प्रकृति,अध्यात्म र मानव दर्शनको अनुपम नमूना: जामाचो
“प्रकृतिसँग जुध्नु नै जीवनको रमाइलो हो ” भनेर घनघस्याको उकालो काट्दा भन्ने नियात्रामा डा. तारानाथ शर्माले लेखेको पङ्ति स्कुल पढ्दा पढेको झलझली याद आउँछ । प्रकृति र मानव एक अर्कामा कति अनोन्याश्रित हुँदा रहेछन् भन्ने कुराको झल्को पनि त्यतिखेर नै पाएको थिएँ ।
दार्शनिक रूसोले पनि “Back to the nature ” प्रकृतितर्फ फर्क भनेको पनि साच्चै अकाट्य लाग्यो । मानव र प्रकृतिका सम्बन्धमा धेरै विद्वानहरूले अब्बल धारणा राखेको पाइन्छ । यसै सन्दर्भमा ज्याकोब ब्रोन्सकीले भनेका छन- “Man masters nature not by force,but by understanding.” साच्चै हो जस्तो लाग्छ ।
बलले होइन समझदारीले सबै कुरा जित्न सकिन्छ तर आल्डस हवसले मानवलाई प्रकृति माथी अहङ्कारी र विजेता एवम् तानाशाह को रुपमा व्यवहार गर्न स्वतन्त्रता पाएको हु भन्ने महसुस गर्छ ,भनेका छन् । वास्तवमा मानव असन्तुष्ट प्राणी हो,उसले प्रकृति र पशुपंछीको सन्तुष्टिको आधार कहिल्यै पहिल्याउन सकेन । सधैं तृष्णाको खास्टो ओढेर असन्तोष र पीडाको रोटी चपाउँदै हिंडेको छ । मानव जातिको जीवन जिउने आधार प्रकृति हो तर ऊ निर्विवेकी भएर प्रकृतिमाथि प्रतिशोध लिए झै खनिएको देख्दा उसले एकदिन प्रकृतिको महाप्रकोप खप्नु पर्ला भन्ने लाग्छ ।
प्रकृति,अध्यात्म र मानव बिचको तादम्यता बुझ्न निकै प्रयास गरे र चिन्तन मनन गरी काठमाडौं उपत्यकाको प्राचीन इतिहास कोट्याउन नागार्जुन डाँडाको शिखरमा रहेको जामाचोलाई रोजेँ । काठमाडौं उपत्यकाको पश्चिमी किनारमा रहेको बालाजु बाइपास पुगेँ । त्यहाँबाट लगभग एक किलोमिटर दुरी पार गरेपछी फुलबारी गेट पुगेँ । त्यहीँबाट जामाचोको यात्रा प्रारम्भ हुँदो रहेछ । जामाचोको अवस्थिती काठमाडौं उपत्यकाको क्षेत्रफल ६४२ वर्ग किलोमिटरमा फैलिएको छ । यो समुद्र सतहबाट १३५० मिटरको उचाईमा रहेको छ । काठमाडौं उपत्यकालाई चारैतिरबाट हरियालीयुक्त वन बुट्यानले घेरेको छ । विशेष स्थानहरूलाई राष्ट्रिय निकुञ्ज मार्फत संरक्षण गरिएको छ । जामाचो शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्दछ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले १५९ वर्ग किलोमिटरको क्षेत्र ओगटेको छ ।

जामाचो समुद्र सतहबाट २१२८ मिटर उचाईमा रहेको छ । यो काठमाडौं उपत्यका भन्दा ७७८ मिटर उचाईमा छ । जामाचो शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र पर्ने हुनाले निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले सुरक्षा दिइरहेको छ । यस निकुञ्जमा २३ प्रजातिका स्तनधारी वन्यजन्तुहरू रहेनुका साथै ३१८ प्रजातिका चराहरू रहेका छन् भन्ने अभिलेख पाइन्छ । बालाजु बाईपास कटेर लगभग एक किलोमिटरमा फुलबारी गेटमा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनालाई आफ्नो परिचयपत्र दिई दर्ता गरेर चलानी पत्र लिइ कडा जाँचपड्तालपछि मात्रै जामाचो पुग्नको लागि उकालो लाग्नु पर्छ ।
प्रारम्भमा ज्यादै ठाडो उकालो लागेर केही माथिल्लो भागमा पुगेपछि निकुञ्ज सुरक्षार्थ तैनाथ सेनालाई पुनः चलानी पत्र देखाएर दर्ता गराई जामाचोतर्फ लाग्न पाइने रहेछ ।यसपछि विभिन्न बोटबिरुवा र चराचुरूङ्गीहरू दृश्यापन गर्दै उकालो लाग्दै जानू पर्दछ । धेरै जसो बाटो सिंढी बनाइएकोले बिस्तारै हिंड्न् कठिनाई छैन । हिड्ने बानी नभएकालाई कठिन छ । यो यात्रा एकलै भन्दा पनि समूहमा गर्दा रमाइलो हुन्छ,पट्यारलाग्दो हुँदैन । प्रकृतिको काखमा रमाउँदै उकालो लागेर जाँदा रोमाञ्चित पनि त्यति नै भईन्छ। फुलबारी गेटबाट ४.३७१ किलोमिटरको यात्रा सम्पन्न गरेपछि जामाचो गुम्बा पुगिन्छ ।

जामाचो नागार्जुन डाँडाको शिखरमा रहेको छ । नागार्जुन डाँडालाई ‘विन्ध्य पर्बत’पनि भनिएको पाइन्छ । बौद्धधर्मका महायान सम्प्रदाय अवलम्बनकर्ता बौद्ध धर्ममा शुन्यवादक प्रवर्तक आचार्य नागार्जुनले ध्यान गरि अनेकौं सिद्ध प्राप्त गरेकाले नागार्जुन भनिएको भन्ने भनाइ छ । यसै गरी बौद्ध धर्ममा बज्रयान सम्प्रदाय गुरु रिन्पोछेले आठौं शताब्दीमा यहाँ बसेर ध्यान गरि सिद्ध प्राप्त गरेका थिए भन्ने भनाइहरू पाइएका छन् ।यहाँ गुरु पध्मसम्भवको मूर्तिसहितको गुम्बा रहेको छ । जामाचोको परिचय ‘जामाचो’नामाकरण कसरी भयो होला भन्ने जिज्ञासा सबैमा उत्पन्न हुन्छ।
यस सम्बन्धमा स्थानीय नेवारी समुदायमा प्राचीनकालदेखि यो शब्द प्रयोग हुँदै आएको छ ।जामाचोको अर्थ जामा जस्तो देखिने डाँडो हुन्छ । स्वयम्भू पुराण लगायत प्राचीन बौद्ध ग्रन्थहरूमा यस डाँडालाई ‘जातमात्रा’पर्बत भनेको पाइन्छ । ज्या:मात्र:च्व: नामबाट उल्लेखित छ जुन प्राचीन जामाचो शब्दको अझ पूर्व रूप हो । किंबदन्ती अनुसार काठमाडौं उपत्यका विशाल पानीको ताल हुँदा विपस्वी बुद्धले यही पर्बतबाट तालमा कमलको बीउ अर्पण गरेका थिए । यसबाट कमल उत्पत्ति भइ दिव्य ज्योति प्रकट भएको हो भन्ने भनाइ छ । विशेष गरि बौद्ध परम्परासँग सम्बन्धित ‘स्वयम्भू क्रोनिकल्स’मा जामाचो डाँडोलाई विन्ध्य पर्बत वा जातमात्रा पर्वत भनिएको छ । त्यस समयका विद्वान लामाहरूले यस पहाडलाई भारतको विन्ध्याचल पर्वतसँग तुलना गरेर ‘विन्ध्य पर्वत’ भनिएको भन्ने भनाइ पनि छ ।
