Image description

 

खै किन बनाइन्छ पर,बस्तीको माझमा बनाउनुपर्छ
अहंकार बिसर्जन घर,बस्तीको माझमा बनाउनुपर्छ
जिवनको अन्तिम सत्यलाई बोध गराउने समानघाट,
त्यो सुन्यताको शहर, बस्तीको माझमा बनाउनुपर्छ।।


मुनाझै पलाउछ अनि सुकेको मुढाझै ढलेर सकिन्छ 
यो पंचतत्वको देह ,पंचतत्वमा नै गलेर सकिन्छ
अनित्यतालाइ यसरी उजागर गरिदिन्छ मसानघाटले,
हेर,अहंकाररुपी अस्तित्व चितासंगै जलेर सकिन्छ।।  


जीवनले लुकाइरहेको शाश्वत पाटो भएर 
चितामा जलिरहेको लासको साटो भएर 
हो,पटकपटक मसानघाटमा जानुछ मलाई,
जलाउनुछ अहंकार शाक्षीभावको बाटो भएर


मृत्युदेखि परपर भागेर, बाच्नेहरुको लागि
ब्यर्थको जीवन मागेर, बाच्नेहरुको लागि
बोधको आँखा खोलिदिन्छ मसानघाटले,
एक पाठशाला हो जागेर,बाच्नेहरुको लागि।