Image description

काठमाडौँको शंखरापुर नगरपालिकाले साँखुस्थित सालीनदी मेलामा बजार अनुगमन गरेको छ । शुक्रवार नगरप्रमुख रमेश नापितको नेतृत्वमा दर्जन बढी खाद्य सामग्री पसलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा तीर्थयात्रीका लागि लक्षित गरेर सञ्चालन गरिएका होटलहरुले मूल्य सूची राखे–नराखेको, खाद्य बस्तु सफा, स्वच्छ भए नभएको, मूल्य दर उपयुक्त भए नभएको, पार्किङमा बढी शुल्क लिए, नलिएको, यात्रुबहाक बसले यात्रीले देख्ने ठाउँमा भाडा दर राखे–नराखेको लगायतका बारेमा अनुगमन गरिएको हो । 
सो क्रममा नगरप्रमुख रमेश नापितको नेतृत्वमा उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, अधिकृतहरू सुभद्रा पुडासैनी, राममणि ढकाल, सीतादेवी गुरागाईँ, अर्जुनप्रसाद चौलागाई, नगर प्रहरी प्रमुख आङकाजी शेर्पा लगायतको टोलीले बजार अनुगमन गरिएको हो । 


बजार अनुगमनका क्रममा नगरप्रमुख रमेश नापितले सालीनदी मेला क्षेत्रभित्र सञ्चालनमा रहेका होटेल लगायत खाद्य सामग्री बिक्रेताहरूले नियम अनुसार मूल्य सूची राखेको पाइएको जानकारी दिनुभयो । सो क्रममा मेयर नापितले भन्नुभयो–‘हामीले सालीनदी मेला सुरु हुनुभन्दा पहिलेदेखि नै यसको व्यवस्थापनको काम गरेका थियौँ । आज हामीले यहाँ आउनुभएका भक्तजनहरूले ताजा खानेकुरा खान पाएका छन् कि छैनन्,  सरसफाई अवस्था के छ, मूल्य सूची राखिएको छ कि छैन भन्ने कुरा हेरिरहेका छौँ । आज हामी मेला क्षेत्रमा रहेको सबैजसो पसलमा गयौँ । त्यहाँ आएका भक्तजनहरूले कुनै गुनासो गर्नुभएको छैन, उहाँहरुपनि सन्तुष्ट रहेको पायौँ ।’
मेयर नापितले सालीनदी मेलामा देश विदेशबाट आउने भक्तजनहरूलाई ऐतिहासिक साँखु बजार, बज्रयोगिनी, मणिच्यूड, नारायणेश्वर, सलम्बुदेवि मन्दिर लगायतका क्षेत्रहरूको पनि भ्रमण गर्न आग्रह गर्नुभयो । 
अनुगमनका क्रममा तोकिएको मूल्य सूची भन्दा बढी पार्किङ शुल्क लिने, सार्वजनिक बसमा ढोकामा यात्रीले देख्ने गरी भाडा दर नराख्ने बस सञ्चालकलाई कारबाहीको चेतावनी समेत दिइएको छ । 
सालीनदी मेलामा आउने भक्तजनहरु नठयिउन, सहज रुपमा सालीनदीको दर्शन गर्ने वातावरण मिलाउन नगरपालिका प्रतिबद्ध रहेको मेयर नापितले बताउनुभयो ।