चार प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने
६ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायु सक्रिय रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमै रहेको छ। यसको प्रभावले देशका अधिकांश स्थानमा बदली रही मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
दिउँसो पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
रातिको समयमा पनि वर्षाको क्रम जारी रहने पूर्वानुमान छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा पुनः भारी वर्षा हुन सक्ने भएकाले जोखिम बढ्ने देखिएको छ।
विभागले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागका पछिल्ला मौसम अपडेट नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई आग्रह गरेको छ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस