डा. गोविन्द केसीसँग ११ घण्टा वार्ता निष्कर्षविहीन, दुई विषयमा आज पुनः छलफल
धनगढी, साउन ११ – अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा सरकार र डा. केसी पक्षबीच आइतबार भएको करिब ११ घण्टाको लामो वार्ता निष्कर्षविहीन टुंगिएको छ। सहमति हुन बाँकी रहेका दुई प्रमुख विषयमा आज बिहान १० बजे पुनः वार्ता हुने भएको छ।
सेती प्रादेशिक अस्पतालमा दिउँसो १२ बजेदेखि राति ११ बजेसम्म चलेको वार्तामा अधिकांश मागमा सकारात्मक समझदारी बने पनि निजी मेडिकल कलेजमा एमबीबीएस अध्ययनको सिट संख्या निर्धारण तथा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई पदमुक्त गर्ने विषयमा सहमति हुन सकेन।
वार्ता टोलीका एक सदस्यका अनुसार अन्य अधिकांश विषयमा सहमति नजिक पुगेको भए पनि बाँकी दुई मुद्दामा थप छलफल आवश्यक देखिएकाले सोमबार बिहान पुनः वार्ता गर्ने निर्णय गरिएको हो।
सरकारको वार्ता टोलीमा शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशचन्द्र अग्रवाल र पुकार बम सहभागी थिए। डा. केसी पक्षबाट डा. अमृत जैसी र पवन थापा वार्तामा सहभागी भएका थिए।
डा. केसीले गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई हटाउन, ३०० शय्याको अस्पताल तत्काल सञ्चालनका लागि आवश्यक संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत गर्न, एमबीबीएस कार्यक्रम तत्काल सुरु गर्न तथा विगतका सहमति कार्यान्वयन गर्नुपर्ने माग अघि सारेका छन्।
सरकारी पक्ष ३०० शय्याको अस्पताल सञ्चालन, एमबीबीएस अध्ययन सुरु गर्ने प्रक्रिया अघि बढाउने तथा छात्रवृत्ति सम्बन्धी कानुन कार्यान्वयन गर्न सकारात्मक देखिए पनि पदाधिकारी हटाउने र निजी मेडिकल कलेजको सिट संख्या निर्धारणको विषयमा अझै सहमति जुट्न बाँकी रहेको जनाएको छ।
डा. केसी गत शुक्रबारदेखि धनगढीमा आमरण अनशनमा बसेका हुन्। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि शनिबारदेखि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरी चिकित्सकीय निगरानीमा उपचार गरिँदै आएको छ।


नयाँ पोस्ट

प्रतिक्रिया दिनुहोस