तीन दिनसम्म भारी वर्षाको चेतावनी : यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

नयाँ पोस्ट
१६ असार २०८३, मंगलबार

काठमाडौं, असार १६ — देशभर मनसुन सक्रिय बन्दै गएसँगै आगामी तीन दिनसम्म विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो।

महाशाखाका अनुसार आजदेखि बिहीबारसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षाको प्रभाव बढी रहनेछ। केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले पहिरो, भू–क्षय, गेग्रान बहाव तथा डुबानको जोखिम बढ्ने चेतावनी दिइएको छ।आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै मधेस तथा तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ। बुधबार देशभर मौसम पूर्णतया बदली रहनेछ। पहाडी भू–भागका धेरै स्थानमा वर्षा हुने र कोशी, बागमती, गण्डकी तथा मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तराईका क्षेत्रमा हावाहुरीको जोखिम पनि रहनेछ। महाशाखाका अनुसार बिहीबार पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै मधेस प्रदेशका केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना कायम रहनेछ। मौसमविद्ले विशेषगरी कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशका जोखिमयुक्त क्षेत्रमा सतर्क रहन आग्रह गरेका छन्। लगातारको वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने, पहिरो खस्न सक्ने, सडक अवरुद्ध हुन सक्ने तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा गर्दा मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।


धेरै पढिएको