मन्त्रिपरिषद्का चार प्रमुख निर्णय सार्वजनिक, एआईजीमा अञ्जनी पोखरेल बढुवा
काठमाडौं, १९ जेठ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका चार प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकले गरेका निर्णयहरूको जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ।
बैठकले वातावरण संरक्षणसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयन गर्ने क्रममा युनाइटेड नेसन्स इन्भाइरमेन्ट प्रोग्राम (यूएनईपी) अन्तर्गत ओजोन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनका लागि भएको सम्झौता स्वीकृत गर्ने निर्णय समेत गरेको छ।
त्यसैगरी, २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घटेका घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययन गरी सुझाव दिन गठित समितिको कार्यावधि थप ४५ दिनका लागि बढाइएको छ।
बैठकले भूमि समस्या समाधान आयोगको अध्यक्ष तथा सदस्यहरू पनि नियुक्त गरेको छ। आयोगको कास्की जिल्ला अध्यक्षमा बलभद्र बास्कोटा नियुक्त भएका छन् भने सदस्यमा अमिर प्रसाद न्यौपाने, पद्मनिधि सापकोटा र डा. रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ।
सरकारका अनुसार यी निर्णयहरू प्रशासनिक सुधार, सुरक्षा व्यवस्थापन तथा वातावरणीय प्रतिबद्धता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कदमका रूपमा रहेका छन्।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस