दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको आपत्ति
नयाँ पोस्ट
काठमाडौं, २५ असार । चीनका लागि नेपालका सात पूर्व राजदूतहरूले काठमाडौंमा आयोजित १४औँ दलाई लामाको ९१औँ जन्मोत्सव कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागिताप्रति गम्भीर आपत्ति जनाएका छन्।
संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले असार २२ गते नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा आयोजित कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको सहभागिता ‘एक चीन नीति’को भावना विपरीत भएको बताएका छन्।
विज्ञप्तिमा नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहनुपर्ने उल्लेख गर्दै, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने सरकारी प्रतिबद्धता स्मरण गराइएको छ।
पूर्व राजदूतहरूले परराष्ट्रमन्त्रीको हालैको चीन भ्रमणका क्रममा पनि नेपालले ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता दोहोर्याएको उल्लेख गर्दै, पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा परिवर्तन आएको हो कि भन्ने प्रश्न उठाएको बताएका छन्।
उनीहरूले यदि उक्त कार्यक्रम सरकारी सहमतिमा सम्पन्न भएको हो भने त्यसले नेपाल–चीन सम्बन्ध, कूटनीतिक सन्तुलन तथा नेपालको भू–राजनीतिक हितमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।
विज्ञप्तिमार्फत नेपाल सरकार र सम्बन्धित निकायलाई भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउन तथा छिमेकी मुलुकसँगको सम्बन्धमा संवेदनशील रहन आग्रह गरिएको छ।





प्रतिक्रिया दिनुहोस