इतर समूहको राष्ट्रिय भेला अघि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नयाँ पोस्ट
१८ साउन २०८३, सोमबार

काठमाडौं, साउन १७ -नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। पार्टीले साउन २४ गते आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो।

कावा मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन्।

कांग्रेसभित्र आन्तरिक विवाद चुलिरहेका बेला बैठक आह्वान गरिएको हो। सभापति गगन थापासहित पार्टी नेतृत्वले एकताको पहल नगरेको आरोप लगाउँदै पूर्वसभापति शेरबहादुर देउवा निकट इतर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेको छ।

भेलाका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ। साथै, कार्यक्रम सफल बनाउन १६ वटा विभिन्न तयारी समिति पनि बनाइएको छ। ती समितिहरूले राजनीतिक, समसामयिक विषय, संगठन, विधान मस्यौदालगायतका क्षेत्रको जिम्मेवारी सम्हाल्नेछन्।

इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र भइरहेका बेला बोलाइएको केन्द्रीय समिति बैठकलाई कांग्रेसभित्रको आन्तरिक समीकरण र आगामी रणनीतिका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।


धेरै पढिएको