यसलाई नागार्जुनको डाँडो भनिन्छ । नागार्जुन किन भनियो भन्ने सवाल उठ्नु पनि स्वाभाविक हो । दोस्रो र तेस्रो शताब्दी बिचमा दक्षिण भारतबाट भिक्षु भएर दार्शनिक तथा बौद्ध मध्यम मार्गका प्रवर्तक नागार्जुन आएका थिए । उनले यही जमाचोको डाँडामा बसेर अनेकौं सिद्ध प्राप्त गरेकोले उनै बौद्धाचार्य नागार्जुनको नामबाट यो डाँडालाई नागार्जुनको डाँडो भनिएको भन्ने मत बौद्ध सम्प्रदायमा रहेको पाइन्छ । महाभारतको एक प्रसङ्ग अनुसार पाण्डवहरू वनवासको समयमा यो जङ्गलमा थिए। दुर्योधनले पाण्डवहरूलाई मार्न नाग पठाएको र अर्जुनले सो नागसँग युद्ध गरी मारेको हुनाले नाग र अर्जुनको कथा जोडिएकोले पनि नागार्जुन भनिएको भन्ने छ ।

जामाचो र स्वयम्भूको सम्बन्ध स्वयम्भू पुराणका अनुसार ९१ कल्प ( एक कल्पमा ब्रह्माको ४.३२ अरब वर्ष) अघि काठमाडौं उपत्यका एउटा ठुलो ताल (नाग दह) को रुपमा रहेकोले सप्त मानस बुद्ध मध्येका प्रथम विपस्वी बुद्धले जातमात्रा वा जामाचो ( नागार्जुन डाँडाको शिखर)बाट कमलको बीउ अर्पण गरेपछि त्यसबाट विशाल कमलको फूल उत्पत्ति भइ त्यहाँबाट दिव्य प्रकाशयुक्त ज्योति उत्पन्न भएकोले त्यसलाई नै पछि स्वयम्भू भनिएको हो । स्वयम्भूको अर्थ स्वयं र भू को अर्थ आफै उत्पती भएको भन्ने अर्थ लाग्छ । स्वयम्भू पुराणको बाह्रौं अध्यायमा यस्तो श्लोक लेखिएको छ: बुद्ध विपस्वी : कमलस्य बिजं तालं समर्पयत् । तेन बीजेन स्वयम्भू ज्योति :प्रकटिता । यसपछि त्यहाँ कमलको फूलबाट दिव्य प्रकाश उत्पन्न भएको कुरा प्रष्टिन आउँछ । स्वयभू पुराणकानुसार विश्वम्भू बुद्धले स्वयम्भू दर्शन गरेर फर्किदा यो उपत्यकाको पानी सुकाएर वस्ती बसाल्न योग्य बनाउन मञ्जुश्री नामक एक वोधिसत्व आउने छन भनेर भविष्यवाणी गरेको प्रसङ्ग आउँछ । स्वयम्भू पुराणको अध्याय दुईमा उल्लेख भएनुसार तदा मञ्जुश्री नामो,विद्याधरो महामति: ।
चिनदेशात् समयातो,दर्शनार्थ स्वम्भुव: । यसको अर्थ त्यो समयमा महान बौद्ध साधक मञ्जुश्री चिन देशबाट स्वयम्भूको दर्शन गर्न नेपाल आए । स च स्थाने गिरेराजे,नागार्जुन इति स्मृत :। ददर्श दिव्यं दीपं तं पद्ममध्य गतं स्वयम्भू :। अर्थात् मञ्जुश्रीले नागार्जुन(जामाचो) भनिने डाँडामा बसेर स्वयम्भूको दिव्यज्योती देखे,जो कमलको बिचम उज्यालो थियो । ततो अवतीर्य चोभारं, खनित्वा सलिलं व्यपेत । प्रदश्यं लोकानां स्थलं,बोधभूमि चकार स: यसको अर्थ मञ्जुश्री चोभारतर्फ झरे र तलको घाट काटेर पानी बाहिर पठाए । यसरी उनले मानव बसोबास योग्य बनाए । यसपछी उपत्यका निकै समय पानी नभए पनि दलदलको रुपमा रहे पनि क्रमिक रुपमा अग्लो र सुख्खा भएको स्थानबाट मानिसहरूले बसोबास सुरु गरे । युग परिवर्तनको संघारमा पुग्दा अर्थात कलियुगको प्रारम्भ हुनुपूर्व यहाँका धर्माचार्य लामाहरूले कलियुगमा मानिसहरूले त्यो चमत्कारी ज्योतिलाई उचित श्रद्धाका साथ हेर्ने छैनन् र यसको दुरुपयोग गर्न सक्छन् वा यसलाई अनादर गर्ने छन् जसले गर्दा दु:ख आउनेछ भनेर यो अलौकिक ज्योतिलाई सुरक्षित राख्न र मानिसको श्रद्धा र दर्शन योग्य बनाउन यो ज्योति स्वरूप धर्मधातुलाई ढुङ्गाले छोपेर स्तूपको रुप दिए ।

यसले गर्दा यो धर्मधातु आजसम्म पुण्यधामको रुपमा रहन सकेको छ । विभिन्न कालखण्डमा तपस्वीहरू आउने क्रम जारी रहयो । महायानी बौद्ध परम्परा अनुसार आचार्य नागार्जुन सन् १८०-२५० को बिचमा जामाचो नजिक गुफामा “प्रज्ञापारमिता सुत्र”को गुढ रहस्य बुझेर ध्यान सिद्ध गरेको चर्चा पाइन्छ । स्वयम्भू पुराणको चौधौं अध्यायमा नागार्जुन सम्बन्धी प्रासंगिक श्लोक यसरी पाइन्छ : नागार्जुनो महामेधा:स्वयम्भू मण्डलले स्थित :। गुहायं गम्भिरा मध्ये,ध्यानमग्नो दिनानी च।। तत्रैव प्रज्ञापारमितां,वोधिसत्वेम्य उपदेशित ।
नागार्जुन चरित्र तिब्बतीबाट अनुवाद भए अनुसार -नागार्जुन दक्षिण भारतबाट नेपाल देशतर्फ आई स्वयम्भू नामक पवित्र डाँडा(जामाचो गुफा क्षेत्र) मा बसे र गहिरो अध्ययन गरि प्रज्ञापारमिताको उपदेश दिए भनिएको छ । यसपछि महातपस्वी गुरूरिन्पोछे पद्यसंभव यहाँ आई ध्यान गरेको चर्चा पाइन्छ । बि. सं.८००देखि ८०७ तिर गुरूरिन्पोछे पद्यसंभव नेपाल आएर विभिन्न स्थानमा ध्यान साधना गरे। फर्पिङमा उनले बज्रकिलाय तन्त्र ‘फुर्बातन्त्र’ Phurba Tantra को अभ्यास गरी महासिद्ध प्राप्त गरेको उल्लेख पाइन्छ । स्वयम्भू पुराणको पन्ध्रौं अध्यायमा र Gyal rabs मा उल्लेख भए अनुसार गुरु “पद्यओङ्ग चे स्वयम्भू शिखरे ध्यानं चकार तत्र तारा देव्या दर्शनं प्राप्तवान ।” अर्थात उनले स्वयम्भू शिखरमा ध्यस्न गर्दै देवी ताराको दर्शन प्राप्त गरे । देवीले उनलाई तिब्बतमा साम्ये गुम्बा बन्न लागेकोले त्यता जाने आदेश दिएको कुरा किम्बदन्तीमा पाइन्छ । यो कुरा बौद्धनाथ महाचैत्यको श्रवण मुक्तिको पौराणिक कथा “झ्यारुङ्ग खस्योर” (तेर्मा) ले पनि पुष्टि गरेको छ कि गुरु पद्यसंभव तिब्बतको साम्ये गुम्बा बनाउने क्रममा तिब्बत पुगेका थिए । यो कुरा आठौं शताब्दीको हो जुन ऐतिहासिक पनि हो । ऐतिहासिक कालक्रम र जामाचो किरात र बौद्धधर्मका सम्बन्धमा स्वयम्भू पुराण,नेपाल महात्म्य र केही मुन्धुमहरूका गाथामा जामाचो क्षेत्र “ध्यान वन ” र “महा तपस्वी बस्न थाले” भन्ने उल्लेख पनि पाइन्छ ।

पारुहाङ्ग र सुम्निमाले उपत्यकाको पश्चिम तर्फको पहाडमा प्रकृतिको पूजा गरे भन्ने वाक्यांश पाइनाले यसै पहाडलाई सङ्केत गरेको आभाष पाइन्छ । एक पुरातात्त्विक सर्भेक्षणले यहाँ ढुङ्गाका केही वेदिका र नाट्यश्वरीका चिह्न पाइएका छन् । लिच्छविकालमा पनि जामाचोको संरक्षण र सम्बर्द्धनमा भूमिका खेलेको पाइन्छ । यश क्षेत्रलाई लिच्छविकालका शिलालेखमा “जामाच्छो”,”जामाचु” र “जिनलिङ्ग गिरि”जस्ता शब्द उल्लेख भएका छन् । मानदेवको समयमा स्वयम्भू र आसपासको तपोभूमि क्षेत्रमा दान,स्तूप,चैत्य निर्माण गरेको कुरा पाइन्छ । मानदेवको स्वयम्भू संस्कृत ताम्रपत्र लेखमा “जामाच्छो गिरि क्षेत्र”भन्ने शब्द परेको छ । शिवदेव -अंशुवर्मा कालीन अभिलेखहरूमा “नागार्जुन गिरि”शब्द भेटिन्छ । शिवदेवले बुद्ध धर्मका गुफा ध्यान स्थलको रक्षाका लागि बाली र भूमिदान दिएका थिए । लिच्छविकालको अन्त्यसम्म यहाँ भिक्षु निवास,चैत्य र गुफाहरू बनेका थिए । यसका लागि दाताहरूले ठुलो सहयोग गरेको भन्ने प्रसङ्गहरू आएका छन्। मल्लकालमा स्वयम्भू,नागार्जुन डाँडो र जामाचोलाई “राजकीय बौद्ध -वैद्धिक” तीर्थ भनेको पाइन्छ । (यहाँ वैद्धिक भन्ने शब्द पहिलो पटक पर्न आएको छ ।) प्रताप मल्ल,भूपतिन्द्र मल्ल र जयप्रकाश मल्ल जस्ता राजाहरूले दीपदान र स्तूप मर्मत गरेकस थिए ।यी राजाहरूले भिक्षु र पुजारीहरूका लागि धान गुठी र भूमिदान गरेका थिए । कान्तिपुर राज्यका अन्तिम राजा जयप्रकाश मल्लले हिन्दु-बौद्ध दुबै धर्मको संरक्षणको लागि गहन भूमिका खेलेका थिए । उनले धार्मिक स्थललाई राजकीय संरक्षण प्रदान गरेका थिए । स्वयम्भू स्तूप,नागार्जुनको तपोभूमी(जामाचो),मठ,मन्दिर निर्माण र पूजा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । जयप्रकाश मल्लको पालामा स्वयम्भू -जामाचो यात्रामा भाग लिनु पर्दथ्यो भन्ने कुरा त्यस क्षेत्रका पाका व्यक्तिहरूको सम्वादबाट बुझियो तर आधिकारिक दस्तावेज भने पाइएन ।

जयप्रकाश मल्ल धार्मिक प्रवृतिका राजा थिए । उनले बि.सं. १८११मा बालाजुमा २१ वटा ढुङ्गेधारा निर्माण गरेका थिए । भनाइ अनुसार नागार्जुनको जंगलबाट आएको पानीमा औषधीय गुण भएकोले यस धारामा नुहाउनाले शारीरिक र मानशिक लाभ प्राप्त हुने विश्वाश्ले बनाएको भन्ने धारणा छ । यस धारामा नुहाएर जामचो जानू पर्छ भन्ने कुनै आदेशात्मक इस्तिहार पाइँदैन तर आस्थावानहरू चैत्र पूर्णिमाको दिन बालाजुको २२ धारा स्नान गरी जामाचो जान्छन् । यहाँ के स्पष्ट हुनुपर्छ भने बालाजुमा २२ धारा मध्री २१ धारा जयप्रकाश मल्ल र एउटा सुन लेपन गरिएको ठूलो धारा राजा रणबहादुर शाहले बि.सं.१८५५ तिर निर्माण गरेको कुरा छ तर शिलालेख र सरकारी दस्तावेज पाउन सकिएन । जामाचोको धार्मिक अवस्था वास्तविक रुपमा जामाचोको धार्मिक महत्व बौद्धधर्मसँग रहेको छ तर यहाँको भगोलिक र धार्मिक अध्ययन गर्दा हिन्दु र बौद्ध मार्गीहरूको आस्थाको केन्द्र रहेको आभाष पाइन्छ । विन्ध्य पर्वत र नागार्जुनले तपस्या गरेको स्थल हुनाले आस्थाको साझा केन्द्र बनेको छ।
नेपालमा विशेष गरी उपत्यकामा एउटै धार्मिक स्थललाई दुबै धार्मिक समुदायले मान्ने परम्परा छ । जामाचो नागार्जुन डाँडाको शिखरमा रहेको प्रमुख आकर्षक वस्तु भनेको जामाचो गुम्बा हो जुन बौद्ध समुदायको पवित्र स्थल हो । यहाँ बौद्ध धर्मसँग सम्बन्धित,देव देवीका मूर्तिहरू रहेका छन् । नागार्जुन गुफा नजिकै उत्खननका क्रममा हात्तीको शिर जस्ता ढुङ्गा पसिएका छन् । यसलाई भगवान् शिवसङ्ग जोडिएको पाइन्छ । यहाँ नागार्जुनले नियन्त्रणमा लिएको जलपुरित नागको पनि पूजा गरिन्छ । हाल यो पवित्र स्थल हिन्दु -बौद्ध दुबैको आस्थाको केन्द्र बनेको छ । नागार्जुन क्षेत्रको विकास र प्रवर्द्धन नागार्जुन क्षेत्रको विकास र प्रवर्द्धन मल्लकालदेखी नै हुँदै आएको पाइन्छ । प्रताप मल्लकी रानी अनन्तप्रिया देवीले हल्चोकबाट पश्चिममा एउटा सुन्दर बगैंचा बनाउन लगाएकी थिइन । त्यसैबेलादेखि यसलाई रानीवन भनिएको भन्ने भनाइछ ।

नागार्जुन जङ्गलमा जङ्गबहादुरले पनि एउटा दरबार बनाएका थिए । यसलाई छहरे दरबार भनेको पाइन्छ। शायद यो छोटो अवधिको सिकार खेल्नको लागि बनाइएको हुनुपर्छ । राजा सुरेन्द्रको पालामा नागार्जुन वन क्षेत्रको संरक्षणको लागि बि.सं.१९२६ मा एउटा ऐन जारी भएको थियो । यो प्रकृति संरक्षणको लागि नेपालमा गरिएको उल्लेखनीय प्रयास थियो । यो ऐन जारी गर्दा संरक्षण क्षेत्र भित्र परेका घर वस्तीलाई जीतपुर र तारकेश्वरमा स्थानान्तरण गरी बसोबासको व्यवस्था गरिएको थियो । राजा सुरेन्द्रले जारी गरेको ऐनलाई अभिलेख राख्न एक शिलालेख राखिएको छ ।
