ज्याला माग्न गएका मजदुरको खुकुरी प्रहारबाट हत्या, एउटै परिवारका तीन जना पक्राउ
खोटाङ, असार २७ — खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियामा ज्याला माग्न गएका एक मजदुरको खुकुरी प्रहारबाट हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा एउटै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
मृतक ३८ वर्षीय ध्रुव अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार अधिकारी स्थानीय ५७ वर्षीय तीलकबहादुर सार्कीको घरमा काम गरेको पारिश्रमिक माग्न गएका थिए। सोही क्रममा विवाद चर्किँदा तीलकबहादुरले खुकुरी प्रहार गरेको र अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै तीलकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र २२ वर्षीया छोरी सीता सार्कीलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबार सम्बन्धी विवाद रहेको देखिएको छ। हत्या भएपछि तीलकबहादुर आफैंले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए।
शव परीक्षणपछि अधिकारीको शव आफन्तको जिम्मा लगाइएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस