हिसानबाट नेपाल टपर कुशल दंगाल सम्मानित, उत्कृष्ट कलेजका रूपमा सेन्ट लरेन्स पनि पुरस्कृत
काठमाडौं, साउन १५
कक्षा १२ को परीक्षा २०८२ मा विज्ञान संकायमा ३.९६ जीपीए प्राप्त गर्दै नेपाल टपर बनेका सेन्ट लरेन्स कलेजका विद्यार्थी कुशल दंगाल हिसान काठमाडौंबाट सम्मानित भएका छन्। सोही अवसरमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गराएको योगदानको कदर गर्दै सेन्ट लरेन्स कलेजलाई पनि उत्कृष्ट कलेजका रूपमा सम्मान गरिएको छ।

हिसान काठमाडौंद्वारा आयोजित विशेष सम्मान समारोहमा प्रमुख अतिथि तथा हिसानका पूर्वअध्यक्ष एवं पूर्व राज्यमन्त्री उमेश श्रेष्ठले कुशल दंगाललाई सम्मानपत्र प्रदान गर्दै उनको उत्कृष्ट उपलब्धिको प्रशंसा गरे। कार्यक्रममा सेन्ट लरेन्स कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई उत्कृष्ट कलेजको सम्मानपत्र हस्तान्तरण गरिएको थियो।
कुशल दंगालले विद्यालय शिक्षादेखि नै निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन्। उनले एसईईमा ३.९१ जीपीए, कक्षा ११ मा ३.९२ जीपीए र कक्षा १२ मा ३.९६ जीपीए प्राप्त गर्दै निरन्तर उत्कृष्ट शैक्षिक प्रदर्शन गरेका छन्। उनको यो उपलब्धिले व्यक्तिगत सफलतासँगै सेन्ट लरेन्स कलेजको शैक्षिक उत्कृष्टतालाई समेत थप उचाइमा पुर्याएको छ।
हिसान काठमाडौंले यस वर्ष कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेखनीय सफलता हासिल गरेका शैक्षिक संस्थाहरूलाई सम्मान गरेको हो। सो क्रममा सेन्ट लरेन्स कलेजको शैक्षिक गुणस्तर, अनुशासित अध्ययन वातावरण तथा निरन्तर उत्कृष्ट नतिजाको उच्च मूल्यांकन गर्दै उत्कृष्ट कलेजको सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्मान समारोहमा हिसानका केन्द्रीय अध्यक्ष अध्यक्ष युवराज शर्मा, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उत्कृष्ट विद्यार्थी र शैक्षिक संस्थालाई सम्मान गर्दै गुणस्तरीय शिक्षाप्रति थप प्रेरणा र उत्साह प्रदान गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।


नयाँ पोस्ट

प्रतिक्रिया दिनुहोस