जया मल्टिपल क्याम्पस : ज्ञान, सीप र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उच्च शिक्षामा नयाँ पहिचान
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, मकालबारीमा रहेको जया मल्टिपल क्याम्पस पछिल्ला वर्षहरूमा उच्च शिक्षाको क्षेत्रमा विश्वासिलो शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ। त्रिभुवन विश्वविद्यालयसँग आबद्ध यस क्याम्पसले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यावसायिक दक्षता अभिवृद्धिमा विशेष जोड दिँदै आएको क्याम्पसको भनाई छ ।

जया मल्टिपल क्याम्पसले स्थापना कालदेखि नै शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा होइन, सक्षम, जिम्मेवार र प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने अभियानका रूपमा अघि बढाएको क्याम्पस प्रमुख भवानीप्रसाद पौडेल बताउँनुहुन्छ । उहाँका अनुसार शान्त वातावरण, व्यवस्थित शैक्षिक संरचना र अनुभवी शिक्षकको संयोजनले क्याम्पसलाई विद्यार्थी तथा अभिभावकमाझ लोकप्रिय बनाएको छ।
हाल क्याम्पसमा स्नातक तहमा बीबीएस (BBS), बीए–बीएसडब्लुए (BA-BSW), बीसीए (BCA), बीबीएम (BBM) तथा एमबीएस (MBS) कार्यक्रम सञ्चालनमा रहेका छन्। यी कार्यक्रममार्फत विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव, अनुसन्धान तथा सूचना प्रविधिमा आधारित शिक्षण प्रदान गरिँदै आएको क्याम्पसको भनाइ छ।

क्याम्पसले विद्यार्थीलाई कक्षाकोठाभित्र सीमित नराखी सेमिनार, प्रस्तुतीकरण, समूहगत परियोजना, नेतृत्व विकास कार्यक्रम, सामाजिक अभियान तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै समग्र व्यक्तित्व विकासमा जोड दिएको छ। यसले विद्यार्थीलाई रोजगारी तथा उद्यमशीलताको क्षेत्रमा समेत सक्षम बनाउने विश्वास लिइएको छ।
जया मल्टिपल क्याम्पसले आफ्नो शैक्षिक दर्शनलाई Character, Commitment, Conviction, Courtesy र Courage अर्थात् ‘५ सी’ अवधारणामा आधारित बनाएको छ। क्याम्पसका अनुसार नैतिक मूल्य, अनुशासन, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको विकास गर्दै सक्षम नागरिक तयार गर्नु संस्थाको प्रमुख उद्देश्य हो।
क्याम्पसका प्रिन्सिपल भवानीप्रसाद पौडेलका अनुसार आजको शिक्षाले परीक्षा उत्तीर्ण गराउने मात्र होइन, जीवन र समाज बुझ्ने क्षमता पनि विकास गर्नुपर्छ। त्यसैले क्याम्पसले पाठ्यक्रमसँगै सूचना प्रविधि, अनुसन्धान, नेतृत्व विकास, सञ्चार सीप र सिर्जनात्मक सोचलाई पनि शिक्षाको अभिन्न हिस्सा बनाएको उहाँ बताउनुहुन्छ।
उहाँका अनुसार विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन शिक्षक, अभिभावक र व्यवस्थापनबीच समन्वयात्मक वातावरण आवश्यक हुन्छ। यही अवधारणाअनुसार जया मल्टिपल क्याम्पसले विद्यार्थी केन्द्रित शिक्षण प्रणालीलाई प्राथमिकतामा राख्दै आएको छ। समयको आवश्यकता अनुसार नयाँ शैक्षिक कार्यक्रम विस्तार गर्दै गुणस्तरीय शिक्षामा निरन्तर सुधार गर्ने लक्ष्य पनि क्याम्पसले लिएको उहाँको भनाइ छ।
क्याम्पसले आर्थिक अवस्था कमजोर भएका तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई विभिन्न प्रकारका छात्रवृत्ति उपलब्ध गराउँदै आएको जनाएको छ। साथै, मध्यम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने नीतिले विभिन्न वर्गका विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गरेको छ।
पूर्वाधारका हिसाबले पनि क्याम्पसले आधुनिक सुविधालाई विस्तार गर्दै आएको छ। पुस्तकालय, कम्प्युटर प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा, परामर्श सेवा, अतिरिक्त क्रियाकलाप, खेलकुद तथा अन्य शैक्षिक सुविधा विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएका छन्। प्रिन्सिपल पौडेलका अनुसार कलेजमा फ्याकेल्टी अनुसार उच्चस्तरीय ल्याव, लाईब्रेरी, रेडियो स्टुडियो जस्ता विभिन्न सुविधा रहेको छ । पछिल्लो समय फुटसलप्रति आकषर्ण बढिरहेका बेला कलेजहाता भित्रै फुटसल निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

विद्यार्थीहरूको अनुभवले पनि क्याम्पसप्रतिको विश्वासलाई बलियो बनाएको छ। अध्ययनसँगै नेतृत्व क्षमता, आत्मविश्वास, सामाजिक उत्तरदायित्व र व्यावसायिक सीप विकासमा क्याम्पसले महत्वपूर्ण भूमिका खेलेको विद्यार्थीहरूको भनाइ छ। उच्च शिक्षामा गुणस्तर, अनुशासन र नवप्रवर्तनलाई केन्द्रमा राख्दै अघि बढिरहेको जया मल्टिपल क्याम्पसले आगामी दिनमा अनुसन्धानमुखी शिक्षा, प्रविधिमैत्री शिक्षण प्रणाली तथा रोजगारमुखी कार्यक्रमलाई थप विस्तार गर्ने योजना बनाएको जनाएको छ। यही कारण काठमाडौैं उपत्यकामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि जया मल्टिपल क्याम्पस एक आकर्षक र विश्वासिलो गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

जया मल्टिपल क्याम्पसमा पढ्ने मेरा परिवारका सदस्यहरु सबै सफल भए : उपेन्द्र कार्की, मेयर, कागेश्वरी मनोहरा
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आफ्नो परिवारका सदस्यहरु सबैले जया मल्टिपल क्याम्पसबाट शिक्षा लिएको र सबै सफल भएको दावी गर्नुभएको छ । केहीदिन अघि क्याम्पसले कक्षा ११ का विद्यार्थीलाई गरेको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा मन्तब्य राख्दै मेयर कार्कीले भन्नुभएको थियो–‘मेरा घरका ४ जना भाईहरु यहीँ पढेका हुन् । मेरी बहिनी पनि यही पढेकी हुन् । उनीहरु सबै सफल भएका छन् । मेरो एउटा भाई अमेरिकाको सडक विभागको प्रमुख भएको छ । उसले त्यहाँ पिएचडी गरेर विभागको नेतृत्व गरिरहेको छ । एउटा भाई यही कलेजमा पढेर नेपालको सडक विभागमा विभागीय प्रमुख भएर काम गरिरहेको छ । कान्छो भाई यही पढेको अहिले घरबाटै अमेरिकाको बैंकहरुको लागि काम गरिरहेको छ । मेरी बहिनी अहिले विभिन्न कलेजमा पढाईरहेकी छिन् ।’
कलेजबाट हजारौं विद्यार्थी सफल भई विभिन्न सेक्टरमा योगदान दिईरहेको उहाँको भनाई थियो । काठमाडौंको गोकर्णेश्वर–८ माकलबारीमा रहेको जया मल्टिपल कलेजमा स्नातक तहका विभिन्न संकायमा भर्ना खुलीरहेको छ ।






प्रतिक्रिया दिनुहोस