नेपालमा चिनियाँ लगानी विस्तारका लागि अनुकूल वातावरण आवश्यक : वाङ यी

नयाँ पोस्ट
२ असार २०८३, मंगलबार

काठमाडौं, असार २ — चीनले नेपालमा आफ्ना कम्पनीहरूको लगानी बढाउन अनुकूल तथा पारदर्शी व्यावसायिक वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ।

बेइजिङमा सोमबार नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहेको उल्लेख गर्दै नेपालले पनि लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका हुन्।

चिनियाँ विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार वाङले निष्पक्ष, पारदर्शी र व्यवसायमैत्री नीति तथा वातावरणले द्विपक्षीय आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

भेटका क्रममा दुवै पक्षले बहुपक्षीय मञ्चहरूमा सहकार्य सुदृढ गर्दै विकासशील मुलुकहरूको साझा हित र अधिकारको संरक्षणमा मिलेर काम गर्ने विषयमा समेत छलफल गरेका थिए।

वाङले उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नेपालसँग ऊर्जा, सडक, सीमा नाका, हवाई यातायात तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न चीन प्रतिबद्ध रहेको बताए।

उनले चीन–नेपाल सम्बन्धलाई विशेष महत्व दिँदै चीन नेपालका लागि भरपर्दो छिमेकी, विकास साझेदार र मित्र राष्ट्रका रूपमा निरन्तर साथ रहने धारणा व्यक्त गरे। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा स्थापित विकास र समृद्धिमुखी रणनीतिक सहकार्यले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उनको भनाइ थियो।

वाङले इतिहास र वर्तमान दुवैले चीन–नेपाल मित्रता नेपाली जनता र नेपालको राष्ट्रिय हितका लागि लाभदायक रहेको पुष्टि गरेको उल्लेख गर्दै चीनले नेपालसँगको सम्बन्धलाई आफ्नो छिमेकी कूटनीतिको प्राथमिकतामा राखेको बताए।

नेपालमा लगानी, पूर्वाधार विकास तथा आर्थिक सहकार्य विस्तारका लागि चीनको पछिल्लो आग्रहलाई दुई देशबीचको आर्थिक सम्बन्ध थप गहिरो बनाउने संकेतका रूपमा हेरिएको छ।


धेरै पढिएको