्यालयमा परम्परागत झाँकी, फूलमाला तथा सांस्कृतिक स्वागतका साथ सम्मान गरिएको थियो। स्वागत कार्यक्रममा भाजपा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
भ्रमणको पहिलो दिन लामिछानेले नीतिन नविन सँग भेटवार्ता गरेका छन्। भेटका क्रममा भाजपा कार्यालयको संगठनात्मक संरचना, पार्टी सञ्चालन प्रणाली तथा जनसंगठन विस्तारका विषयमा जानकारी आदानप्रदान भएको बताइएको छ।
रास्वपाका अनुसार दुई नेताबीच लोकतान्त्रिक अभ्यास, राजनीतिक दलहरूको अनुभव आदानप्रदान, क्षेत्रीय सहकार्य तथा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भेटलाई दुई देशका राजनीतिक दलबीचको अनुभव साझेदारी र सम्बन्ध विस्तारको अवसरका रूपमा हेरिएको छ।
रवि लामिछाने सोमबार पाँचदिने भ्रमणका लागि भारत प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा उनले भारतमा रहेका नेपाली समुदाय, शुभेच्छुक तथा समर्थकहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।
भारत बसाइका क्रममा उनले अयोध्या को धार्मिक तथा सांस्कृतिक भ्रमण पनि गर्ने तय भएको छ।
रास्वपाले यो भ्रमणलाई छिमेकी मुलुकसँग राजनीतिक सम्बन्ध विस्तार, लोकतान्त्रिक अभ्यासको अध्ययन तथा आपसी समझदारी अभिवृद्धि गर्ने अवसरका रूपमा लिएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस