सुनसरीका पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, झडपपछि एकको मृत्यु
नयाँ पोस्ट
विराटनगर, ११ साउन- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि स्थानीय प्रशासनले पाँच बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
आइतबार राति उत्पन्न विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा प्रहरीको गोली लागेर आठ जना प्रदर्शनकारी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन्। कर्फ्यु अवधिभर भेला, जुलुस, सभा तथा हिँडडुलमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
कर्फ्यु हरिनगरा बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार, घुस्की बजार र देवानगञ्ज बजार क्षेत्रमा लागू गरिएको छ। प्रत्येक क्षेत्रमा प्रशासनले निश्चित सीमा तोकी सुरक्षा व्यवस्था कडा बनाएको छ।
प्रशासनले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रमा निषेधाज्ञासमेत जारी गरेको छ। थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरिएको छ।
प्रारम्भिक जानकारीअनुसार साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जान लागेको एक समूह र रातिको समयमा होहल्ला भएको भन्दै विरोध गर्ने अर्को समूहबीच विवाद सुरु भएको थियो। सामान्य भनाभनले उग्र रूप लिएपछि झडप भएको र स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाएको जनाएको छ।
हाल कप्तानगञ्जसहित प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।





प्रतिक्रिया दिनुहोस