तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला

नयाँ पोस्ट
२४ साउन २०८३, आइतबार

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन्।

६५ वर्षीय सिंहको शव आइतबार कपिलवस्तुको गोरुसिंगे जंगल क्षेत्रमा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिएका छन्।

सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित आफ्नै घरबाट मोटरसाइकलमा निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए।

खोजीका क्रममा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगलमा सिंहले प्रयोग गर्ने लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल फेला परेको थियो। मोटरसाइकल भेटिएपछि प्रहरीले उनको खोजीलाई तीव्र बनाएको थियो।

खोजी अभियानका क्रममा गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो। साथै ड्रोनमार्फत पनि जंगल क्षेत्रमा निगरानी गरिएको प्रहरीले जनाएको छ।

आइतबार खोजीका क्रममा जंगलमा सिंहको शव फेला परेको हो। उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

सिंह कपिलवस्तु नगरपालिकाको पूर्वमेयर हुनुका साथै नेपाली कांग्रेसका स्थानीय नेता थिए।