मेलम्चीमा हल गोरु पाल्ने २ सय ४० किसानलाई प्रोत्साहन रकम
सिन्धुपाल्चोक, साउन ४ – मेलम्ची नगरपालिकाले हल गोरु पाल्दै आएका किसानलाई प्रोत्साहनस्वरूप आर्थिक सहायता प्रदान गरेको छ।
नगरपालिकाका अनुसार, गत आर्थिक वर्षमा हल गोरु पाल्ने २ सय ४० जना किसानलाई प्रति किसान ५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको हो।
नगरप्रमुख आइतमान तामाङले यन्त्र र प्रविधिको प्रयोग बढेसँगै परम्परागत खेती प्रणाली जोगाउन यस्तो नीति ल्याइएको बताए।
खेत जोत्न नयाँ प्रविधि भित्रिएसँगै गोरु पाल्ने चलन लोप हुने अवस्थामा पुगेकाले हामीले परम्परागत अभ्यासलाई जोगाउन यो कार्यक्रम ल्याएका हौं, तामाङले भने।
नगरपालिकाको कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यका अनुसार, अनुदान रकम लिनका लागि किसानले पशु बिमा गर्नुपर्ने व्यवस्था गरिएको छ।
बिमा गरिसकेका किसानलाई बैंक खातामार्फत तथा खाता नभएका किसानलाई अन्य वैकल्पिक माध्यमबाट रकम प्रदान गरिएको उनले जानकारी दिए।
मेलम्ची नगरपालिकाले यो कार्यक्रमले किसानलाई प्रोत्साहन दिनुका साथै प्राङ्गारिक मल उत्पादन, माटोको उर्वरता सुधार र जैविक विविधताको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा राखेको छ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस