नेपाल दालमोठ उत्पादक संघको २१औं वार्षिक उत्सव श्रावण ५ गते काठमाडौंमा आयोजना हुने
काठमाडौं, श्रावण १ – नेपालभर छरिएर रहेका दालमोठ उत्पादनमा संलग्न साना–ठूला उद्योगी तथा व्यवसायीहरूको साझा संस्था नेपाल दालमोठ उत्पादक संघले आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
संघका अनुसार वार्षिक उत्सव आगामी यही श्रावण ५ गते, सोमबार काठमाडौंको मध्यबानेश्वरमा मनाउँन लागिएको हो । कार्यक्रम दिउँसो ४ बजेबाट सुरु हुने जनाइएको छ ।
संघको हालै सम्पन्न सञ्चालक समितिको बैठकले संघको स्थापनाको ऐतिहासिक यात्रालाई स्मरण गर्दै विगत दुई दशकको उपलब्धि, चुनौती र भविष्यको सम्भावनाबारे समीक्षा गर्ने उद्देश्यले वार्षिक उत्सवलाई भव्य र अर्थपूर्ण बनाउने निर्णय गरेको संघका सचिव भूवन श्रेष्ठले नयाँ पोष्ट डटकमलाई जानकारी दिनुभयो ।
दालमोठ व्यवसाय नेपालको मौलिक परिकार संस्कृति मात्र होइन, देशको आन्तरिक उत्पादन, रोजगारी सिर्जना र निर्यात व्यवसायमा महत्वपूर्ण योगदान दिने क्षेत्रका रूपमा स्थापित हुँदै आएको छ। घरेलु स्तरका साना उद्योगदेखि ठूला उद्योगसम्म फैलिएर देशभर हजारौं नागरिकलाई स्वरोजगार र रोजगारी प्रदान गर्दै आएको दालमोठ व्यवसायले स्थानीय कृषि उत्पादनको उपयोग, खाद्य सुरक्षाको प्रवर्द्धन तथा आन्तरिक बजार सुदृढीकरणमा समेत उल्लेखनीय भूमिका खेलेको छ।
संघले भनेको छ, ‘यो वार्षिक उत्सव केवल उत्सव मात्र होइन, दालमोठ उद्योगको समग्र मूल्यांकन, व्यवसाय प्रवर्द्धन र व्यवसायीहरूबीच आपसी सम्बन्ध सुदृढीकरणको अवसर पनि हो ।’
साथै, संघले सम्पूर्ण दालमोठ उत्पादक व्यवसायीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल पार्न हार्दिक निमन्त्रण गरेको छ। स्थापनाको दुई दशक पार गरेको संघले दालमोठ व्यवसायमार्फत नेपाली अर्थतन्त्रमा पुर्याएको योगदानको स्मरण गर्दै उत्सव मनाउन लागिएको हो ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस