उधौली तथा धान्य पूर्णिमा: विकास र प्रकृतिको सन्तुलन

नयाँ पोस्ट
१८ मंसिर २०८२, बिहिवार

-ई.किरण घिमिरे

नेपालको सांस्कृतिक विविधता प्राकृतिक भौगोलिक बनावट जति नै विस्तृत र गहिरो छ।जसरी भैगोलिक रुपमा हिमाल, पहाड र तराई छन् त्यसैगे नै जाति-समुदाय र संस्कृतिहरूले पनि आफ्नो छुट्टै पहिचान बोकेका छन् ।तीमध्ये किराँत समुदायले मनाउने उधौली पर्व र नेपालभर प्रचलित धान्य पूर्णिमाले कृषि, प्रकृति, समयचक्र र सामाजिक समायोजनको एउटा महत्वपूर्ण दर्शन बोकेका छन्।यी दुवै पर्वले मौसमसँगको सम्बन्ध, उत्पादनसँगको अनुशासन र सामूहिक जीवनशैलीको निरन्तरतामा महत्व राख्छन् ।यिनलाई आधुनिक परिवेशमा, विशेषगरी ट्रान्स्पोर्टेसन इन्जिनियरिङ अर्थात यातायात तथा भौतिक ढाँचाको विकाससँग तुलना गर्दा नेपालले पार गरिरहेको चुनौती, सम्भावना, परिवर्तन र सामाजिक-संरचनात्मक गतिशीलता स्पष्ट देख्न सकिन्छ। उधौली र धान्य पूर्णिमा पर्वको दार्शनिक तथा सांस्कृतिक अर्थलाई नेपालमा भइरहेको यातायात विकाससँग जोड्दै समाज, अर्थतन्त्र, वातावरण र भविष्य दृष्टिकोणका सन्दर्भमा विचारहरू खुलाइने प्रयास गरिएको छ।

प्रकृतिसँगको अवतरणको उत्सव किराँत समुदायले मनाउने उधौली पर्व मूलतः चाडो चिसोको तयारी, मौसमी परिवर्तनको स्वागत र प्राकृतिक चक्रसँगको समन्वयको प्रतीक हो।मंसिर महिनामा पर्ने यो पर्वले पहाड तथा नदी-खोल्साहरूको आसपास बसोबास गर्ने किराँतहरूलाई हिमालतिरबाट तल झर्ने परम्परागत जीवनशैलीको स्मरण गराउँछ।चिसो बढ्दै जाने, कामको प्रकृति बदलिने, खेतीपातीको एक चरण पूरा हुने र गर्मी स्थानतिर सर्ने मानवीय-प्राकृतिक अनुकूलन प्रक्रियालाई उधौलीले सामाजिक स्वरूप दिएको छ। यस पर्वमा सामूहिक साकेला-सिल्ली नृत्य, प्रकृतिपूजा, बृद्ध–बृद्धाप्रति सम्मान र समुदायगत एकताको अत्यन्तै सुन्दर स्वरूप देखिन्छ।किराँतहरू प्रकृतिलाई आमा र जीवनदाताको रूपमा मान्छन्।उधौलीमा उनीहरूले घर,जंगल,नदी,जनावर र खेतीलाई अलग नमानी एक आपसमा गाँसिएको जीवनतन्तुका रूपमा हेर्छन्। उधौलीको यो दार्शनिकता सांस्कृतिकता को साथै आधुनिक विज्ञानका दृष्टिले पनि पूर्ण रूपमा टिकाउ छ ।मौसमी प्रवाहलाई चिनेर, जलवायु परिवर्तनअनुसार जीवनशैली समायोजन गर्ने यो परम्पराको वैज्ञानिकता निकै गहिरो छ।

धान्य पूर्णिमा :वर्षभरिको श्रम, सहनशीलता र उत्पादनको कृतज्ञता नेपालका धेरै समुदायमा प्रचलित धान्य पूर्णिमालाई ‘धान पूजा, उघि पूर्णिमा वा अन्नपूर्णिमा पनि भनिन्छ।यो पर्व कृषिको आधारसंरचना हो। नेपालमा धान खाने अन्न मात्र होइन,अर्थतन्त्र, पहिचान र संस्कृतिको मेरुदण्ड पनि हो।धान्य पूर्णिमा धान भित्र्याउने, भण्डारण गर्ने र त्यसका लागि देवता-प्रकृतिप्रति धन्यवाद व्यक्त गर्ने पर्व हो। धान रोपाइँदेखि बाली भित्र्याइसम्मको लामो मेहनतपछि गाउँभरका मानिसहरू एकैसाथ भेला भएर धानलाई जीवन को रूपमा सम्मान गर्छन्।नेपालको पहाडी तथा तराई भूगोलमा धान खेती कुनै साधारण प्रक्रिया होइन।यही कारण धान्य पूर्णिमाले श्रमको मूल्य, सामूहिकता, चाडो-सचेतता र उत्पादन चक्रमा अनुशासन स्थापित गर्छ।धान्य पूर्णिमाको सामाजिक परिवेशले मानिसलाई माटोसँग जोडिएको बोध गराउँछ।जीवनका प्रत्येक चरण माटो, पानी, बिउ र श्रमसँग अभिन्न रूपमा बांधिएका छन्।

उधौली र धान्य पूर्णिमाको मूल दर्शन : यी दुवै पर्वको साझा आत्मा प्रकृतिको भाषा बुझ्ने संस्कृतिमा छ, जहाँ सबै सामञ्जस्यमा भेला हुन्छन्।उधौलीले मौसम पढ्छ, धान्य पूर्णिमाले माटो पढ्छ।एउटा पर्व मानिस कहाँ र कति समय बस्ने भन्ने भौगोलिक-जलवायु संकेत गर्दछ भने अर्को पर्व मानिसले प्रकृतिसँग गरेको सहकार्यको परिणामको उत्सव हो। नेपाली समाज परम्परादेखि नै प्रकृतिलाई सहयात्री, सहकारी शक्ति र जीवनदाताको रूपमा आँकलन गर्ने गर्छ।त्यो ज्ञान नै संस्कृतिमा रूपान्तरित भएर परम्परा बनेको हो।

यी दुवै पर्वको दर्शन र आधुनिक यातायात इन्जिनियरिङ कसरी तुलना हुन्छ?बाहिरबाट हेर्दा एकातिर पुरानो सांस्कृतिक सोच,अर्कोतिर आधुनिक पूर्वाधार देखिन्छ।तर गहिराइमा दुवैको उद्देश्य एउटै हो-मानिसलाई सुरक्षित, संगठित र टिकाउ रूपमा चलायमान बनाउने।

प्रकृतिको रेखाचित्र र यातायात इन्जिनियरिङको रेखाचित्र :

उधौलीले जनाउने पहाडबाट तल झर्ने परम्परा मूलतःमानव-गतिशीलताको प्राकृतिरूप हो।यो गतिशीलता सडक, पुल, पैदलमार्ग र यातायात पूर्वाधार नभएको समयमा पनि स्वाभाविक रूपमा सञ्चालन हुन्थ्यो।मानिसहरू पहाड-हिमाली गाउँहरूबाट चिसो बढेपछि तल झर्थे, खेती बदल्थे र न्यानो ठाउँमा बस्थे। यो नै यातायात व्यवस्थाको आदिम रूप हो-जहाँ मार्ग र दिशा प्रकृतिले नै तय गरेको थियो।आधुनिक यातायात इन्जिनियरिङले पनि मानिसलाई मौसम, काम र जीवनचक्रअनुसार सुरक्षित रूपमा सार्छ।फरक यति मात्र हो-आजका मार्गहरू विज्ञान, इन्जिनियरिङ मानक, टिकाउ सोच, वातावरणीय मूल्यांकन र दीर्घकालीन योजनामा आधारित छन्। नेपालमा सडक, पुल, सुरुङ,रोपवे,केवलकार, हवाई मार्ग आदिको विकासले मानव-गतिशीलतालाई मौसम र भौगोलिक कठिनाइबाट केही हदसम्म स्वतन्त्र बनाएको छ, तर उधौलीले देखाउने प्रकृतिसँगको सन्तुलन चाहिँ आधुनिक विकासले अझै पूर्ण रूपमा आत्मसात गर्न सकेको छैन।उधौली भन्छ-“चलायमान हुन प्रकृतिको संकेत सुन्नुपर्छ”।तर आधुनिक विकास कहिलेकाहीँ भन्छ-“उद्देश्यका लागि प्रकृति काट्नुपर्‍यो भने कम क्षति हुने गरी काट”।यही विरोधाभास नै नेपालको यातायात पूर्वाधार विकासको ठूलो चुनौती हो।

धान्य पूर्णिमा र नेपालका कृषि–यातायात सम्बन्ध :

नेपालको परम्परागत कृषि पद्धतिमा मनाइने  धान्य पूर्णिमा धार्मिक वा सांस्कृतिक पर्व मात्र नभई धान उत्पादन, भित्र्याउने,ढुवानी, भण्डारण र वितरण जस्ता सम्पूर्ण कृषि-लजिस्टिक प्रक्रियाको समय-सूचकपनि हो।उत्पादन खेतमै सीमित हुनु हुदैंन,बजारसम्म पुग्नु नै पर्छ।बजारसम्म पुर्‍याउन पूर्वाधारले ठुलो मद्दत गर्छ।त्यसैले धान्य पूर्णिमा ग्रामीण यातायात पूर्वाधारको महत्व देखाउँछ।पहाडी गाउँमा सडक नहुँदा किसानले राम्रो मूल्य पाउँदैनन्।धान पूजा समृद्धिको प्रतीक भए पनि, आधुनिक सन्दर्भमा मूल्य तब मात्र बढ्छ जब यातायात, बजार पहुँच र मूल्य श्रृंखला बलियो हुन्छ।यसरी धान्य पूर्णिमा र आधुनिक यातायात इन्जिनियरिङ उद्देश्य उत्पादन, ढुवानी र बजार पहुँचलाई सुरक्षित र प्रभावकारी बनाउने कुरामा जोडिएको देखिन्छ ।

२०२५ को नेपाल:यस वर्ष नेपालमा यातायात क्षेत्रमा सडक विस्तार,सुरुङ निर्माण,शहरी क्षेत्रमा ट्राफिक जाम र प्रदूषण जस्ता धेरै परिवर्तनहरू देखिएका छन्।उधौली र धान्य पूर्णिमा जस्ता मौलिक पर्वहरू समुदायले मनाइरहेका छन् तर आधुनिक जीवनशैलीले नयाँ प्रश्न पनि संगसंगै उठाइरहेको छ।यी पर्वहरूले सिकाएको टिकाउ ज्ञान विकासमा किन हराउँदैछ? सडक विस्तार, अनियन्त्रित विकास र पहाड काट्ने प्रवृत्तिले उधौलीले सम्मान गरेको प्रकृति हामीले बिर्सेका त होइनौँ ?धान उत्पादन भए पनि बजारसम्म पुर्‍याउने सडक नभएकाले किसान निराश हुने अवस्था धान्य पूर्णिमाको सारसँग मेल खान्छ।सन् २०२५ को नेपाल एकातिर विकासको आकांक्षा र अर्कोतिर हराउँदै गएको परम्परागत ज्ञानबीच संघर्ष गरिरहेको आभास भैरहेको छ ।

उधौलीको दर्शन र ट्रान्स्पोर्टेसन इन्जिनियरिङ सन्तुलनको नक्सा हो।उधौलीले गतिशीलता प्रकृतिसँगको समन्वयमा हुनुपर्छ भन्ने कुरा सिकाउँछ।प्रकृतिलाई सुनेर बनाएको सडक टिकाउ हुन्छ।नेपालले सडक विस्तार गर्दा पहाड काट्ने,खोल्सामा माटो खसाल्ने र बिनायोजना बसोबास बढाउने गलत प्रवृत्ति हाबी भएको देखिन्छ भने वर्षा याममा पहिरो जाने,सडक भत्किने र मानिसको जीवन जोखिममा पर्ने घटना बढ्छ।त्यसैले उधौलीले सिकाएको प्रकृतिप्रतिको सम्मान आधुनिक यातायात प्रणालीको दीर्घकालीन सफलताको आधार हो।आजका इन्जिनियरहरूले उधौलीको दर्शनबाट दुई महत्वपूर्ण शिक्षा लिन सक्छन्,कुन ठाउँमा बाटो बनाउन र कुन ठाउँमा नबनाउन।प्रकृतिले दिएको संकेत जस्तै ड्रेनको दिशा, पानीको प्रवाह, भौगोलिक गहिराइ, चट्टानको कठोरता र वनस्पतिको प्रकार नै प्रकृतिको भाषा हुन्। उधौली पर्व भनेको यही भाषा बुझ्ने सांस्कृतिक विद्यालय हो ।

धान्य पूर्णिमा र आधुनिक यातायात उत्पादन–मूल्य शृंखलाको अपरिहार्यता देखाउँछ। किसानले छ महिना मेहनत गरेर धान उत्पादन गरे पनि त्यो धान बजारसम्म नपुगेर गोदाममै कुहिने अवस्था देशको ठूलो विडम्बना हो। धान्य पूर्णिमा उत्पादनको उत्सव हो तर त्यो उत्पादनको मूल्य र अर्थतन्त्रमा बदलिन आधुनिक यातायात अपरिहार्य हुन्छ। नेपालले यदि कृषि र यातायातलाई जोड्न सकेन भने किसानको श्रम घट्छ, उत्पादन घट्छ, आयातमा निर्भरता बढ्छ, रोजगारी घट्छ र आर्थिक सन्तुलन बिग्रन्छ। त्यसैले धान्य पूर्णिमाको सांस्कृतिक मूल्य आधुनिक अर्थतन्त्रमा पनि गहिरो छ, किनभने यातायात जति सबल हुन्छ कृषि त्यति नै मूल्यवान् हुन्छ।

दुवै पर्व र आधुनिक विकासका साझा प्रश्नहरू प्रकृतिसँगको सन्तुलन, मानवीय श्रमको मूल्य र सामूहिकता तथा सहकार्यतीन कुरा स्पष्ट देखिन्छन्।तर अहिले नेपालले सामना गरिरहेको प्रश्न भने यही हो कि विकासले यी आधारभूत मूल्यलाई समेटिरहेको छ कि छैन।सडक विस्तार गर्दा समुदाय विस्थापित हुने अवस्था, कृषकको उत्पादन बजारसम्म नपुग्ने समस्या, शहरमा ट्राफिक जाम र प्रदूषण बढ्ने अवस्था, हिमाली क्षेत्रमा सडकले वातावरण कमजोर बनाउने जोखिम र तराईमा अनियन्त्रित शहरीकरणले गर्दा  यी  पर्वहरूको दर्शन र आधुनिक विकासबीचको दूरी बढ्दै गएको संकेत हुन्।उधौलीले सिकाउँछ कि योजना बनाउन प्रकृतिलाई सुन्नुपर्छ।धान्य पूर्णिमाले सिकाउँछ कि श्रम र उत्पादनलाई सम्मान गर्नुपर्छ।यी दुवैको सन्तुलन नै यात्रा हो।नेपालले यातायातमा टिकाउ भौतिक पूर्वाधारको अवधारणा लागू गर्नुपर्छ जसले प्रकृति नष्ट नगरी विकास सम्भव बनाउँछ।कृषि र यातायातलाई जोड्नु आजको तत्कालीन आवश्यकता हो, धान्य पूर्णिमाले यही शिक्षालाई अझ बलियो बनाउँछ।इन्जिनियरिङ योजना बनाउँदा सामुदायिक सहभागिता अनिवार्य हुनुपर्छ, उधौलीको सामूहिक नृत्यले यही सामाजिक बान्की सम्झाउँछ।शहर र ग्रामीण क्षेत्रबीचको जोड बलियो हुनुपर्छ, धान्य पूर्णिमाले देखाएको उत्पादन–बजार संयन्त्रको पूर्णता त्यहीँ छ।प्रकृतिसँग द्वन्द्व होइन, सहकार्य गर्नुपर्छ, यही हो उधौलीको मूल दर्शन।

पर्वहरूको दर्शन आधुनिक नेपालकै मार्गदर्शक हो।नेपालका उदयमान सहर, विस्तार हुँदै गरेका सडक, सुरुङमार्ग, रेलको सम्भावना, रोपवेका परियोजना, पहाड-तराई जोड्ने पुल र ग्रामीण मार्ग सुधार आधुनिक यात्राका सुन्दर उपलब्धिहरू हुन्।तर यी उपलब्धिलाई टिकाउ,सुरक्षित र प्रभावकारी बनाउन उधौली र धान्य पूर्णिमाले सिकाएका सांस्कृतिक र दार्शनिक मूल्य अत्यन्तै महत्त्वपूर्ण छन्।उधौलीले प्रकृतिसँग सन्तुलन र अनुकूलनको ज्ञान दिन्छ भने धान्य पूर्णिमाले श्रम, उत्पादन र सहकार्यको ज्ञान दिन्छ।यी दुवै पर्व मनुष्य, प्रकृति र प्रविधिबीचको आदर्श समन्वयका सांस्कृतिक कक्षाहरू हुन्।नेपालको आधुनिक यातायात इन्जिनियरिङमा पनि यही आवश्यक छ जसले योजना, प्रविधि र निर्माण प्रक्रियामा प्रकृतिसँग सहकार्य गर्ने, समुदायलाई सम्मान गर्ने र उत्पादन तथा जीवनशैलीलाई सहज बनाउने काम गर्छ।यदि विकासले पर्वहरूको दर्शन आत्मसात गर्‍यो भने भविष्यको नेपाल भौतिक पूर्वाधारमा बलियो हुनुका साथै समग्र जीवनशैली नै सन्तुलित, समृद्ध र पर्यावरणमैत्री बन्छ।यसरी हेर्दा उधौली र धान्य पूर्णिमा सांस्कृतिक परम्परा मात्र नभई नेपालको भविष्य निर्माणका मार्गदर्शक दार्शनिक आधारस्तम्भ समेत हुन् ।


धेरै पढिएको