नेपाल विद्युत् प्राधिकरणको तीन महिनामा ९ अर्ब नाफा
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करकट्टी गर्नुअघि ९ अर्ब ११ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। चालु आवको साउनदेखि असोज मसान्तसम्म प्राधिकरणको कुल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ, जसमा ब्याज र अन्य स्रोतबाट आर्जित आम्दानी पनि समावेश छ। सोही अवधिमा प्राधिकरणको कुल खर्च ३२ अर्ब ६९ करोड ३६ लाख पुगेको छ।
वितरण केन्द्रमार्फत विद्युत् बिक्रीबाट २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रुपैयाँ आम्दानी भएकोमा २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार संकलन गरिएको छ। प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख युनिट र निजी उत्पादक कम्पनीबाट ३ अर्ब २२ करोड ९५ लाख युनिट विद्युत् खरिद गरी कूल ४ अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ। त्यसका लागि २१ अर्ब ९ करोड १७ लाख रुपैयाँ भुक्तानी गरिएको छ।
साउनदेखि असोज मसान्तसम्म भारतबाट विद्युत् आयात गर्नुपरेको छैन। यद्यपि, असोज दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यातमा कमी आएको थियो। यस अवधिमा भारततर्फ १ अर्ब ४० करोड ६१ लाख युनिट विद्युत् निर्यात गरी १० अर्ब ८८ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको छ।
विभिन्न आयोजना र विद्युतीकरणका लागि नेपाल सरकार र वैदेशिक सहयोगमार्फत १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार रुपैयाँ खर्च भएको छ। यसमा प्राधिकरणले आफ्नै स्रोतबाट १० अर्ब ८८ करोड ३८ लाख १० हजार रुपैयाँ खर्च गरेको छ भने वैदेशिक भुक्तानीतर्फ ६ अर्ब पाँच करोड ५३ लाख १७ हजार रुपैयाँ खर्चिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार नियमित सञ्चालन र योजनाबद्ध लक्ष्य हासिल गर्दै प्राधिकरणले आर्थिक वृद्धि कायम राख्न सफल भएको छ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस