भदौ १ देखि रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुला, वैज्ञानिक विधिबाट उम्मेदवार छनोट हुने
नयाँ पोस्ट
१४ साउन २०८३, बिहिवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउने भएको छ। पार्टीले भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने निर्णय गरेको छ।
रास्वपाका महामन्त्री विपीनकुमार आचार्य ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै स्थानीय तहसम्म राजनीतिक शुद्धीकरण, सुशासन र सक्षम नेतृत्व विकास गर्ने उद्देश्यका साथ ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्न लागिएको बताएका छन्।
उनका अनुसार आगामी स्थानीय तह निर्वाचनलाई पार्टीले केवल चुनावी प्रतिस्पर्धाका रूपमा नभई इमानदार, सक्षम र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने अभियानका रूपमा लिएको छ। सोही उद्देश्यअनुसार उम्मेदवार छनोटको पहिलो चरणका रूपमा ‘क्यान्डिडेट क्लब’मा आवेदन आह्वान गर्न लागिएको हो।
आचार्यले परम्परागत दलहरूले अपनाउँदै आएको अपारदर्शी उम्मेदवार छनोट प्रणालीलाई परिवर्तन गर्दै रास्वपाले लोकतान्त्रिक, पारदर्शी, वैज्ञानिक र आधुनिक प्रणालीमार्फत उम्मेदवार छनोट गर्ने तयारी गरेको बताए।
उनका अनुसार उम्मेदवार छनोटसम्बन्धी प्रारम्भिक कार्यविधि तयार भइसकेको छ भने त्यसलाई थप प्रभावकारी, व्यावहारिक र जनमुखी बनाउन पार्टीभित्र व्यापक छलफल भइरहेको छ। अहिले विभिन्न संरचना, नेता–कार्यकर्ता तथा सदस्यहरूबाट सुझाव संकलन भइरहेको र प्राप्त सुझावका आधारमा मापदण्ड, मूल्याङ्कन प्रणाली तथा छनोट प्रक्रियालाई अन्तिम रूप दिइने उनले बताए।
रास्वपाले तयार पारेको उम्मेदवार छनोटसम्बन्धी दस्तावेज अध्ययन गरी रचनात्मक सुझाव दिन सदस्य, शुभेच्छुक तथा सरोकारवालासँग आग्रह गरेको छ। व्यापक सहभागिताबाट तयार हुने प्रणालीले स्थानीय तहका लागि योग्य नेतृत्व छनोट गर्न सहयोग पुग्ने पार्टीको विश्वास छ।
पार्टीका अनुसार ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहमा नेतृत्व गर्न इच्छुक व्यक्तिहरूलाई प्रारम्भिक रूपमा समेटी उनीहरूको योग्यता, क्षमता, नेतृत्व कौशल, जनसम्पर्क, नैतिकता र सार्वजनिक उत्तरदायित्वका आधारमा मूल्याङ्कन गरिनेछ। त्यसपछि मात्रै अन्तिम उम्मेदवार छनोट प्रक्रिया अघि बढाइनेछ।
रास्वपाले यस अभियानलाई आगामी स्थानीय तह निर्वाचनको तयारीसँगै संगठन विस्तार र दीर्घकालीन रूपमा सक्षम नेतृत्व उत्पादन गर्ने रणनीतिक कार्यक्रमका रूपमा अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस