टुकीको उज्यालोदेखि सेन्ट लरेन्सको ज्योतीसम्म : यस्तो छ केशवप्रसाद दंगालको प्रेरणादायी यात्रा
नेपालको शैक्षिक इतिहासमा केही यस्ता व्यक्तित्वहरु पनि छन्, जसको जीवन यात्रा स्वयं एउटा पाठशालाजस्तै हुन्छ । जसले पुस्तकबाट मात्र नभई, जिन्दगीका पानाबाट शिक्षा लिएका हुन्छन् । जिवनमा गरेको निरन्तरको मिहनेत र संघर्षबाट सफलता पनि पाएका हुन्छन् । उनीहरुको जिवनयात्रा अरुका लागि प्रेरणादायी बन्न पुग्छ । केशवप्रसाद दंगाल–अहिले सेन्ट लरेन्स कलेजका अध्यक्ष । त्यस्तै जीवन्त पाठशालाका नाम । जसको बाल्यकाल र स्कुले शिक्षा टुकीको उज्यालोबाट पूरा भएको थियो । अहिले उहाँ आफै शिक्षाको प्रकाश बनेर बर्षमा हजारौं विद्यार्थीलाई ज्ञानको उज्यालो दिइरहनुभएको छ ।

निरन्तरको मिहेनत र संघर्षबाट सफलता हासिल गर्दै आउँदो पुस्तालाई शिक्षाको ज्योती बाँढेर सफलताको बाटोमा अगाडि बढाईरहनुभएका सेन्ट लरेन्स कलेजका अध्यक्ष दंगालकोे प्रारम्भिक शिक्षा घरनजिकैको नविनग्राम प्राथमिक विद्यालयबाट सुरु भएको थियो ।
उमेरले चार वर्ष मात्र टेक्दै गर्दा कक्षाकोठामा प्रवेश गर्नुभएका उहाँ दिदीको पछि लागेर स्कुल जानुहुन्थ्यो । घरबाट झन्डै आधा घण्टाको पैदल दुरीमा रहेको तत्कालीन नवीनग्राम शिक्षा मन्दिर प्राथमिक विद्यालयबाट नै उहाँको शिक्षाको बिउ रोपिएको थियो ।

तीन कक्षासम्म मात्र पढाई हुने सो स्कुलमा पढाई पुरा गरेपछि उहाँलाई टाढाको स्कुल धाउनुपर्ने भयो । त्यतिबेलाको काठमाडौंको अत्यन्तै विकट नाङलेभारे गाउँ पञ्चायतमा माध्यमिक तहको स्कुल थिएन । झण्डै डेढ घण्टाको उकालो हिँडेर हालको कालिका शरण मावि जहरसिंह पौवातर्फ जानुपथ्र्यो । त्यतिबेला कालिका शरण स्कूल पनि मावि तहको भइसकेको थिएन ।
कक्षा ४ देखि १० सम्म अध्ययन गर्दा हरेक दिन स्कूल जान डेढ घण्टा उकालो बाटो र फर्किँदा डेढ घण्टा ओरालो बाटो हिँडेर उहाँले स्कुले जिवन पूरा गर्नुभएको थियो ।
स्कूलमा कक्षाका साथीहरुमा उमेरले कान्छो तर पढाइमा उहाँ सधैं अग्रपङ्क्तिमा रहनुभयो । कालिका शरणमा कक्षा ४ मा भर्ना भएपछि पढाइप्रतिको मोह अझै प्रकट हुन थाल्यो । पाँचौं कक्षामा प्रथम स्थान प्राप्त गरेपछि उहाँले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।
‘कक्षा ५ देखि एसएलसीको नतिजासम्म म सधैं पहिला भएँँ’ उहाँ सम्झिनुहुन्छ ‘बेलुका टुकीको उज्यालोमा होमवर्क गरेर, बिहान घरको काम पनि गरेर टाढाको स्कूलमा हरेक दिन पढ्न जानु कम चुनौतिपूर्ण थिएन । सायद अहिलेका विद्यार्थीले त्यसरी दुःख गरेर पढ्न सक्दैनन् होला ।’
त्यतिबेला गाउँमा बिजुली बत्ती थिएन । विज्ञानले बिजुुली बनाएको भए पनि त्यतिबेलाको दुर्गम गाउँ नाङ्लेभारेमा उज्यालोका लागि टुकीमै भर पर्नुपथ्र्यो । आजको पुस्ताले सायदै कल्पना गर्न सक्ने त्यस्तो जीवनशैलीमा हुर्किएर त्यही टुकीको उज्यालोमा पढेर कालिका शरण माविबाट एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याएर कीर्तिमान राख्नुभएको थियो ।

पढाइसँगै घरको जिम्मेवारी पनि
उहाँले एकोहोरो स्कूल मात्र पढेर सर्वोत्कृष्ट बिद्यार्थी बन्नुभएको थिएन । गाउँघरमा गरिने हरेक काम गर्नुभयो, स्कूले जिवनमा घाँस काटेर ल्याउने, खेतबारीको काम गर्ने, गोठालो जाने सबै काम गर्नुपथ्र्यो । यसरी घरको काम गर्दै स्कूलको पढाईलाई पनि उहाँले अब्बल रुपमा अगाडि बढाएर सफल बन्नुभएको थियो ।
कालिका शरण माविबाट एसएलसीमा उत्कृष्टता हासिलपछि विज्ञान पढ्ने अभिलाषा थियो । तर त्यतिबेला पर्याप्त सार्वजनिक सवारी साधन पाइन्नथ्यो । बिज्ञान पढ्न अमृत साइन्स वा त्रिचन्द्र कलेज टाढा हुने भएपछि उहाँलाई व्यवस्थापन (म्यानेजमेन्ट) पढ्न प्रेरित गर्यो । चावाहिलमा रहेको पशुपति मल्टिपल क्याम्पसमा भर्ना भएर आई कम. तह तथा नेपाल कमर्स क्याम्पसबाट बि.कम. र एमविए उत्तीर्ण गर्नुभयो ।
कलेजमा स्नातक पढ्दै गर्दा नै उहाँले ट्युसन पढाउन थाल्नुभयो । बि.कम.मा पढ्दा आई.कम. पढ्ने विद्यार्थीहरुलाई ट्युशन पढाउँनुहुँन्थ्यो । विभिन्न स्कुलमा पनि पढाउन थाल्नुभयो । शिक्षण पेशा नै उनको पहिचान बन्दै गयो । तर उहाँको सपना भने कुनै स्कुलमा पढाएर मात्र सिमित हुने थिएन । केही फरक ढंगले काम गर्नुपर्छ भन्ने थियो । त्यसका लागि उहाँँको पहिलो लक्ष्य गाउँ फर्किने र गाउँमा राम्रो शिक्षा दिने एउटा बोर्डिङ स्कूल स्थापना गर्ने थियो ।

अनि गाउँमा जन्मियो पहिलो बोर्डिङ स्कुल
२०५१ सालमा स्नातक सकिएपछि उहाँले आफ्नै गाउँ काठमाडौंको नाङलेभारेमा पहिलो बोर्डिङ स्कुल खोल्ने निर्णय गर्नुभयो । चौकिभञ्जाङदेखि चाँपाबोट, ढुङ्गाना गाउँदेखि धारापानीसम्मका बालबालिकालाई जम्मा पारेर उहाँले स्कुल सञ्चालन गर्न सुरु गर्नुभयो । भेग अनुसार शिक्षक नियुक्त गरेर विद्यार्थी भर्ना सहज बनाउने, शिक्षकहरूलाई तलब खुवाउने, डेस्क–बेञ्च व्यवस्थापन लगायतका सबै काममा उहाँ आफै संलग्न हुनुभयो ।
तर २०५८ सालतिरको माओवादी सशस्त्र द्धन्द्धकालीन संकटकालले स्कुलको भविष्य अनिश्चित बनायो । सरकारी शिक्षक शिक्षिकाका छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन रोक लगाउने अभियान सुरु भयो । माओवादीहरुले बोर्डिङ स्कुललाई तारो बनाउँन थाले । विद्यार्थी संख्या घट्न थाल्यो । त्यसपछि गाँउकै शिक्षकहरूलाई बिद्यालय जिम्मा दिएर उहाँ शहर फर्कनुभयो । काठमाडौँ फर्किएर फेरी विभिन्न कलेजहरुमा शिक्षण यात्राको नयाँ अध्याय सुरु गर्नुभयो ।

