‘खजुरीको पफ’ बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश, ट्रान्स फ्याट मात्रा अत्यधिक
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालि’ले उत्पादन गरेको ‘पफ’ नामक खाद्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने औद्योगिक ट्रान्स फ्याट को मात्रा अत्यधिक भेटिएपछि उक्त उत्पादन बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ।
खाद्य विभागले बजार अनुगमनका क्रममा संकलित नमुनाको प्रयोगशाला परीक्षण गर्दा ट्रान्स फ्याटको मात्रा कानुनले तोकेको अधिकतम सीमा (२% भन्दा बढी) भेटिएको जनाएको छ। उक्त मापदण्ड नपुगेपछि विभागले यसलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ को श्रेणीमा राखेको हो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार कुनै पनि खाद्य पदार्थमा ट्रान्स फ्याट २ प्रतिशतभन्दा बढी हुन पाइँदैन।
परीक्षण रिपोर्टले खजुरीको पफमा यो मात्रा कानुनी सीमा नाघेको देखाएपछि विभागले उद्योगलाई कडा चेतावनीसहित फिर्ता प्रक्रिया सुरू गर्न आदेश दिएको हो।
विभागका अधिकारीका अनुसार अत्यधिक ट्रान्स फ्याटयुक्त खाद्य पदार्थले हृदयघात, उच्च रक्तचाप, कोलेस्ट्रोल वृद्धि लगायत दीर्घरोगको जोखिम बढाउन सक्छ। त्यसैले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि तुरुन्त कदम चालिएको विभागले स्पष्ट गरेको छ।
विभागले ललितपुर, गोदावरी–१० मा रहेको उद्योगबाट उत्पादन भएका निम्न दुई ब्याचका पफ–ब्याच नं. B 1 Three A ब्याच नं. B 1 Five A लाई तुरुन्त बजारबाट फिर्ता गर्न, थप बिक्री वितरण पनि निर्देशन दिएको छ। उक्त निर्देशन खाद्य ऐनको दफा ३८(२) र ३८(४) बमोजिम जारी गरिएको विभागले जनाएको छ। विभागले सम्बन्धित ब्याचका उत्पादन किनिसकेका उपभोक्तालाई सेवन नगर्न र बजार तथा उद्योगमा रहेका सबै स्टक तुरुन्त हटाउन आग्रह गरेको छ। खाद्य विभागले आगामी दिनमा पनि खाद्य सुरक्षा उल्लङ्घनविरुद्ध कडा अनुगमन र कानुनी कारबाही गरिने चेतावनी दिएको छ।


नयाँ पोस्ट

प्रतिक्रिया दिनुहोस