पहिरोले अवरुद्ध बनायो नारायणगढ–मुग्लिन सडक, दुई घण्टासम्म यातायात प्रभावित हुने
चितवन, साउन १२ – नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार बिहान पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक पहिरो खसेपछि सडक दुवैतर्फबाट बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो हटाउने कार्य तत्काल सुरु गरिएको छ। सडक खुलाउन कम्तीमा दुई घण्टा लाग्ने अनुमान गरिएको छ।
सडक अवरुद्ध भएपछि नारायणगढ र मुग्लिन दुवैतर्फ सवारीसाधन लामबद्ध भएका छन्। यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
निरन्तर वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गतको यो सडकखण्डमा बेला–बेलामा पहिरो खस्ने जोखिम रहने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नुपरेमा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र प्रस्थान गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।


नयाँ पोस्ट

प्रतिक्रिया दिनुहोस