Image description

काठमाडौंको शंखरापुर नगरपालिका र यूवा स्वरोजकार कोषबीच यूवा लक्षित स्वरोजगार कार्यक्रमका लागि सम्झौता भएको छ । सोमबार शंखरापुर नगरपालिकाको हलमा एक कार्यक्रमका बीच कोषका पदाधिकारी र नगरपालिकाका पदाधिकारीबीच एक सम्झौतामा हस्ताक्षर भएको हो । 
नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्जला चुडाल, प्रमुख लेखा अधिकृत गोविन्द अधिकारी, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरु तथा कोषका कार्यकारी उपाध्यक्ष देवराज रोका, कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, कार्यक्रम शाखा प्रमुख लोकबहादुर खड्का लगायतको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  
कार्यक्रममा कार्यक्रममा नगरप्रमुख रमेश नापितले कक्षा १२ पास गर्नेबित्तिकै यूवाहरु विदेश पलायन हुनुपर्ने अवस्था आएको बताउँदै त्यो अवस्था रोक्नका लागि यूवा स्वरोजगार कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । उनले यूवालाई विदेश पलायन रोक्न र आफ्नै ठाउँमा केही गर्ने अवस्था सिर्जना गर्ने वातावरण बनाउँनका लागि यूवा स्वरोजगार कोषसँग सम्पर्क राखेर यो कार्यक्रम शंखरापुर नगरपालिकामा ल्याउँन आफूले पहल गरेको बताए ।


नगरप्रमुख नापितले भने–‘यूवा स्वरोजगार कोषले ल्याएको यो नीति हामीलाई अत्यन्तै चित्त बुझ्यो । यो कार्यक्रमबाट यहाँका यूवाहरुले यहीँ केही गर्न सकेभने पक्कैपनि विदेश पलायन हुँदैनन भन्ने विश्वास लिएका छौँ । विगतमा पनि हामीले विभिन्न तालिम दिएका थियौँ, त्यो तालिम कार्यान्वन गर्नका लागि पनि यो कार्यक्रमले मद्धत पुग्छ भन्ने विश्वास लिएका छौँ ।’
साबुन कसरी उत्पादन गर्ने, माछापालन कसरी गर्ने लगायतका अन्य आयआर्जन हुने कार्यक्रम कसरी गर्ने भन्ने विषयमा अध्ययन तथा तालिम दिएर अघि बढ्ने उल्लेख गरे । 


यस्तै उपप्रमुख समिता श्रेष्ठले कोषको सो साझेदारी कार्यक्रमबाट बेरोजगार रहेका स्थानीय प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइन । विगतमा तालिमका नाममा तालिम मात्र भएको उल्लेख गर्दै स्वदेशमै आम्दानी गर्न सकी विदेश जाने वातावरण नबनाउनेगरी अघि बढ्नुपर्ने बताइन । स्थानीय तह र यूवा स्वरोजगार कोषबीच समन्वय गरेर काम गर्न पाँउखा खुसी लागेको बताइन । 

प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले अवको विकास भनेको मान्छेलाई कसरी आर्थिक विकास, रोजगारी र उत्पादनसँग जोड्न सकिन्छ भन्नेमा केन्द्रीत हुनुपर्ने बताए । पूर्वाधार विकास धेरै गरेपनि त्यसको उपभोग गर्ने जनशक्ति यूवाहरुलाई स्थानीय तह तथा मुलुकभित्र टिकाउन नसक्ने अवस्था र यूवा पलायनको भयावह अवस्था रहेको उल्लेख गरे । 


कोषले स्थानीय तहसँग साझेदारी गरेर यूवा स्वरोजगारको कार्यक्रम गर्ने नीति आफैमा महत्वपूर्ण रहेको बताउँदै सो प्रक्रिया अनुसार कार्यक्रमको स्वामित्व स्थानीय तहले पनि ग्रहण गर्न पाउँने  बताए । साथै स्थानीय सहकारीमार्फत कार्यान्वन गर्न सकिने र बर्षमा एक स्थानीय तहमा २ सय जनाले तालिम लिएर काम गर्ने हो भने त्यसले २ सय परिवारलाई लाभ हासिल हुने उल्लेख गरे । त्यसका लागि वडाध्यक्षको तहबाट बास्तविक उद्यमी पहिचान गरी तल्लो तहबाट यो कार्यक्रमलाई कार्यान्वनमा लैजान सके बेरोजगारी कम गर्न सहज हुने बताए । 


कार्यक्रममा नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले अघिल्लो बर्ष भौतिक पूर्वाधार निर्माणका लागि प्राथमिकता दिएकोमा यो बर्ष आर्थिक विकासका लागि ध्यान दिएर अघि बढ्न लागेको बताए । 
यूवा स्वरोजगार कोषले अत्यन्तै राम्रो कार्यक्रम ल्याएको बताउँदै सो कार्यत्रमबाट शंखरापुरका झन्डै १ सय यूवाहरु लाभान्वित हुने बिचार व्यक्त गरे । उनले सो कार्यक्रमलाई सफल बनाएर लैजाने बताउँदै यूवा स्वरोजगारीका लागि नगरपालिकाले केही गरिरहेको छ भनेर देखिने गरी  कार्यक्रमलाई अघि बढाउने बताए । 


कार्यक्रममा कोषका कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बेरोजगारीको समस्या समाधान गर्नका लागि नेपाल सरकारले २०६५ सालमा यूवा स्वरोजगारको अवधारणा ल्याएको बताए । पछिल्लो समय स्थानीय तहसँग साझेदारी गरेर यूवा स्वरोजगारको कार्यक्रमलाई अघि बढाइरहेको जानकारी गराए । 
देशका ७५३ वटा स्थानीय तहसँग साझेदारी गरेर अघि बढ्ने नीति लिएको बताउँदै स्थानीय तहले यूवा स्वरोजगारका लागि जति बजेट उपलब्ध गराउँछन्, कोषको तर्फबाटपनि त्यति नै रकम उपलब्ध गराउने उल्लेख गरे ।  कोषको सर्त र अवधारणा अनुसार यूवा स्वरोजगारको कार्यक्रम अघि बढाउनुपर्ने बताए । 


यूवा स्वरोजगार कोष र नगरपालिकाले सोका लागि छुट्याएको रकम एउटै कोषमा राख्ने र स्थानीय तह मार्फत यूवाहरुलाई व्यवसायिक ऋणको रुपमा कर्जा प्रवाहको रुपमा लगानी गर्नुपर्ने अधिकारीले बताए । बढीमा २ लाख सम्म ३ दशमलव २ प्रतिशत ब्याजदरमा बैंक तथा बित्तिय संस्थाको सहकार्यमा सो रकम दिने र ५ बर्षभित्रमा ऋण लिएका यूवाहरुले पैसा फिर्ता गर्नुपर्ने प्रक्रिया रहेको अधिकारीले जानकारी दिए । 
यस्तै कोषका उपाध्यक्ष डा.देवराज रोकाले यूवा स्वरोजगार कार्यक्रमलाई स्थानीय तहमा उपलब्ध स्रोत र साधानको उपयोग हुनेगरी चिजबस्तुहरुको उत्पादन गरी आय आर्जन बढाउन सकिने बताए । उनले तितेपाती तथा बनमारा बनस्पतिबाट साबुन बनाउन सकिने, भकारी माछा पालन गर्न सकिने, दुधजन्य बस्तुबाट विभिन्न बस्तुहरु उत्पादन गरी बजारीकरण गरेर आर्थिक उन्नती गर्न सकिने सुझावहरु प्रस्तुत गरेका थिए । 
कोष र नगरपालिकाबीच भएको साझेदारी सम्झौतामा यूवा स्वरोजगारका लागि दुवै पक्षबाट एक–एक करोड गरी २ करोडको कोष बनाएर कार्यक्रम अघि बढाउने सम्झौता भएको छ ।