Image description

काठमाडौं ।

साइनो वाङमय चौतारी, नेपालको पाचौं वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा  विशिष्ट अतिथिहरूमा प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव डा.घनप्रसाद सुवेदी, प्राज्ञ डा. धुसुदन गिरी, प्राज्ञ डा. कौसिला रिसाल, प्रा.डा. षडानन्द पौड्याल, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. गोपिन्द्र पौडेल, डा. यज्ञश्वोर निरौला, साइनो कविताका प्रणेता डा.छायादत्त न्यौपाने बगर, पूर्वराजदूत झबिन्द्र प्रसाद अर्याल, गोपालप्रसाद अर्याल, बिष्णु ज्ञवालीको उपस्थिति रहेको थियो । डा.सीता सुवेदी पन्थीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संस्थाका सदस्य डा.शेखरकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।   
संस्थाका सल्लाहकार केशव ज्ञवालीले साइनो सिद्धान्तबारे उल्लेख गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो । महासचिव बालकुमार क्षेत्रीले साइनो कविता , संस्थाको विकासक्रमको बारेमा जानकारी दिनुका साथै संस्थाका वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । 
वार्षिकोत्सव कार्यक्रममा पाँच कृतिहरू लोकार्पण गरिएको थियो । लोकार्पित कृतिहरू– ७० जनाको संयुक्त संग्रह  “साइनो चौतारी“, डा.छायादत्त न्यौपानेको “साइनो सिर्जना“ डा.सीता सुवेदी पन्थीको “साइनो सुमन“ शेखर अर्यालको “साइनो मन्जरी“ र जमुना कायस्थको “साइनोको मुनाहरू“ पालैपालो विमोचन गरियो । 


सयौ स्रष्टाहरू उपस्थित  रहेको  सो कार्यक्रममा साइनो समीक्षाका क्रममा प्रा.डा.षडानन्द पौड्यालले साइनो सिर्जनामा नेपाली मनमाटाको सुगन्ध लिएर विश्वव्यापी भइसकेकाले यसको विकासमा अझै तीव्रता दिनुपर्ने कुरामा जोड दिँदै यो स्थापित भइसकेको छ भन्नुभयो । 
त्यसैगरी डा.यज्ञश्वोर निरौलाले साइनोलाई गेयात्मक बनाउन सके अझै लोकप्रयता बढ्ने विषयमा  जोड दिनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले साइनो विविध भाषामा सिर्जना भइसकेको र यसले विश्वव्यापी स्थान बनाइसकेको हुँदा यसलाई नेपाली वाङ्मयमा स्थापित गर्नका लागि साइनोलाई अझै परिष्कृत गर्न सके यसले विश्वका र नेपालका पनि विभिन्न भाषाको विकास हुन सक्नुका साथै साइनो वाङ्मय चौतारी, नेपालसँग नेपाल प्रज्ञा प्रतिष्ठान पनि सहकार्य गर्दै अघि बढ्ने चाहेको विचार राख्नुभयो । 


विविध भाषाका ७० जना स्रष्टाका ७०० रचनायुक्त साइनो चौतारीका समीक्षा गर्दै जापानी हाइकुको उचाइमा र्पुयाउन स्रष्टाहरूले अझै साधना गरी आगमन विधिअनुरुप सिद्धान्त निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो । समीक्षक प्राज्ञ डा.कौशिला रिसालले प्रणेता न्यौपानेको साधना र आत्मविश्वासमा साथीहरूको सहयोगले साइनो विश्वका स्रष्टाप्रिय बन्न सफल भएकोमा बधाई दिनुभयो । विष्णु ज्ञवालीले साइनोको सानो संरचनामा जीवनको गहिराइ समेट्ने चुनौती रहेको छ भन्नुभयो । प्रा.डा.रामप्रसाद ज्ञवाली नेपाली साइनो विश्वमा फैलिन सकोस तपाईंहरूको सिर्जनात्मक क्षमता अझ झाङ्गिएर जाओस भनी शुभकामना दिनुभयो ।  
साइनो प्रणेता डा.छायादत्त न्यौपानेले साइनो कविता समस्त नेपालीको साझा सम्पदा हो । यसको संवर्धानमा सबै नेपालीको साझा दायित्व छ भन्दै साइनो नेपाली जनजीवन, प्रकृति र भूगोलको सुगन्ध लिएर विविध भाषा, भाषिकाहरूमा सिर्जना भई विश्वमा फैलिएको छ भन्नुभयो । यसको विकासमा लाग्ने सबै स्रष्टालाई धन्यवाद दिनुभयो ।