Image description

मेलम्ची नगरप्रमुख आइतमान तामाङले सूर्यमुखी साना किसान कृषि सहकारी संस्था मेलम्ची नगरपालिका भरीका सहकारीहरू मध्ये सर्वोत्कृष्ट सहकारी रहेको बताएका छन् । 
बिहीबार मेलम्ची नगरपालिका वडा नम्बर  ५ मा सूर्यमुखी साना किसान कृषि सहकारी संस्थाले गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथि रहेका नगरप्रमुख तामाङले सूर्यमुखी सहकारी संस्था  पहिलेदेखि नै राम्रो सहकारी संस्थाको रूपमा नगरपालिका चिनिएको बताए । उनले सहकारीलाई बलियो बनाउनका लागि संस्थाका शेयर सदस्यले आफूले लिएको कर्जाको समयमै ब्याज किस्ता तिर्नुपर्ने बताए । उनले कसरी प्रभावकारी रूपमा सहकारीको सञ्चालक गर्ने बारेमा आफ्ना अनुभवहरूको जानकारी गराए । 
मेलम्ची नगरपालिकाका अधिकांश जनता कृषक भएकाले कृषि क्षेत्रको विकासका लागि नयाँ योजना बनाएर नगरपालिका अगाडि बढिरहेको जानकारी दिए । कृषि क्षेत्रको विकासका लागि सहकारीले पनि कार्यक्रम बनाएर अगाडि बढेमा नगरपालिकाले आवश्यक बजेट उपलब्ध गराउने नगरप्रमुख तामाङले प्रतिबद्धता व्यक्त गरे  ।


कार्यक्रमका अर्का अतिथि मेलम्ची नगरपालिकाकी पूर्व उपमेयर भगवती नेपालले राम्रो र सफल सहकारी सञ्चालन गर्नका लागि सञ्चालक समिति र कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरिन । उनले सूर्यमुखी सहकारीमा कुशल र सक्षम सञ्चालक र कर्मचारी रहेको भन्दै सेवालाई थप विस्तार र प्रभावकारी बनाउन सुझाव दिइन । उनले सहकारीको सदस्य बनेपछि  नियमित बचत गर्नुपर्ने र लिएको ऋण अनिवार्य तिर्नुपर्ने उल्लेख गरिन ।
संस्थाका अध्यक्ष मित्रलाल चौलागाईंको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष चौलागाँईले संस्थामा भएको सम्पूर्ण कार्यक्रम तथा गतिविधि र संस्थाका आगामी कार्यक्रमहरू सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका  कोषाध्यक्ष गोविन्दप्रसाद चौलागाईंबाट आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका सदस्य  जीवनमणि सिग्देलबाट लेखा प्रतिवेदन र संस्थाका प्रबन्धक गोविन्द नेपालबाट आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो ।


आजको साधारण सभा कार्यक्रममा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ प्रमुख अतिथि , पूर्व उपमेयर भगवती नेपाल, वडा नम्बर ५  का अध्यक्ष तथा सदस्य, मेलम्ची नगरपालिकाका कार्यपालिका सदस्य, सहकारी संस्थाका प्रतिनिधि, शिक्षाविद्, समाजसेवीहरूको आतिथ्य रहेको थियो । 
मेलम्ची नगरपालिकाको ६ वटा वडा कार्यक्षेत्र रहेको सूर्यमुखीमा ३ हजार १३  शेयर सदस्य रहेका छन् । यो वर्ष संस्थाले ४ दिन ४ ठाउँमा साधारण सभा गर्ने निर्णय गरेकोमा दोस्रो दिन आज पुस १९  गते  सिन्धुकोटको भदौरेमा साधारण सभा सम्पन्न गरेको हो ।