यो शिलालेख भग्न अवस्थामा जङ्गलको पूर्वी-दक्षिण मोहडामा रहेको छ । नागार्जुनको संरक्षणको लागि प्रधानमन्त्री चन्द्र समशेरले वेलायतबाट फर्केपछि पर्खाल लगाउन सुरु गराएका थिए । यसै गरी यस पर्वतमालाको एक छेउमा जुद्ध समशेरले एक दरबार बनाएका थिए भन्ने छ् तर यकिन हुन सकिएन । विशेषत: राजा त्रिभुवनदेखि नै अल्पकालीन समयको लागि नागार्जुन बस्ने गरेको भन्ने बुझिन्छ तर राजा महेन्द्रदेखि यहाँ शीतलताका लागि बस्ने गरेको पाइन्छ । यो शाह राजाहरूको निजी निवासको रुपमा रहदै आयो र हाल पनि पूर्वराजा ज्ञानेन्द्र शाहले निजी रुपमा यसको प्रयोग गरेको पाइन्छ ।
यसको महिमा र प्राचीनताको व्याख्या गरी नसक्नु छ । यसकै महिमालाई अझ चम्किलो बनाउन बि.सं.२०१८ साल जेठ २९ गतेको शिलालेखमा प्रधानमन्त्री सूर्यबहादुर थापाले बालाजु बाइसधारा उद्यान शिलान्यास गरेको व्यहोरा पाइन्छ । यसैगरि बि.सं.२०२१ सालमा प्रधानमन्त्री तुलसी गिरिले सो उद्यान उद्घाटन गरेको व्यहोरा पाइन्छ । जामाचोमा लाग्ने पर्व,जात्रा र उत्सवहरू काठमाडौं उपत्यकालाई जीवन दिने प्रसङ्गको रुपमा आएको जामाचोमा बौद्ध परम्परासँग सम्बन्धित जात्रा र उत्सवहरू मनाइन्छ्न्। विशेष गरी बैशाख शुक्ल पूर्णिमाको दिनमा अर्थात् बुद्ध जयन्तीको दिनमा ठुलो उत्सव मनाइन्छ। चैत्र शुक्ल पूर्णिमाको अघिल्लो दिन बौद्धमा तेमाल जात्रा मनाएर बत्ती बाली विहान चाडै बालाजु बाइसधारामा स्नान गरेर जामाचोमा जाने गरेको पाइन्छ ।

अन्त्यमा,उब्जेका कुतूहलता र केही वास्तविकता खोज गर्नको लागि जामाचो यात्रा तय गरिएको हो । प्राचीनकालदेखि हालसम्म पनि यो क्षेत्र उत्तिकै महत्व बोकेको क्षेत्रको रुपमा पाएँ । जामाचो पुग्न यात्रा प्रारम्भको सुरुमा आधा घण्टा जति श्वास प्रश्वासको समस्या भएकाहरूलाई कठिन मात्र होइन असम्भव नै रहेछ तर जामाचो पुग्न मोटरबाटो समेत बनिसकेको हुनाले त्यो समस्या पनि खासै होइन । अहिलेको चलन चल्तीको शब्दमा हाइकिङ गर्न उत्कृष्ट रहेछ । सामान्य स्वास्थ्य भएकाहरूको लागि यो यात्रा गर्दा स्वास्थ्यलाई फाइदा पनि हुन्छ । यसरी प्रकृति,आस्था र मानव दर्शनको अनुपम उपहार क्षेत्रको रुपमा रहेको यश स्थानलाई संरक्षण र विकास गरी नमूनाको राष्ट्रिय निकुञ्ज बनाउन सकिने प्रसस्त संभावना देखिन्छ ।





प्रतिक्रिया दिनुहोस