मुग्लिन–नारायणगढ सडकमा पहिरो र लेदो, यातायात एकतर्फी
काठमाडौं, साउन १८, लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो, ढुंगा र लेदो खस्दा यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान तुईन खोला पुल, नाम्सी खोलाको नयाँ पुल र सिमलताल क्षेत्रमा पहिरो तथा ढुंगा खसेपछि सडक प्रभावित भएको हो।
तुईन खोला र नाम्सी खोलाको नयाँ पुल नजिक माथिबाट ढुंगा झरेको छ भने सिमलताल क्षेत्रमा लेदो सडकमा बगेपछि सवारी आवागमन एकतर्फी बनाइएको छ।
सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन डिभिजनले हेभी इक्विपमेन्ट परिचालन गरी पहिरो र लेदो हटाउने काम तीव्र बनाएको जनाएको छ। थप पहिरो नखसे केही समयभित्र सडक दुईतर्फी सञ्चालनमा ल्याउने लक्ष्य रहेको कार्यालयले जनाएको छ।
यता, वर्षा जारी रहेकाले थप पहिरो खस्ने जोखिम अझै कायम रहेको भन्दै सडक डिभिजन भरतपुरले यात्रु र सवारी चालकलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस