सुनसरी झडपको असर : सुरक्षा त्रासका बीच विराटनगरका विद्यालय बन्द

नयाँ पोस्ट
१२ साउन २०८३, मंगलबार

विराटनगर, साउन १२- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय र कलेज बन्द भएका छन्।

आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक स्थानीयको मृत्यु भएको थियो भने अन्य नौ जना घाइते भएका थिए। घटनापछि सोमबार विराटनगरमा विरोध प्रदर्शन भएको थियो। त्यसको प्रभाव मंगलबार शैक्षिक क्षेत्रमा पनि परेको हो।

विराटनगर महानगरपालिकाले औपचारिक रूपमा विद्यालय बन्द गर्ने निर्णय नगरे पनि सुरक्षा अवस्था र स्कुल बस सञ्चालनमा अवरोध हुन सक्ने आशंकाका कारण अधिकांश निजी तथा सामुदायिक विद्यालयले पठनपाठन स्थगित गरेका छन्।

महानगरपालिकाको शिक्षा महाशाखाका अनुसार विद्यालय व्यवस्थापनहरूले विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राख्दै स्वविवेकले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

यता, घटनाको शोकमा सुनसरीका देवानगञ्ज र हरिनगर गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा घोषणा गरेका छन्। ती पालिकाभित्रका शैक्षिक संस्था पनि बन्द रहेका छन्।

घटनापछि सुनसरीको दक्षिणी क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन बढाइएको छ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न र शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। यद्यपि क्षेत्रको अवस्था अझै संवेदनशील रहेकाले जनजीवनमा आंशिक प्रभाव परेको छ।