शैक्षिक नेतृत्वको १९ वर्षे यात्रा : सेन्ट लरेन्सको जन्म र सफलता
२०६३ सालमा विधिवत रुपमा सुरु भएको सेन्ट लरेन्स कलेजको यात्रा आज नेपालकै प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक बनेको छ । यो यात्राका एक केन्द्रीय पात्र हुनुहुन्छ, शिक्षक, उद्यमी, अडिटर, अधिवक्ता र सामाजिक अभियन्ता केशवप्रसाद दंगाल ।
२०६३ सालमा दंगालले सेन्ट लरेन्स कलेजतर्फको व्यवसायिक यात्रा सुरु गर्नुभयो । त्यतिबेला कलेज ह्यान्डओभर–टेकओभरको अवस्थामा थियो । एक वर्षसम्म कसरी, कहाँ, कस्तो टिम बनाएर चलाउने भन्ने गृहकार्यपछि, २०६४ साल वैशाख १३ गते दंगाल सहितको टिमले औपचारिक रूपमा कलेज सञ्चालनको जिम्मा लियो ।
त्यतिबेला कलेज हालको दरबार संग्रहालयको उत्तरी भागमा थियो । २०६५ सालमा चावाहिल पिपलबोटमा नयाँ स्थान पाउँदा विद्यार्थी संख्या एकै वर्षमा सयबाट ५५० पुग्यो । लागभग ४ सय प्रतिशत वृद्धि भयो ।
उहाँ यस सफलताको श्रेय आफ्नो र टिमका सदस्यहरूको व्यापक जनसम्पर्क, दक्षता, कडा मिहेनत र शिक्षण अनुभवलाई दिनुहुन्छ ।

शैक्षिक योग्यता र पेशागत बहुआयाम
कलेजको नेतृत्वसँगै दंगालले आफ्नो शैक्षिक यात्रा पनि जारी राख्नुभयो । यस अघि नै एमबीए अध्ययन पूरा गर्नुभएका उहाँले समाजशास्त्रमा एम.ए. कानुनमा एल.एल.बी., शिक्षाशास्त्रमा बि.एड. र नेपाल बार काउन्सिलबाट अधिवक्ताको लाइसेन्स समेत हासिल गरी कानून व्यवसायी पनि बन्नुभयो ।
शिक्षण पेशासँगै सहकारी क्षेत्र, अडिटिङ र सामाजिक अभियन्ताको भूमिकामा सक्रिय रहनुभयो । काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संगठन (हाल कास्कुन) का सञ्चालक, अडिटर र अधिवक्ता—यी सबै परिचय उहाँसँग जोडिएका छन ।

शैक्षिक संस्था विस्तार र सामाजिक संलग्नता
आज सेन्ट लरेन्सको छत्रछायामा सेकेन्डरी स्कूल, प्लस टु, ब्याचलर, मास्टर्सका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन । साथै कपनस्थित त्रि–ज्योति स्कूल पनि अगाडि बढिरहेको छ ।
शैक्षिक क्षेत्र बाहेक उहाँ लायन्स क्लब अफ काठमाडौं, यूनाइटेड ग्रुपका चार्टर्ड प्रेसिडेन्ट, २०७१ सालदेखि निरन्तर सदस्य र हाल डिष्ट्रिक चिफ एरिया को–अर्डिनेटर समेत रहनुभएको छ ।
उहाँको अर्को सक्रियता “योगदान राष्ट्रका लागि” नामक संस्थामा रहेको छ । जसले ‘एक घर, एक प्राथमिक उपचारकर्ता’ अभियानमार्फत विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्छ । उहाँ यो संस्थामा हाल केन्द्रीय सदस्य रहनुभएको छ ।

