Image description

शंखरापुर नगरप्रमुख रमेश नापितले सडकबाट उद्धार गरेर संरक्षण गरिएका सहयोगापेक्षी व्यक्तिहरूका लागि ६७ थान ट्र्याक–सुट वितरण गरेका छन् ।  शुक्रवार बालाजु रानीवनस्थित मानव सेवा आश्रम पुगेर मेयर नापितले आश्रमका प्रतिनिधिहरूलाई सो सहयोग प्रदान गरेका हुन ।   
सो अवसरमा बोल्दै नगरप्रमुख नापितले जाडो यामको बेला  मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिक, महिला, बालबालिकालाई न्यानो ट्र्याक सुट वितरण गर्न पाउँदा खुसी लागेको बताए । देशभर जुनसुकै क्षेत्रमा सडकमा अलपत्र परेका असहाय भएका व्यक्तिलाई मानव सेवा आश्रमले उद्धार गरेर संरक्षणको काम गरेकोमा आभार व्यक्त गर्दै सो पवित्र काममा नगरपालिकाले पनि सानो सहयोग गरेर हातेमालो गरेको बताए । नगरप्रमुख नापितले आगामी दिनमा नगरपालिकाले बजेट छुट्टाएर नै मानव सेवा आश्रमलाई सहयोग गर्ने वचन बद्धता व्यक्त गरे । 


सो अवसरमा मेयर नापितले भने–‘सडकमा अलपत्र परेका व्यक्तिहरूलाई उद्धार गरेर तपाईँहरूले जसरी संरक्षण गर्नुभएको छ, यो पुण्यको कामलाई जति धन्यवाद दिए पनि पुग्दैन । यो काम सामान्य मान्छेले गर्न सक्ने काम हैन । हाम्रो नगरपालिकाको तर्फबाट ट्र्याक सुट ल्याएर सानो भए पनि सहयोग गरेका छौँ । तपाईँहरूले गरेको कामका अगाडि हामीले गरेको सहयोग केही पनि हैन जस्तो लाग्छ । तर पनि तपाईँहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । असक्त, असहाय वृद्ध बुवामाको सेवा गर्न पाउनु हाम्रो पनि गौरवको कुरा हो । अर्को वर्ष हाम्रो नगरपालिकाको बजेटमा राखेर मानव सेवा आश्रमलाई सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दछु ।’


सो अवसरमा नगर प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले मानव सेवा आश्रमलाई नगरपालिकाको तर्फबाट सानो भए पनि सहयोग गरेको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । 
नगर प्रवक्ता श्रेष्ठले भने–‘मानव सेवा आश्रमले अलपत्र परेका मान्छेलाई सहयोग गर्न यो जिल्लाको, यो नगरपालिकाको भन्नुभएन, सबैलाई सहयोग गर्नुभएको छ । जुनसुकै ठाउँको भए पनि नेपाभरिबाट उद्धार गर्नुभएको छ । कोही अलपत्र परेको व्यक्तिको उद्धारका लागि हामीले फोन गर्दा उद्धार गर्नुभएको छ । मानव सेवा आश्रम हुँदा हाम्रो नगरपालिकामा कोही अलपत्र परेको व्यक्ति छ भने पनि यहाँ आश्रय दिने भएकोले यो आश्रम हाम्रो आफ्नो घरजस्तै भएको छ । आगामी दिनमा यस मानव सेवा आश्रमलाई हामीले सक्ने सहयोगलाई निरन्तरता दिनेछौँ ।’

साथै शंखरापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले व्यक्तिगत रूपमा आमाको सम्झनामा ५ हजार रुपैयाँ मानव सेवा आश्रमलाई सहयोग गरे । सहयोग गर्दै वडाध्यक्ष श्रेष्ठले मानव सेवा आश्रमका वृद्ध आमाबुवा हेर्दा धेरै सहयोग गर्न मन लागेको बताउँदै अरू केही सहयोग गर्न सक्ने अवस्थामा सल्लाह गरेर सहयोग गर्ने जानकारी गराए । उनले भने–‘मेरो आमा बुवा अहिले हुनुहुन्न तर यहाँ जति पनि वृद्धहरू हुनुहुन्छ, उहाँहरूलाई देख्दा मलाई मेरै आमाबुवा जस्तो भान भइरहेको छ । मेरो आमा बुवाको नाममा यो संस्थालाई थोरै भए पनि सहयोग गर्न म आतुर भएको छु । आज ५ हजार रुपैयाँ सहयोग गर्ने जानकारी गराउँदै भोलीका दिनमा पनि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु  । 


मेयर नापित सहित नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्जला अधिकारी चुँडाल, प्रशासन शाखा अधिकृत एवं सूचना अधिकारी  सुभद्रा पुडासैनी, शंखरापुर वडा नम्बर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, वडा नम्बर ७ का  अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ लगायतको उपस्थित रहेको थियो । नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले १ लाख रुपैयाँ बराबरको ट्र्याक सुट मानव सेवा आश्रमका लागि व्यवस्था गरेको हो ।