मेलम्चीमा विद्युतीय भ्यान सेवा सुरु, नगरप्रमुख आइतमान तामाङद्धारा उद्घाटन

नयाँ पोस्ट
४ भदौ २०८२, बुधबार

श्री जय पाल्चोकी यातायात प्रा.लिले मेलम्चीमा विद्युतीय भ्यान (इभी भ्यान) सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले विशेष समारोहका बीच सेवाको उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा नगरप्रमुख तामाङले वातावरणमैत्री, आधुनिक र कम खर्चिलो यस सेवाले स्थानीयलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कम्पनीले नाफासँगै सेवामूलक दृष्टिकोणलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै,

नगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो।

सो अवसरमा उपप्रमुख उमा प्रधान, समाजसेवी बालकृष्ण देउजा र वडा नं. ११ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले इभी सवारीसाधनले इन्धन खपत घटाउने, जलविद्युतको उपयोग बढाउने र वातावरणीय प्रदूषण न्यूनीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले यस्ता नवीन पहलहरूले रोजगारी र अवसर सिर्जना गर्ने भन्दै सेवा पारदर्शी र यात्रुमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।

अस्थायी ट्राफिक प्रहरी पोस्ट मेलम्चीका हवल्दार विनोदकुमार गिरीले यात्रु तथा चालकहरूलाई ट्राफिक नियमको पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गर्नुभयो। सोकुन प्राविधिक राममणी सिग्देलले इभी भ्यानमा न्यून मर्मत खर्च, कम सञ्चालन लागत, न्यून ध्वनि प्रदूषण रहने र छोटो दूरीका लागि उत्कृष्ट क्षमता भएको जानकारी दिनुभयो।

श्री जय पाल्चोकी यातायात प्रा.लिका अध्यक्ष राजन दुलालका अनुसार हाल मेलम्ची–काठमाडौंबीच नियमित सेवा सञ्चालनमा आएको छ। निकट भविष्यमा हेलम्बु, पाँचपोखरी, इन्द्रावती, मण्डन देउपुर र शंकरापुर नगरपालिकासम्म सेवा विस्तार गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।

कम्पनीले इभी भ्यान सेवाको सुरुआतसँगै मेलम्ची र आसपासका बासिन्दालाई सहज, सुरक्षित र वातावरणमैत्री यातायात सुविधा प्रदान हुने विश्वास लिएको छ।


धेरै पढिएको