शंखरापुर नगरप्रमुख नापितद्धारा १८ सय केजी उन्नत गहुँको बिउ वितरण
काठमाडौँ, मंसिर २ गते
शंखरापुर नगरपालिकालाई गहुँको बिउ उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरप्रमुख रमेश नापितले कृषक समूहलाई उन्नत जातको स्वर्गद्वारी गहुँको बिउ वितरण गर्नुभएको छ ।
बुधबार शंखरापुर नगरपालिका वडा नं. १ स्थित दंगाल जागरण कृषक समूहलाई कृषक साझेदारीमा आधारित कार्यक्रम अन्तर्गत १ हजार ८ सय केजी गहुँको बिउ हस्तान्तरण गर्नुभएको हो ।
बिउ हस्तान्तरण कार्यक्रममा संवोधन गर्नुहुँदै नगरप्रमुख नापितले शंखरापुरका कृषकले गहुँको बिउका लागि अन्यत्र निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा वडा नं.१ र २ मा गहुँको बिउ उत्पादन कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गर्दै हाल नगरपालिकाभरिका कृषकलाई पुग्ने गरी गहुँको बिउ उत्पादन हुँदै आएको जानकारी दिनुभयो ।
नगरपालिकाले कृषकलाई उत्पादनसँग जोड्दै स्थानीय स्तरमै उन्नत जातको बिउ उत्पादन र विस्तारमा जोड दिएको उहाँको भनाइ थियो । कार्यक्रममा सहभागी कृषकहरूले नगरपालिकाले कृषिमैत्री कार्यक्रम सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । विगत ३ वर्षदेखि शंखरापुर नगरपालिकाले कृषकहरुसँगको साझेदारीमा उन्तत जातको गहुँको बिउ उत्पादन गर्दै आएको छ ।

नयाँ पोस्ट

प्रतिक्रिया दिनुहोस