शंखरापुर–७ कोलागालमा सडक ढलान, नगरप्रमुख नापितद्वारा अनुगमन
काठमाडौं । शंखरापुर नगरपालिका वडा नं. ७ स्थित कोलागाल नयाँ बस्तीमा निर्माण भइरहेको ढलान सडकको नगरप्रमुख रमेश नापितले स्थलगत अनुगमन गर्नुभएको छ ।
बिहिबार नगरप्रमुख नापितले नगरपालिकाको रु. १२ लाख ५० हजार बजेटमा निर्माण भइरहेको १५० मिटर लम्बाइको उक्त सडकको अनुगमनका क्रममा निर्माण कार्यको प्रगति, गुणस्तर तथा निर्धारित समयभित्र काम सम्पन्न गर्ने विषयमा जानकारी लिनुभएको हो ।
अनुगमनका क्रममा उहाँले सडक निर्माणलाई गुणस्तरीय, दिगो र प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो । निर्माण कार्यमा आवश्यक मापदण्ड पालना गर्न तथा तोकिएको समयभित्र काम सम्पन्न गर्न उहाँले जोड दिनुभएको छ ।
स्थानीय बस्तीमा सडक ढलान भएपछि आवतजावत सहज हुनुका साथै स्थानीय बासिन्दालाई दैनिक आवागमनमा सुविधा पुग्ने अपेक्षा गरिएको छ । सडक पूर्वाधारको विकासले स्थानीय क्षेत्रको पहुँच विस्तार गर्न र बस्तीको विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
शंखरापुर नगरपालिकाले स्थानीय आवश्यकताका आधारमा सडक तथा अन्य पूर्वाधार विकासका कामलाई अघि बढाउँदै आएको छ । निर्माणाधीन योजनाको अनुगमनमार्फत कामको गुणस्तर कायम राख्ने र बजेटको प्रभावकारी उपयोग सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।


नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस