Image description

भाद्र ९, काठमाडौं । 
काठमाडौंको चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजले कक्षा १२ उर्तीण गरेका विद्यार्थीहरुलाई विशेष समारोहका साथ विदाई कार्यक्रम गरेको छ । शनिवार केएल टावरमा रहेको इम्पेरिएल  व्याङ्गकेट हलमा गरिएको कार्यक्रममा कलेजका अध्यक्ष, प्रिन्सिपल, निर्देशक लगायतले २०७८/०७९ ब्याचका प्लस टु उर्तीण विद्यार्थीहरुलाई औपचारिक कार्यक्रम गरी विदाई गरेका छन् । कलेजले उत्कृष्ट नम्बर ल्याएर फ्याकेल्टी टपर बिद्यार्थीहरुलाई ब्याचलर्स तहमा स्कलरसीपको व्यवस्था सहित सम्मान गरेको छ । सो अवसरमा कक्षा १२ उर्तीण झन्डै ७ सय बिद्यार्थीलाई कलेजले विदाई गरेको हो । 
सेन्ट लरेन्स कलेजका अध्यक्ष केशवप्रसाद दंगाल, प्रिन्सिपल पुरुषोत्तम महर्जन, प्रवन्ध निर्देशक ताराप्रसाद सुवेदीले बिद्यार्थीहरुलाई मायाको चिनोको रुपमा विभिन्न विषय फ्याकेल्टीगत रुपमा उनीहरुका कक्षाका साथीहरुको ग्रुप फोटो रहेको फ्रेमबद्ध तस्वीर प्रत्येक विद्यार्थीलाई प्रदान गरेका थिए । 


सो अवसरमा प्लस टु लेभल पूरा गरेका विद्यार्थीहरुलाई संवोधन गर्दै कलेजका अध्यक्ष केशवप्रसाद दंगालले प्लस टु सक्नेवित्तिकै विदेशमा पढ्ने भनेर लाग्दा बिद्यार्थीहरुले विभिन्न खालका समस्या झेल्नुपर्ने बताउँदै नेपालमै ब्याचलर्स गरेर विदेशमा अध्ययनका लागि जान आग्रह गरे । बिद्यार्थीहरुले आफ्नो  शैक्षिक आधार बलियो बनाउँनका लागि नेपालमै व्याचलर्स तहसम्मको शिक्षा लिनु उपयोगी हुने उनले बताए । 


अध्यक्ष दंगालले भने–‘नेपालको पढाई विश्वकै राम्रो पढाई हो ।  यहाँको पढाईमा प्राक्टिकल भयो कि भएन, फिल्ड वर्क भयो कि भएन, प्राजेक्ट वर्क भयो कि भएन, कक्षाकार्य भयो कि भएन भन्ने महत्वपूर्ण कुरा हो । यदी  नेपालको ४ बर्षको ब्याचलर्स तहको पढाई पूरा गरेर यदी कुनै विद्यार्थी मास्टर्श र त्यसपछिको थप अध्ययनका लागि विदेश जान्छ भने त्यहाँ गएर  डिग्रीपनि प्राप्त गर्न सक्छ र कमाईपनि गर्न सक्छ । यदी कुनैपनि प्लस टु पास गरेका विद्यार्थी विदेश पढ्न गयो भने उ अलमन्छि, बिद्यार्थीले उसको लागि कमाउनुपर्ने हुन्छ । कलेजको फि को लागि कमाउनेपर्ने हुन्छ । खाना बसोबास, भाडा तिर्नका लागि कमाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा  विश्वविद्यालय वा कलेजमा गएर डिग्री प्राप्त गर्नुभन्दा पहिला आफ्नो आवश्यकता पूरा गर्नका लागि कमाउनुपर्ने हुन्छ । त्यो कमाउने काम गर्दा गर्दैमा कलेज जाने र पढ्ने कुरा विर्सन्छ । यस्तो अवस्थामा ब्याचलर्स डिग्री प्राप्त गर्नपनि कठिन पर्छ । प्राप्त गरेको डिग्रीपनि विश्वबजारमा काम नलाग्न सक्छ । अहिले यो समस्या नेपालबाट प्लस टु सकेर विदेश जाने विद्यार्थीहरुमा लागू भइरहेको छ ।’


अध्यक्ष दंगालले विद्यार्थीहरुलाई सुझाव दिँदै भने–‘यदी  विदेशमा अध्ययन गर्न जानुहुन्छ भने तपाईले रुची राखेको विषयमा पहिला नेपालमै पढ्नुस । नेपालको व्याचलर्स सकेपछि विदेश जानुहोस, त्यसपछि तपाईको दुवै हातमा लड्डु हुन्छ । मास्टर्सपनि गर्न सक्नुहुन्छ, पिएचडीपनि गर्नसक्नुहुन्छ र  चाहेजति पैसा कमाउनपनि सक्नुहुन्छ । जसले गर्दा नेपालको अर्थतन्त्रलाई पनि टेवा दिन सक्नुहुन्छ, नेपालको शिक्षा क्षेत्रमा पनि तपाईको योगदान रहन्छ । यस्तो हुँदा तपाईको परिवारपनि खुसी हुन्छन र तपाईहरुपनि आफ्नो प्रगतिबाट सन्तुष्ट बन्नसक्नुहुन्छ, अन्यथा प्लस टु सकेर विदेश जानुभयो भने पछुताउने अवस्था आउनसक्छ।’ 


अध्यक्ष दंगालले सेन्ट लरेन्स कलेजबाट प्लस टु उर्तीण गरेर सोही कलेजमा ब्याचलर्स तहमा अध्ययन गर्ने विद्यार्थीलाई शत प्रतिशतसम्म स्कलरसीप दिन सकिने जानकारी दिए । फ्याकेल्टी टपरहरुलाई शत प्रतिशतसम्म स्कलरसीप दिएर कलेजले पढाउन सक्ने उनले बताए । यस्तै औषत तहका विद्यार्थीहरुका लागि कूल फि को ६० प्रतिशतसम्म स्कलरसीप दिन सकिने अध्यक्ष दंगालले जानकारी गराए । 

औपचारिक कार्यक्रमपछि साँझ विद्यार्थीहरुलाई डिनरको व्यवस्था गरिएको थियो । डिनरपछि विद्यार्थीहरु अनौपचारिक सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए ।