बागमतीमा सवारी लाइसेन्स र नवीकरण शुल्क दोब्बर, साउन १ देखि नयाँ दर लागू

नयाँ पोस्ट
१६ असार २०८३, मंगलबार

काठमाडौं, असार १६ – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै शुल्कमा शतप्रतिशत वृद्धि गर्ने भएको छ। नयाँ व्यवस्था साउन १ गतेदेखि लागू हुनेछ।

आर्थिक विधेयकमार्फत प्रदेश सरकारले लाइसेन्स आवेदन, नवीकरण तथा वर्ग थप गर्ने शुल्क दोब्बर बनाएको हो। अब लाइसेन्सका लागि आवेदन दिन ५०० रुपैयाँको सट्टा १ हजार रुपैयाँ तिर्नुपर्नेछ। नयाँ शुल्कअनुसार मोटरसाइकल तथा स्कुटर (ए वर्ग) को लाइसेन्स र नवीकरण शुल्क १ हजार ५ सयबाट बढेर ३ हजार रुपैयाँ पुगेको छ। कार, जिप, भ्यान (बी वर्ग), टेम्पो (सी वर्ग) र पावर ट्रिलर (डी वर्ग) को शुल्क २ हजारबाट बढाएर ४ हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै ट्रयाक्टर (ई वर्ग) तथा मिनीबस/मिनी ट्रक (एफ वर्ग) को शुल्क २ हजार ५ सयबाट बढेर ५ हजार रुपैयाँ पुगेको छ। ट्रक, बस, लहरी, रोडरोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्साभेटर, ब्याकहो लोडर र ग्रेडर समेटिएका जीदेखि जे वर्गसम्म का सवारीका लागि लाइसेन्स तथा नवीकरण शुल्क ३ हजारबाट बढाएर ६ हजार रुपैयाँ पुर्‍याइएको छ। लाइसेन्समा नयाँ वर्ग थप गर्न चाहने सेवाग्राहीका लागि पनि शुल्क वृद्धि गरिएको छ। एदेखि एफ वर्गसम्म नयाँ वर्ग थप्न १ हजार रुपैयाँ र जीदेखि जे वर्गसम्म २ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। यद्यपि शुल्कमा उल्लेख्य वृद्धि गरिए पनि सवारीचालक अनुमतिपत्रको १० वर्षे वैधता अवधि भने यथावत् राखिएको प्रदेश सरकारले जनाएको छ।


धेरै पढिएको