पानीट्यांकी युवा समाजद्धारा तिज पर्वमा ट्रमा सेन्टरमा विपन्न बिरामीका कुरुवाहरुलाई निःशूल्क भोजन सेवा (भिडियो)

नयाँ पोस्ट
९ भदौ २०८२, सोमबार

काठमाडौं । तिज पर्वको अवसरमा पानीट्यांकी युवा समाजले राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा निःशूल्क भोजन सेवा सञ्चालन गरेको छ । समाजले दुरदराजका जिल्लाबाट उपचारका लागि आएका विपन्न बिरामीका आफन्तहरूलाई लक्षित गरी आइतबार साँझ आयोजना गरेको कार्यक्रममा करिब १५० जना बिरामी कुरुवाहरु सहभागी थिए ।
समाजका अध्यक्ष उमेश सापकोटाले प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आएको पानीट्यांकी युवा समाजले यसपटक तिज पर्वलाई समाजसेवामुखी बनाउने उद्देश्य राखेर यसप्रकारको कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तिज रमाइलो मात्र होइन, पीडामा रहेका बिरामी र तिनका आफन्तलाई सम्झेर सहयोग गर्ने पर्व पनि हो भन्ने सन्देश दिन हामीले यो अभियान अघि सारेका हौं । देशका विकट भागबाट अस्पताल आउँनुभएका व्यक्तिहरुलाई आर्थिक समस्या पनि हुनसक्छ, हामीले यसरी खाना खुवाँउदा उहाँहरुको खाना खाने पैसाले बिरामीलाई औषधी उपचारमा सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।”
समाजका पदाधिकारी तथा सदस्यहरू स्वंयले दाल, भात, तरकारी, अचार र मासु मेन्यू रहेको खाना तयार पारी राष्ट्रिय ट्रमा सेन्टर पुगेर वितरण गरेका थिए । बिरामीका आफन्तहरूले अस्पतालमा दिनरात सुत्दै उपचारको खर्च जुटाउन संघर्ष गर्ने अवस्था देखेर उनीहरूलाई केही भएपनि राहत अनुभव दिलाउन चाहेको आयोजकहरूको भनाइ छ ।


कार्यक्रममा बिरामीका आफन्तहरूले समाजलाई धन्यवाद दिँदै यस्तो मानवीय सहयोगले ठूलो राहत मिलेको प्रतिक्रिया दिए । दैलेखबाट उपचारका लागि आएका एक बिरामीका आफन्तले भने, “हामी टाढाबाट आएका हौं, यहाँ खान बस्न आफैंलाई धेरै समस्या हुन्छ । आज तिज पर्वको बेला यस्तो सेवा पाउँदा खुसी लाग्यो । उहाँहरुलाई धेरै धेरै धन्यवाद छ ।”
“मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने मूल नाराका साथ गरिएको यो अभियान समाजको सामूहिक प्रयासको उत्कृष्ट उदाहरण बनेको छ । अध्यक्ष सापकोटाले भविष्यमा पनि यस्ता सामाजिक गतिविधि निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो–“हाम्रो समाजले शिक्षा, स्वास्थ्य र सहयोगमुखी कार्यक्रमलाई निरन्तरता दिनेछ। आजको भोजन सेवा पनि त्यही यात्रा हो ।”
निरन्तर सामाजिक सेवामा सक्रिय
बौद्ध, महांकालस्थित पानीट्यांकी युवा समाजले विगतदेखि नै रक्तदान, शैक्षिक सहयोग, भूकम्पजस्ता विपदका बेलामा सहयोग पुर्‍याउँने सामाजिक उत्तरदायित्वका काम गर्दै आएको छ । विगतमा जाजरकोटमा गएको शक्तिशाली भूकम्पका बेलापनि समाजले सो स्थानमा पुगेर निःशूल्क भोजन सेवा तथा लत्ताकपडाको व्यवस्था गरेको थियो । दुर्गम जिल्लामा बिरामीका लागि स्टेचर वितरणदेखि धार्मिक मेला पर्वहरुमा खानेपानीको व्यवस्थापन लगायतका सामाजिक काममा पानीट्यांकी युवा समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । स्थानीय युवाहरूको सक्रियतामा सञ्चालन भइरहेको यस संस्थाले आफ्नो सानो योगदानले पनि समाजमा ठूलो प्रभाव पार्न सकिने सन्देश दिएको छ । यसपटक तिज पर्वमा गरिएको निःशूल्क भोजन सेवा समाजका गतिविधिहरूमध्ये विशेष मानिएको छ, किनभने यसले सिधै विपन्न वर्गलाई सम्बोधन मात्र गरेन, पर्वलाई नयाँ दृष्टिकोणबाट मनाउने अभ्यास पनि गरिएको छ ।
समाजसेवीहरूको भनाइमा यस्ता अभियानहरूले अन्य संघ–संस्था र युवाहरुलाई पनि सामाजिक उत्तरदायित्वबारे सोच्न प्रेरणा दिन्छन्। निःशूल्क भोजन सेवाबाट लाभान्वित बिरामीका आफन्तहरूले पानीट्यांकी युवा समाजलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तो सहानुभूतिको श्रृंखला निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

हेर्नुहोस भिडियो :


धेरै पढिएको