Image description


 
शंखरापुर नगरपालिका प्रमुख रमेश नापितले निर्माणाधीन शंखरापुर नगरपालिका भवनको ब्लक सी को अन्तिम ढलान कार्यको स्थलगत अनुगमन गरेका छन् । सोमबार शंखरापुर नगरपालिका साँखुमा निर्माण भइरहेको भवनको ढलान कार्यको स्थलगत अनुगमन गर्दै गुणस्तरीय ढंगले समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् । 


आरोग्य कन्स्ट्रक्सनका निर्देशक निर्माण व्यवसायी चुडामणी घिमिरेलाई गुणस्तरीय ढंगले निर्धारित समयमै काम सक्न निर्देशन दिएका छन् । नगरपालिका भवनको ब्लक सी को अन्तिम ढलान कार्यको अनुगमन गर्दैै मेयर नापितले भने–‘हामी निर्वाचित भएर आउँदा नगरपालिका भवन निर्माणको काम अलपत्र अवस्थामा थियो । उहाँ निर्माण व्यवसायीहरुले काम गर्न केही ढिलाई पनि गर्नुभयो तर पछिल्लो समयमा उहाँहरुले छिटो काम गरिरहनु भएको छ, त्यसमा म सन्तुष्ट छु । गुणस्तीय ढंगले  समयमा निर्माण कार्य सम्पन्न गर्न उहाँहरुलाई मैले भनिरहेको छु ।’


मेयर नापितको निर्देशन पछि निर्माण व्यवसायी घिमिरेले समयमै गुणस्तरीय ढंगले काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । 
उनले भने–‘ढलान सकेको एकहप्तापछि सभाहलको लागि टस्ट्र निर्माणको काम सुरु गर्छौँ । त्यसपछि अर्को ब्लकको दुई तला उठाउँने काम गर्छौँ । काम सम्पन्न भएको भवनको भित्रको इन्टेरियर डिजाइनको पनि काम थाल्छौँ । भवनको जुन जुन भागमा जे जे काम गर्न सकिन्छ समानान्तर ढंगले काम सम्पन्न गरेर आगामी असारसम्म यो भवन यहाँहरुलाई हस्तान्तरण गर्नेछौँ ।’
सोमबार निर्माण व्यवसायीले भवनको मुख्य भाग ब्लक सी को अन्तिम ढलान कार्य सम्पन्न गरेको छ । सो को अनुगमनका लागि नगरप्रमुख नापित, नगरप्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङ्ग, नगरपालिकाका योजना अधिकृत राममणी ढकाल, प्राविधिक इन्जिनियर नवीन केसी लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
सुवेदी जोइन्ट भेन्चर निर्माण व्यवसायीले आगामी असार मसान्तसम्म सो भवनको निर्माण कार्य सम्पन्न गर्नेगरी काम गरिरहेको छ ।