Image description

काठमाडौंको शंखरापुर नगरपालिकाले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालनको तयारी गरेको छ । मंसिरको पहिलो सातादेखि तयारी कक्षा सुरु गर्ने नगरपालिकाकी सूचना अधिकारी सुभद्रा पुडासैनीले जानकारी दिइन । हालसम्म ४० जना भन्दा बढी बिदार्थीहरुले तयारी कक्षामा सहभागी हुनका लागि निवेदन दिएका छन् । 

पहिलोपटक कार्तिक १७ गतेसम्मका लागि सूचना निकालिएको थियो । त्यो बेलासम्म ४० जनाले आवेदन दिएका थिए । बिद्यार्थी संख्या बढाउन दोश्रो पटक सूचना निकालिएको छ  । झन्डै १ सय जना बिद्यार्थीलाई कक्षा दिने तयारी गरिएको सूचना अधिकारी पुडासैनीले जानकारी दिइन । 
कुनै संस्थामार्फत अनुभवी प्रशिक्षक मार्फत तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइन । २ महिनासम्म झन्डै ५० वटा तयारी कक्षा लिने लक्ष्य लिइएको छ ।
नगरप्रमुख रमेश नापितले आफूले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नगरपालिकालाई शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा अगाडि बढाउनका लागि विभिन्न कार्यक्रमहरु थालिएझै लोकसेवा आयोगको परीक्षाको तयारी कक्षा सुरु गर्न लागिएको बताएका छन् । उनले यस्ता कक्षा सञ्चालनबाट यस नगरपालिकाबाट पनि सरकारी कर्मचारी उत्पादन हुने विश्वास लिईएको बताएका छन् । 
नगरपालिकाको यो कार्यक्रम सञ्चालन गर्न लागेपछि स्थानीय बिद्यार्थीहरुले खुसी ब्यक्त गरेका छन् । नगरपालिकाले सुरु गरेको तयारी कक्षाका लागि आवेदन दिन आएका दीपा स्याङतान, दीपा खतिवडा, निर्मला घ्लान लगायतका विद्यार्थीहरुले खुसी ब्यक्त गर्दै नगरपालिकालाई यस्तो कार्यक्रम सञ्चालन गर्न लागेकोमा धन्यवाद दिएका छन् ।