दुई महिनापछि भारततर्फ नेपाली चिया निर्यात सहज, उद्योगीमा राहत
काठमाडौं, १८ असार – करिब दुई महिनादेखि प्रशासनिक तथा प्राविधिक अवरोधका कारण प्रभावित नेपाली चियाको भारततर्फ निर्यात पुनः सहज बनेको छ। काँकडभिट्टा नाका हुँदै नेपाली चिया बोकेका ट्रकहरू नियमित रूपमा भारत प्रवेश गर्न थालेपछि चिया उद्योगी, किसान र निर्यातकर्तामा राहतको वातावरण बनेको छ।
मेची भन्सार कार्यालयका अनुसार पछिल्ला दुई दिनमा पाँच ट्रक तयारी चिया भारततर्फ निर्यात भइसकेका छन्। भन्सार कार्यालयले हाल चिया निकासीमा कुनै प्रशासनिक वा प्राविधिक समस्या नरहेको जनाएको छ।
निर्यात सुचारु हुनुको मुख्य कारण भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले चिया आयातसम्बन्धी परीक्षण प्रणालीमा गरेको परिवर्तन हो। नयाँ व्यवस्थाअनुसार अब प्रत्येक खेपको अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था हटाएर जोखिमका आधारमा करिब २० प्रतिशत खेपमा मात्रै नमुना परीक्षण गरिनेछ। यसले सीमामा हुने ढिलाइ कम हुने र चिया निर्यात सहज बन्ने अपेक्षा गरिएको छ।
यसअघि प्रत्येक खेपको प्रयोगशाला परीक्षण अनिवार्य हुँदा नेपाली चिया लामो समयसम्म सीमामै रोकिँदा उद्योगीहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको थियो। बजार ठप्प भएपछि झापा र इलामका करिब ९९ वटा चिया उद्योगसमेत बन्द भएका थिए भने किसानले उत्पादन गरेको हरियो चियापत्ती बिक्री गर्न नसक्ने अवस्था सिर्जना भएको थियो।
हाल पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियाको निर्यात नियमित रूपमा सुरु भइसकेको छ। तर, तराई क्षेत्रमा उत्पादन हुने सीटीसी चियाको निर्यात भने मूल्य निर्धारण र व्यावसायिक सहमतिका कारण केही समय रोकिएको व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार भारतीय खरिदकर्तासँग मूल्य टुंगिनेबित्तिकै सीटीसी चियाको निकासी पनि सुरु हुनेछ।
लामो समय निर्यात प्रभावित हुँदा नेपाल र भारतका गोदाममा करिब १३ लाख किलोग्राम तयारी चिया मौज्दात रहेको उद्योगीहरूको अनुमान छ। निर्यात खुलेसँगै उक्त मौज्दात क्रमशः बजारमा पठाउन थालिएको छ।
चिया व्यवसायीहरूले तत्कालका लागि समस्या समाधान भए पनि भारतमा अत्यधिक निर्भरता कायम रहेकाले भविष्यमा यस्तै समस्या दोहोरिन सक्ने चेतावनी दिएका छन्। उनीहरूले सरकारले भारतसँग दीर्घकालीन सरकारी तहको व्यापारिक समझदारी गर्नुपर्ने तथा युरोप, अमेरिका, जापान र अन्य अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहुँच विस्तार गर्न कूटनीतिक पहल बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस