अष्ट्रेलिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश

नयाँ पोस्ट
१२ असार २०८३, शुक्रवार

काठमाडौं, असार १२

अष्ट्रेलिया फिफा विश्वकप २०२६ को समूह चरण पार गर्दै समूह ‘डी’ को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा शुक्रबार बिहान सम्पन्न खेलमा अष्ट्रेलियाले पाराग्वेसँग गोलरहित (०–०) बराबरी खेले पनि एक अंक जोड्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भयो।

खेलभर दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले गोल गर्न सकेन। बराबरीपछि अष्ट्रेलियाले आवश्यक अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर नकआउट यात्रा तय गर्यो।

यस समूहबाट सहआयोजक अमेरिका ७ अंकसहित शीर्ष स्थानमा रहँदै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। अष्ट्रेलिया उपविजेता बन्दा पाराग्वे तेस्रो स्थानमा रह्यो।

पाराग्वेको नकआउट पुग्ने सम्भावना भने अझै कायम छ। तेस्रो स्थानमा रहेका टोलीहरूमध्ये उत्कृष्ट आठभित्र पर्न सके पाराग्वे पनि अन्तिम १६ मा पुग्नेछ। यसको टुंगो अन्य समूहका खेलहरूको नतिजापछि लाग्नेछ।

अष्ट्रेलियाले विश्वकप इतिहासमा तेस्रो पटक नकआउट चरणमा स्थान बनाएको हो। यसअघि उसले सन् २००६ र २०२२ को विश्वकपमा पनि समूह चरण पार गरेको थियो।

यता, समूह ‘डी’ मा ३ अंक मात्र जोडेको टर्कीए भने समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ।


धेरै पढिएको