मधेशको विकासका लागि सबै समुदाय एकजुट हुन सांसद अमरेश सिंहको आह्वान

नयाँ पोस्ट
१४ साउन २०८३, बिहिवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह ले मधेशको समुन्नत विकासका लागि सबै वर्ग र समुदाय एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमार्फत जारी गरेको अपिलमा उनले पटक–पटक भएका आन्दोलन, जातीय तथा धार्मिक हिंसाले मधेशलाई करिब एक दशक पछाडि धकेलेको उल्लेख गरेका छन्।

उनका अनुसार हिंसात्मक गतिविधिका कारण भौतिक पूर्वाधारमा क्षति पुगेको, शैक्षिक सत्र प्रभावित भएको तथा व्यापार–व्यवसाय ठप्प हुनेजस्ता नकारात्मक असर परेका छन्। यस्ता घटनाले समग्र मधेशको विकास यात्रामै ठूलो धक्का पुगेको उनको भनाइ छ।

“अब समय आएको छ, सबै वर्ग र समुदाय मिलेर मधेशको विकासको एजेन्डालाई अगाडि सार्दै अघि बढौँ,” सिंहले अपिलमा उल्लेख गरेका छन्।

उनले अबको मधेशले हिंसात्मक गतिविधि त्यागेर शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा युवाको रोजगारी सिर्जनालाई प्राथमिकतामा राखी दीर्घकालीन विकासतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

सिंहले समाजमा शान्ति र सद्भाव बिगार्ने उद्देश्य राख्ने कुनै पनि असामाजिक तत्त्वको प्रभावमा नपर्न मधेशवासीसँग आग्रह गरेका छन्। शान्ति विरोधी तत्त्व जुनसुकै समुदाय वा वर्गका भए पनि उनीहरू मधेशको विकासका बाधक भएको उल्लेख गर्दै त्यस्ता व्यक्तिलाई सामाजिक रूपमा बहिष्कार गर्नुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन्।