Image description

असार ३०, सिन्धुपाल्चोक । 
मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा रहेको सूर्यमुखी साना किसान कृषि सहकारी संस्थाको तालिम हल र बैठक कक्ष निर्माण सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको ६० प्रतिशत रकम अनुदान र सहकारी संस्थाको ४० प्रतिशत रकम लगानीमा भवनको माथिल्लो तलामा रहेनगरी तालिम हल र बैठक कक्ष निर्माण गरिएको हो । झन्डै १ सय जना मानिस अट्ने तालिम हल र झन्डै ३५ जना अट्ने बैठक कक्ष निर्माण सम्पन्न भएको संस्थाका अध्यक्ष मित्रलाल चौलागाँईले जानकारी दिए । यसअघि संस्थाका तालिम कार्यक्रमहरु सञ्चालन तथा बैठक बस्नका लागि समस्या पर्दै आएकोमा अव सहज हुने उनले बताए ।   
चौलागाईले भने–‘सहकारी भवनमा किसानहरुलाई प्रशिक्षण दिने, तालिम दिने कार्यक्रमहरु गर्न र बैठकहरु संचालन गर्न अप्ठेरो थियो । सभाहल र बैठक कोठाको अत्यन्तै आवश्यक भएकोले यहि चालु आर्थिक बर्ष २०७९/०८० मा  मेलम्ची नगरपालिकासँग समन्वय गरि नगरपालिका र सुर्यमुखीबीचको ६०/४० प्रतिशतको साझेदारिमा भवनको खाली रहेको छतमा ट्रस निर्माण गरि भर्खरै एक सभाहल र बैठक कोठा निर्माण गर्ने काम सम्पन्न भएको छ । अव कृषि तथा पशुपालन सम्बन्धी विभिन्न विषय विज्ञहरु तथा प्राविधिकहरु ल्याई कृषकहरुलाई तालिम तथा प्रशिक्षण दिने काम गर्न सहज हुने भएको छ ।’
सहकारी सस्थामा कार्यरत कर्मचारी, सन्चालक समिति तथा विभिन्न उपसमितिहरुलाई क्षमता विकास तालिम पनि सोही हलमा गर्न सकिने उनले बताए । 


२०५६ सालमा ६६ जना कृषक सदस्य र २ लाख ३५ हजार पुँजीबाट सुर्यमुखी कृषक बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड सुरु गरिएको थियो । २०६७  सालमा साना किसान बिकास बैंकमा आबद्ध भइ सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको नामबाट यो संस्था स्थानीय कृषकहरुसँग हातेमालो गर्दै अघि बढिरहेको छ । यस सस्थाले खासगरी कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय कार्यहरु गर्दै आइरहेको छ । 
सुरुको अवस्थामा भाडाको घरमा कार्यालय राखेर आर्थिक कारोबार र सहकारी सुपथ मुल्य पसल सन्चालन गरिएको थियो । २०७२ सालमा बिनाशकारी भुकम्पपछि सस्था संचालन गर्न गाह्रो अवस्थामा पुगेको थियो । विभिन्न सम्पर्क समन्वयमा गर्ने क्रममा जापानी स्वंयसेवी संस्था जाइका नेपालद्वारा १ करोड ५० लाख रुपैयाँ लागतमा २ तले नयाँ भवन निर्माण गर्ने योजना अघि बढी २०७४ साल साउनमा उक्त भवन संस्थालाइ हस्तान्तरण भएको थियो । हाल यसै भवनबाट सहकारीले सेवा दिँदै आइरहेको छ । 
यस भवनबाट हाल सुर्यमुखी सहकारी एग्रोभेट पसल, भेटेनरी पसल सन्चालन भइरहेको छ । कृषकहरुका लागि पशु बिमा कार्यक्रम, पशु आहार, ढुटो, पिठो, चोकर, मकै, पिना, रासायनिक मल आदि बिक्रीका लागि सुपथ मूल्य पसल सञ्चालन भइरहेको छ । 
हाल यस  सस्थामा ४ हजार २ सय जना शेयर सदस्य आवद्ध रहेका छन् । संस्थाबाट झन्डै ५ हजार ५ सय पशुहरुको बिमा गरिएको छ । संस्थाले विभिन्न रेमिटेन्स सेवा, एग्रोभेट तथा भेटेनरी पसल, चिलिङ भ्याट सन्चालन लगायतका विभिन्न कामहरु पनि गर्र्दै आइरहेको छ ।