Image description

सिन्धुपाल्चोकको मेलम्ची १,भोटेचौरमा मुख्य कार्यालय रहेको सूर्यमुखी साना किसान कृषि सहकारी सस्था लिमिटेडको आर्थिक वर्ष २०७९/०८० को वार्षिक साधारण सभा सुरु भएको छ । यो वर्ष संस्थाले ४ दिन ४ ठाउँमा साधारण सभा गर्ने निर्णय गरेकोमा पहिलो दिन पुस १५ गते आज काठमाडौँ बसोबास गरिरहेका सदस्यहरूका लागि काठमाडौँको नारायणटार स्थित छिमेकी पार्टी प्यालेसमा पहिलो साधारण सभा सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष मित्रलाल चौलागाईंको सभापतित्वमा भएको साधारण सभामा राष्ट्रिय सहकारी महासङ्घका पूर्व अध्यक्ष केशव बडालको प्रमुख आतिथ्य रहेको थियो । यस्तै मेलम्ची नगरपालिका वडा नम्बर २ र ३ का वडा अध्यक्ष तथा सदस्य , सहकारी संस्थाका प्रतिनिधि, शिक्षाविद्, समाजसेवीहरुको आतिथ्य रहेको थियो । 


कार्यक्रममा संस्थाका अध्यक्ष मित्रलाल चौलागाईंले संस्थामा भएको सम्पूर्ण कार्यक्रम तथा गतिविधि प्रस्तुत गर्दै संस्थाका आगामी कार्यक्रम सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका  कोषाध्यक्ष गोविन्दप्रसाद चौलागाईंले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक कमलमणी खनालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको सहायक प्रबन्धक बिना पोखरेलबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/ ०८० को लेखा परीक्षण प्रतिवेदन साधारण सभामा पारित गरिएको थियो ।
सो अवसरमा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष एवं कार्यक्रमका सभापति मित्रलाल चौलागाईंले अहिलेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभयो । अवैध रूपमा भारतबाट दूध नेपाल भित्री रहँदा समेत सरकारले बेवास्ता गरिरहेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । नेपालमै उत्पादन हुने तरकारी, दूध, मासु लगायतका वस्तुहरूले बजार नपाउने तर बाहिरी मुलुकबाट धमाधम कृषिजन्य सामाग्री आयात गर्नुले स्वदेशी किसानहरू ठुलो समस्यामा परेको बताउनुभयो । 
उहाँले किसानले व्यावसायिक रूपमा उत्पादन गरेका बस्तुले बजार नपाएर फाल्नुपर्ने स्थितिको अन्त्यका लागी सरकारले किसान लक्षित नीति अगाल्नुपर्नेेमा जोड दिनुभयो ।  


अध्यक्ष चौलागाईंले हाल नेपालभरिका सहकारीहरू बदनाम भइरहेका बेला सूर्यमुखीले भने झन् विश्वसनीय रूपमा आफ्ना सदस्यहरूको हितमा काम गरिरहेको बताउँदै यसप्रति संस्थाका सदस्यहरूले गौरव गर्नुपर्ने बताउनुभयो । सहकारीले आफ्ना सदस्यहरूलाई अझै धेरै सेवा र सुविधा दिने गरी नयाँ नीति तथा योजनाहरू बनाइरहेको जानकारी समेत दिनुभयो । 
कार्यक्रममा सिन्धु–भोटेचौर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमकान्त चौलागाईंले अहिले सहकारीको कहालीलाग्दो रहेको बताउँदै त्यो अवस्थाबाट माथि उकास्नका लागी सरकारको ध्यानाकर्षणका गराइदिन कार्यक्रमका प्रमुख अतिथि केशव बडाललाई आग्रह गर्नुभयो  । उहाँले नितिनिर्माण गर्ने ठाउँमा बस्नेले कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समाजसेवी मुस्कान पौडेलले सूर्यमुखी सहकारी सिन्धुपाल्चोकका मात्रै नभई देशकै उत्कृष्ट कृषि सहकारीको रूपमा अघि बढिरहेको बताउनुभयो । 


सो अवसरमा प्रमुख अतिथि रहेका पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्व अध्यक्ष केशव बडालले नेपाल तथा विश्वका सहकारीको अवस्थाको बारेमा कुरा राख्नुभयो । सहकारीको सात सिद्धान्त सहकारीहरूले पालना नगरेका कारण नेपालका  सहकारीमा समस्या आएको बताउनुभयो । नेपालमा रहेका ३० हजार सहकारी संस्था मध्ये झन्डै ५ सय जति सहकारी संस्थाको अवस्था खराब रहेको बताउनुभयो । सो अवसरमा प्रमुख अतिथि बडालले आफ्नो पुस्तक ‘भूमि र कृर्षिको अर्थ राजनीति’ पुस्तक उपहार समेत दिनुभयो । 
सहकारीले अब पुस १९ गते सिन्धूकोट भदौरे, पुस २० गते हैबुङ डाँडा र पुस २१ गते भोटेचौर बजारमा साधारण सभा गर्दै छ ।  
मेलम्ची नगरपालिकाको ६ वटा वडा कार्यक्षेत्र रहेको सूर्यमुखी सहकारीमा ३ हजार १३ शेयर सदस्य रहेका छन् ।