सफलताको सूत्र : भिजन र डेडिकेशन
लामो शैक्षिक अनुभव सगाल्नुभएका सेन्ट लरेन्सका अध्यक्ष दंगाल भन्नुहुन्छ–‘सफल हुन मान्छे भिजनरी हुनुपर्छ, गर्छु भनेपछि दिन–रात नभनी त्यसैमा लाग्ने डेडिकेशन हुनुपर्छ । म यो गर्छु भनेर उसले सोच्नुपर्यो । गर्छु भनेर मात्र हुँदैन । गर्छु भनेर लागिसकेपछि दिन रात नभनी त्यसैमा लागिपर्ने डेडिकेशन हुनुपर्छ । प्लानिङ अनुसार जिम्मेवारीबोध गरेर लागिपर्नु पर्दछ । निरन्तर रुपमा लागिपरेपछि एकदिन हामी सफल हुन्छौं ।’
योजना अनुसार जिम्मेवारीबोध सहित काम गर्दा, काममा निरन्तरता र अनुशासन अपनाउँदा सफलता अवश्य आउँछ भन्नेमा उहाँको विश्वास रहेको छ । कलेजका अध्यक्ष दंगाल सहितको सिंगो टिमको मिहेनतबाट सफल भएको सेन्ट लरेन्स मात्रले आज प्रत्यक्ष ३ सयभन्दा बढी र अप्रत्यक्ष १२–१५ सय जनालाई रोजगारी दिइरहेको छ । नयाँ ढंगले, टिमवर्कमा साथ काम गर्दा सफल हुन सकिन्छ भन्ने एउटा महत्वपूर्ण उदाहरण बनेको छ ।

विकल्प र बहुपथीय सोच
त्रिभूवन विश्वविद्यालयबाट समाजशास्त्र र व्यवस्थापनमा डबल एम.ए., शिक्षाशास्त्र तथा कानुनमा स्नातक तहको अध्ययन गर्नुभएका दंगालको जीवनमा कुन पेशा अपनाउँने भन्ने कुनै समस्या छैन । कुनै एउटा काम गर्दा त्यसमा असफल हुँला तत्काल अर्को काम थाल्न उहाँको हातमा सधै “प्लान बी” थियो । कलेज सञ्चालन नगरेको भए उहाँ विश्वविद्यालय प्रोफेसर हुने वा पूर्णकालीन कानुन व्यवसायी हुने वा अडिट फर्म सञ्चालक बन्ने विकल्प थिए ।
‘काम गर्ने दौरानमा एउटा मात्रै काम होइन, दुई–तीन विकल्प हुनैपर्छ ।’ उहाँ भन्नुहुन्छ ‘एउटा काम असफल भयो भने अर्को सफल हुन्छ । यदी म आज सेन्ट लरेन्समा थिइन भने म के गर्थेँ होला ? वकील बनेर काम गर्थेँ होला । एउटा फर्म खोल्थेँ, दुई चार जना भाई बहिनीलाई राखेर म सिनियर वकील भएर काम गर्थेँ होला । म वकील नभएको भए म चार्टड एकाउन्टेन्ट संस्थाको सदस्य भएको हुँनाले मज्जाले अडिट फर्म चलाउँथेँ । एकाउन्टिङ फर्म चलाएर एकाउन्टेन्टहरु उत्पादन गर्थेँ । वा गाउँमा रहेका बाँझो जमिनलाई उर्वरा बनाउथेँ होला ।’

भविष्य दृष्टि र प्रेरणादायी सोच
सेन्ट लरेन्सका अध्यक्ष दंगालको अवको अर्को ठूलो लक्ष्य एम.फिल. र पिएचडी गर्ने हो । यसका लागि समय व्यवस्थापन गर्न कठीन भइरहेको उहाँ बताउँनुहुन्छ । पछिल्लो समय उहाँ समाजमा सकारात्मक ऊर्जा प्रवाहमा जोड दिइरहनुभएको छ ।
“मेरो अगाडि जो आए पनि सकारात्मक सन्देश लिएर जाओस भन्ने चाहन्छु,” उहाँ भन्नुहुन्छ, “कोही म जस्तै बन्ने अभिलाषा लिएका होलान, उनीहरु म भन्दा अझ माथि पुगुन भनेर प्रेरित गरिरहेको हुन्छु । सकारात्मक सोच भएका त्यस्ता व्यक्तिहरुलाई साथ लिएर अघि बढ्न चाहन्छु ।” समाजका नराम्रा पक्ष चिर्ने, रुपान्तरित र प्रगतिशील समाज निर्माण गर्ने उहाँको अझै जोश जाँगर छ ।
केशवप्रसाद दंगालको कथा केवल व्यक्तिगत सफलताको इतिहास होइन, नेपालमै बसेर नयाँ पुस्ताका लागि अन्तर्राष्ट्रिय स्तरको शिक्षा र अवसर सिर्जना गर्न सकिन्छ भन्ने एउटा जिवन्त उदाहरण पनि हो ।








प्रतिक्रिया दिनुहोस