डोल्पामा पहिरोसहितको बाढी घरमा पस्यो : एक महिलाको मृत्यु, चार जना घाइते
डोल्पा, २१ असार -डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको पहिरोसहितको हिलोयुक्त बाढी बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
आइतबार बिहान करिब ३ बजे आएको बाढी घरभित्र पसेर स्थानीय अन्दाजी ५५–५६ वर्षीया आनन्दा विक पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन्। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ भने बाँकी तीन जना उपचारपछि घर फर्किएका छन्।
यसैबीच, मृतकका आफन्त ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक घटनापछि तनावका कारण बेहोस भएका छन्। उनीहरूको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
प्रारम्भिक विवरणअनुसार बाढीका कारण एक घर पूर्ण रूपमा ध्वस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालन गरिएको छ।
प्रहरीले घटनास्थलमा उद्धार तथा राहतका कार्यसँगै क्षतिको विस्तृत विवरण सङ्कलन र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस