माकलबारीमा युवतीको आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जलेपछि कीर्तिपुर रिफर
काठमाडौं, ५ साउन- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार राति करिब २ः५० बजे आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन्।
घटनापछि उनका श्रीमानले उनलाई जलेको अवस्थामा फेला पारी तत्काल शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्याएका थिए। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गुरुङको अनुहार, छाती तथा दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
घटनाको कारण खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ.

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस