आगामी आर्थिक वर्षका लागि शंखरापुर नगरपालिकामा १ अर्ब ५१ करोडको बजेट पारित

नयाँ पोस्ट
९ असार २०८३, मंगलबार

असार ९, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ५१ करोड १० लाख ५८ हजार रुपैयाँको बजेट पारित गरेको छ । मंगलबार साँखुस्थित देवी फरेष्ट रिसोर्टमा सम्पन्न १२ औँ नगरसभाले उक्त बजेट सर्वसम्मत रूपमा पारित गरेको हो ।
नगरसभाले प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ ६७ करोड ६२ लाख २७ हजार ४८ रुपैयाँ अर्थात ४४ दशमलव ७० प्रतिशत र पुँजीगततर्फ ८३ करोड २३ लाख ५६ हजार २ सय ५२ रुपैयाँ अर्थात ५५ दशमलव ३० प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ लाख रुपैयाँ अर्थात ० दशमलव १६ प्रतिशत बजेट छुट्याइएको छ ।


बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३५ करोड ५० लाख १९ हजार ६० रुपैयाँ, राजस्व बाँडफाँडबाट २५ करोड ६६ लाख १४ हजार २ सय ४० रुपैयाँ, संघीय सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ३६ करोड १७ लाख रुपैयाँ, प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ५६ लाख ७७ हजार रुपैयाँ तथा सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमका लागि १३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
पारित बजेटअनुसार नगरपालिकाका ९ वटा वडाका लागि वडागत योजना सञ्चालन गर्न प्रति वडा ५० लाख रुपैयाँ र वडा नं. १ लाई ६० लाख रुपैयाँका दरले कुल ४ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । साथै वडा कार्यालयहरूको सिफारिसका आधारमा प्रत्येक वडालाई १ करोड रुपैयाँका दरले थप ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


नगरवासीको आवश्यकता र प्राथमिकताका आधारमा छनोट गरिएका नगरस्तरीय पूर्वाधार विकास योजनाका लागि ५ करोड रुपैयाँ व्यवस्था गरिएको छ । यस्तै साना तथा मझौला योजनाहरू वडा कार्यालयको सिफारिसमा सञ्चालन गरिने, मर्मत सम्भार कोष, विपद् व्यवस्थापन कोष तथा प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण र पुनःस्थापनाका कार्यक्रमका लागि समेत बजेट विनियोजन गरिएको नगरप्रमुख रमेश नापितले जानकारी दिनुभयो ।
नगरसभामा प्रस्तुत बजेटले पूर्वाधार विकास, पर्यटन र कृषि विकास, सेवा प्रवाह सुधार, सामाजिक सुरक्षा तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको मेयर नापितले बताउँनुभयो । उहाँले सौहार्दरुपमा नगरसभा सम्पन्न गरी समससीमाभित्रै बजेट ल्याउन सफल भएकोमा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख रमेश नापितले आगामी आर्थिक बर्षका लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख समिता श्रेष्ठले आर्थिक विधेयक प्रस्तुत गर्नुभएको थियो । नगरसभामा प्रस्तुत भएका बिधेयक तथा अन्य प्रतिवेदनहरु सर्वसम्मतीले पारित भएको छ ।


धेरै पढिएको